Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत ९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

बसाइँ जाँदा

Royal Enfield
Royal Enfield
किशोर आचार्य

किशोर आचार्य

gibl
gibl
gibl
gibl
किशोर आचार्य।
किशोर आचार्य।
Tata box 1
Tata box 1

भावशून्य छन् उनी। विचारको बाढी मनमा उर्लिरहेको छ। बुढेस्कालको शरीर कमजोर हुँदै छ। धेरै हिड्नु हुँदैन। स्वास बढेर आउँछ। अब साँच्चै सन्तानको सहारा चाहिने बेला भएको महशुस भइरहेको छ उनलाई। कुनै बेला थियो उनी मुरी धानको बोरामाथि लक्ष्मणलाई राखेर ठम्ठम् उकालिन्थे। समय त रहेछ सब कुरा आखिर।

बिहानको खाना खाएपछि घरमा बस्नै मन भएन बुढालाई। शरीरले नसकेपनि मनले नमानेपछि उनका गोडाहरु उचालिए र उनी विस्तारै तेर्सिए। बाटो मुनि छ कुलो। कुलोमा आजकल पानी बग्दैन। सर्प जस्ता काला-काला पाइपहरुले कुला विस्थापित गरेका छन्।

तर उनलाई प्रष्ट याद छ, चार हाप्टिन घ्युमा तिल्के पहरा समेत फोरेर बनाएको यो कुलोले उनको बीस मुरी धान फल्ने खेत एकै रातमा पोखरी पार्थ्यो। उनी पुराना दिनहरु सम्झदैं खेतमा पुगे। सिरानको ब्याडे गरोको आलीमा टुक्रक्क बसे। चुरोट सल्काए।

खलो बनाउने गरोको एउटा कुनामा अलिकति आलु लगाउनु बाहेक अरु सबै खेत बाँझै छ। दुई हल गोरु, बीस रोपाहार र चार बाउसेको मेलो हो यो। धौ-धौ पर्थ्यो खेत रोपी सिध्याउन असारका महिना जत्रा लामा दिनहरुमा पनि उनीहरुलाई। मध्य दिउँसमा अर्नी बोकेर बुढिया खेत झर्थिन्। लक्ष्मण आमाको पछि लागेर आउँथ्यो। पानी पर्दा नपर्दैको साँझमा काम सकेर उनीहरु घरमा पुग्थे।

लैना बकेर्ना भैँसीहरु। एक हल गोरु र एउटा गाई। पाँचवटा बाख्रा। दुई जोडी परेवा। कुखुराका माउ चल्लाहरु। चार घार मौरी। जोर कुकुर। वरिपरि सुन्तला, बेलौती र नास्पातीका खाइनसक्नु बोटहरु। घरमा एक प्रकारको तकतकी थियो।

दुई चार पैसाको गर्जो टार्न मान्छेहरु सात गाँउबाट उनलाई सम्झन्थे। उनले कहिले खाली गोजी पठाएनन्। सक्नेले तिर्थे, नसक्नेको हिसाबै पनि गरेनन् बुढाले। गह्रौ मनले उठे उनी। पुछारे गरोदेखि आफू उभिएको गरोसम्म एक एक नियाले र फेरि आएको बाटो फर्किए।

बाटोमै पर्थ्यो बारी। गाउँभरीको सबैभन्दा रोजा पाटो थियो त्यो। गहुँ काटेका तिखा बुटीमाथि लक्ष्मण गाउँभरीका दौतरी भेला पारेर यही बारीमा सात गोटी र भेडाबाख्रा खेल खेल्थ्यो। घाम माथि आइसकेका थिए। उनले निधारमा हातको छतरी पारेर बारीको वल्लोदेखि पल्लो कुनासम्म विस्तारै आँखा डुलाए।

हरिया गहुँ र बीच-बीचमा फूलीसकेका केराउका बोटहरु रहरलाग्दा देखिन्थे। बारीको डोरामा खन्युको रुख थियो। लक्ष्मण जन्मेको वर्ष रोपेको रुख हो यो। लक्ष्मण साउदीमा हुँदा उनी धेरै पटक यो रुखको फेदमा अडेसिएर टोल्याएका छन्।

आइए पढेर गाउँको बोर्डिङमा दश महिना पढाएपछि उ सेक्युरिटी गार्डको कोटामा साउदी उडेको थियो। छोरो हिँडेको बिहान सम्झदै उनले खन्युको फेदनेरको बारीको भागबाट अलिकति माटो उठाए। त्यसलाई चुरोटको खोलमा पोको पारेर इस्टकोटको गोजीमा राखे। एउटा लामो लययुक्त खोकीपछि बारीभन्दा अलि तलको खर्यानमा झरे।

Ncell
Ncell

खर्यानमा हिँउदको सुकेको घुर्रो काट्न बाँकी नै थियो। खरबारीका बीचबीचमा ठूला ठूला चिलाउने र सल्लाका सुरिला रुखहरु थिए। यी सल्लाका धेरैजसो रुखहरु उनी आफैले लगाएका हुन्। फेराको खरबारीमा डोराभरी छन्- दश आठ वटा तारु बाँसका झ्याङहरु। पुरानो ठूलो चिलाउनेको बोटको फेदमा उभिएर उनले माथि तिर हेरे।

यो त्यही रुख हो जसको फेदमा बसेर उनका बाउले आफ्ना तीन भाइ छोराहरुलाई यो जमिन छुट्टाइदिएका थिए। यो तेरो, यो त्यसको र यो उसको। उनको भागमा परेको थियो, यो बीचको खरबारी। जहाँ उनले आफ्नो वैशवय गुमाएका छन् अँगेरा र चौतारी फाँड्दै।

मनभरी विगत खिप्दै खरबारीको एउटा ठूलो ढुगांमाथि बसेर उनले सूर्य पश्चिममा डुबेको हेरे। फागुन लागेपनि बिहान बेलुका चिसै थियो। मनभरी खर्यान हेरेपछि उनी गलबन्दीले कान ढाक्दै लठ्ठीको भरमा उकालिए।

बुढियालाई पनि मन त थियो नि एक पटक खेत, बारी र खर्यानसम्म पुग्ने। बुढा र उनले कयौ पटक खुट्टा खियाएका छन् यी माटोमाथि। आफूले दैनिक नापेका जमिनका क्षेत्रफलमा एकपटक आँखा उभाउने तृष्णा सायदै पूरा होला अब उनको।

घरमा काम भ्याइ नभ्याइ छ आज। रातिसम्म सब कुरा ठीकठाक पार्नु पर्नेछ। त्यो लानु पर्ने, यो छाड्नै भएन, यो त झन् दिनदिनै काम लाग्छ, यो फलानाको चिनो। ओहो! सामान त कति कति नि। एउटा जाबो घरमा सामान त कति-कति पो अटेका रैछ। आँगन भरिएर करेसाबारीको डिल डिलमा पुग्दा पनि रित्तिदैन घर।

हुन त यतिका वर्षसम्म एक-एक गरेर जोरेको सम्पत्ति। एक-एक गरेर थुपारेका सामान। कहिले कराई भन्यो। छोरा छोरी हुर्किए, अलिक ठूलो कसौडि भन्यो। कहिले गाग्रीको रहर गर्यो। कहिले बडि विस्तारा जोर्यो। आ-आफ्नो ठाउँ लिएर बसेका रैछन् भित्र र पो एउटा-एउटामा नदेखिदो रैछ।

दुई ज्यालाका केटाहरुसँगै लक्ष्मण आफै लागिरहेको छ काममा। सघाइरहेकी छन् आमा। उसको श्रीमती सपना माइत गएकी छिन् छोरा प्रणवलाई लिएर। उनीहरु साँझ परेपछि मात्रै आइपुग्छन् होला। भोलि बिहानै सात बजे साइत सकिनु अगाडि नै हिडिहाल्नु पर्नेछ।

बर्कोमा, तन्नामा, सिरकको खोलमा, बोरा र प्लाष्टिकका झोलाहरुमा बेहिसाब कोचिदै छन् सामानहरु। ठेकी, मदानी, डालो, गुन्द्री, पिर्का, ओदान, चिम्टा, टुकी खै केमा लैजाने हो? आमाले सबै सामान उठाउन खोजिरहेकी हुन्छिन्। लक्ष्मण मान्दैन। यी सामानहरुको त्यहाँ के काम?

उ आमालाई सहरको सिमितता सुझाइरहेको छ। उनका हातमा सामानहरु एकछिन अलमलिन्छन्, मानौँ कि तिनीहरु आफै पनि छुट्न चाहिरहेका छैनन्। उनीहरु सँगै सहर जाने सूचिमा पर्न तछाड-मछाड छ उनीहरुको। मधुस लाने कुरै भएन। सम्भव पनि त छैन।

आफू माइतबाट आउँदा आमाले दिएको चौठी भरीको तेल, सासुले नदेख्ने गरी ठकने रोटी र मसौरा लुकाएर राख्ने ठाँउ, छोराछोरीले दिएको दुईचार पैसो राख्ने बन्देस, गहना गुरिया, बिहेको बेलाको छिटको सारी राख्ने निजी जस्तै मानेको मधुस।

कम्मरमा हात राखेर लक्ष्मण कराइ रहेको छ। चार वटा कोठाको घर छ। एउटा किचन, एउटा हल, एउटा हामी सुत्ने रुम, एउटा तपाईंहरुलाई। यति धेरै सामान लगेर कहाँ राख्ने हो र आमा? देउराली बजारबाट बुढासँग झगडा गरि-गरि ल्याएको आरी फत्रक्क भुईमा फालेर उनी रुन्चे हाँसो हाँस्छिन् मात्र।

बुढा घरमाथि आइपुग्छन्। घर रित्ताउने काम सकिएको छैन। नजिकै बाटोमा छ उनका कान्छा बाका जेठो छोरा खिमे दाइको घर। खिमे दाइ पनि चार वर्ष अघि छोरासँग सहर झरेका थिए। हिड्ने बिहान 'माइला हप्ता पन्ध्र दिनाँ मेरा घराँ आगो बाल्देस। हामी त कहिले आउँछम कुन्नि? धारो नजिक छ, सकिस भने करेसाबारीमा आलु लाएर खाएस्। मलाइ केही दिनु परेनकर' भनेर गएका थिए।

'हुन्छ जति सक्छु गरुला दाइ चिन्ता नअरे' उनले भनेका थिए। कहिलेकाहीँ घर गोठमा आगो पनि बाल्देका हुन्। करेसाबारीमा आलु रोपेका पनि हुन्। तर बुढ्यौलीले आफ्नै आँगन दुर्गम लाग्ने बेला आफ्नै घर सम्हाल्न गाह्रो हुँदै गयो उनलाई। फेरि मान्छे फर्केर आउने आशा नभएको घरलाई के भनेर बचाइ राख्नुपर्यो भन्ने पनि लाग्यो होला उनलाई।

त्यसैले छोडी जाने आफ्नै घरमा आगो बाल्न कसैलाई अह्राउन मन पनि लागेन। खिमे दाइ मरेको थाहा पाएको भोलिपल्टदेखि बल्ल आजै पुगे उनको घर। घर वरिपरि तितेपातीको झ्याङ हुर्केका, आँगनभरी दुवो उम्रेको, मुल ढोकाको एउटा कप्टेरो तल झरेको। ताल्चा भने झुण्डिरहेको।

एक-एक दृश्यले बुढा द्रविभुत हुँदै गए। करेसामा मुसाले भित्ता फोरेरे झारेको मसिनो माटोमा धानको भुस मिसिएको थियो। सधै गाइ भैसी र बाख्राले टनाटन हुने गोठ खाली थियो। गोठको एउटा पाखातिरको बलो भाँचिएर भुइँ छोएको रहेछ। घर पछाडि लगाईएको लेवाँसको तालो भने अझै दुरुस्त थियो।

फेरि कुनै दिन फर्केर आउँला भनेरै त यसरी तालो बारेर गएका हुँदा हुन् खिमे दाइ भन्ने सोचेर बुढा एकछिन सोकग्रस्त भए। अझ चिचिला दाना झरिनसकेको सुन्तलाका दुई हाँगाको कापमा खिमे दाइले वर्षौ लगाएको कोट दुरुस्त देखेर उनका नौ नाडी गले। उनले आकाश हेरे। आगत छर्लङ्ग थियो। तर तन र मन कमजोर भएपछि अर्को विकल्प लगभग बन्द थियो।

घाम पहेलिँदै पारि लेकको टुप्पो-टुप्पोमा पुगेका थिए। बाँसका झयाङमा बास बस्ने तर्खरमा चराहरु चिर्बिराइरहेका थिए। वनबाट फर्किआएका गाइवस्तु र गोठालाहरुले सल्लाघारीको तेर्सो बाटोमा धुलोको कुहिरो उडाइरहेका थिए। अलि टाढाको स्कुलबाट छुट्टी भएर केटाकेटीहरु भर्खर घरमा पुग्ने बेलाको थियो समय।

बुढा खिमे दाइको घरबाट झरेर आफ्नो घर अगाडि टक्क उभिन आइपुगे। सय बीस ज्याला खर्चेर बनाएको यो घर। चार वटा सल्ला र एउटा चिलाउनेको रुखका रोजा दार लागेका छन्। औल्यानबाट झिकाइएका हुन् सालका गाभि मुड्काहरु। जामुनोको दलिन। टिके पहराका इँटा जस्ता ढुंगाहरु। घर बनाउँदाको दुख दुरुस्त याद छ उनलाई।

सखारै उठ्थे आफू। कर्मी आउँदा नआउँदै आधा काम सकाउँथे। बुढी बिहानैदेखि अर्नीको तयारीमा लाग्नु पर्ने। घाम झुल्किदा गाँउभरीका आइमाइहरुले हिलो मुछ्न दिनभरीलाई पुग्ने पानी खोलाबाट बोकेर पुराइसक्थे। हिलेखानीका फलाम जस्ता ढुंगाले छाएर टिर्लिक्क घर टल्काएको अर्को वर्ष यही घरको मुल चौकामा हो लक्ष्मण जन्मेको।

लक्ष्मी र राधा त परारैको वर्षामा भत्केको उ परको आधा बारेको थारे घरमा जन्मेका थिए। सय वर्ष टिक्ला लागेको यो घर उनलाई यसै साँझ भत्केला जस्तै लाग्यो। अनायस उनलाई चक्कर आउला-आउला जस्तो भयो। पिढीँमा टुक्रुक्क बसे। सोचे- घर टिक्ने त जनले रै छ। ढुंगा माटो र काठले कहाँ रै छ र?

साँझ पर्ने बेलामा सपना र प्रणव आए। झोलाभरी सामानै सामान। सायद माइतपट्टिको भाग होला त्यो। हर्लिक्सको बट्टामा घ्यू, खुकरी रमको बोत्तलमा तोरीको तेल, औषधीको सानो सिसीमा चुक। गुन्द्रुक, चामलको पिठो, धानका फुला, फापरका ददौरा, मुलाको अचार, फर्सीका चाना।

प्रणवको सानो स्कुले व्यागधरि खालि थिएन। काउलीको सुकुटी, जौंको सातु, च्युरीको घ्यू, गोलभेडाका चाना र अरु कति-कति त नअटेर नल्याएको रे। सपनाले यसै भनि। ‘यी केटीहरुको माइतीमा नपाइने चिज भन्ने पनि केही हुन्न। कसरी पो लैजाने हो।’ लक्ष्मण मनमनै फतफतायो। आमाले त बाख्राको पाठी पनि लैजाउ भन्दै हुनुहुन्थ्यो भनेर प्रणवले एकछिन हँसायो।

रात धेरै खसेपछि काम सकेर उनीहरु सुत्न गए। बुढाबुढी निदाउनै सकेनन्। यो दोस्रो रात हो उनीहरुको अनिद्रामा बितेको। पहिलो पटक लक्ष्मण साउदी जाने रात यसरी ननिदाइ छर्लङ्ग कटाएका थिए उनीहरुले। सायद लक्ष्मण पनि निदाउन सकेको छैन।

मनमा आधा गाँउ र आधा सहर लिएर बाच्नु जति असहज त झन् के होला र अरु। न गाउँलाई बिर्सन सक्ने, न सहरको हुन सक्ने मानसिक तानातानीको संघर्षयुक्त समयमा उभिरहेको पात्र हो उ। समय संक्रमणको छ। समयको संक्रमणले गलाउँदै लगेको पराकाष्टमा छ उ आज।

जन्मेको घर छाड्नु छ यता। फेरि साउदीको दुखले बनाएको घर हो उता। प्रणवको अपरिभाषित भविष्य। सपनाका सपनाहरु। यसै असरल्ल छाड्नु पनि त भएन। त्यसो त थाहा छ उसलाई यो फराकिलो आँगन छाडेर दशैमा जमरा धरी राख्न माटो किन्न जानुपर्ने सिमेन्टीको साँघुरो घरमा बुवा आमाको खुसी कैद हुन्छ भन्ने। तर समय नै आइरहेको छ त यस्तै...।

निद्रा लक्ष्मणलाई पनि लागेन। त्यसो त उसले पहिलो पटक छाड्दै छैन घर। तर पहिला-पहिला छाड्नु र यो पटक घर छाड्नुमा धेरै फरक छ उसको लागि। अब बा-आमा छन् भनेर रात साँझ गरेर उ भुते रहको बाटो एक्लै घर आउनुपर्ने छैन।

आफ्ना पुराना छुकछुके दिनहरु याद आउँदा एक-एक गरेर सोध्ने खरबारीको काफल, बाटो खन्दा डोजरले उप्काइदिएको चिप्लेटी ढुङ्गा, हिजो मात्र ब्याएको माली गाईको बाच्छो, पहेलपुर तोरीबारीको दृश्य वा सुनमायाको भर्खर जन्मिएकी छोरीको अनुहारको रंग फोनमा खुसी-खुसी सुनाउनेहरु पनि उ आफैसँग जाँदैछन्। मानौँ कि एउटा संसारबाट उ अर्कै सम्पर्क बिच्छेदी संसारमा जाँदैछ।

मन त्यसै-त्यसै असरल्ल भएके छ उसको, नसमालिएको एक अशक्त वृद्धाको कपाल जस्तै। सुत्ने माटे बैठक कोठाका भित्ताहरुमा उसका किशोरवय छताछुल्ल टाँसिएका छन्। खोजी खोजी रङ्गाएका भित्ताका पुराना पत्रिका, हिरो हिरोइनका फोटाहरु, पोलियो थोपा, भिटामिन र परिवार नियोजनको महत्व बुझाउने पम्पेलेटहरु पहेँला-पहेँला भएका छन्।

यही कोठा हो उसको जहाँ बिहेपछि सपनासँग लाजका प्रथम रातहरु बिताएको थियो उसले। कोठाको तिख्खर माटे गन्धमा लक्ष्मण निद्रा र तन्द्राको बीचमा बयेली खेलीरह्यो रातभर। माइतीको चिनो हुन्छ भनेर कान्छी छोरी लक्ष्मीले लगेकाले उज्यालो भएको थाहा दिने परेवा गुड्किएन यो बिहान। सट्टामा लक्ष्मणको मोबाइलमा भाले बास्यो। उनीहरु सबै उठे।

बुढियालाई बिहानमा सधै चोखो पानीले नुहाउनु पर्ने। हत्तर बोकेर धारोमा गइन्। छोराको सहरी घरमा हप्तामा तीन दिन मात्र पानी आउने कुरा उनलाई थाहा थियो। सधैभन्दा बेसी समय लगाएर नुहाइन्। हत्तर भरी पानी थापेर खाली खुट्टा घरमा आइन। हिउद भएपनि तुलसीको मठमा तुलसी सुकिसकेका थिएनन्। हत्तरभरीको पानी मठमा खन्याइन।

हिजो अस्ति आम्खोराले जल चढाउथिन उनी। भोलीबाट कसले पो पानी हाल्ला भन्ने मनमा हुँदो हो सायद उनको। मठमा पानी भरिएर भित्ताबाट धारा लागेर तल झर्यो। त्यसको चिसो टाटो कमेरोले पोतेको मठमा धेरै बेर रहिरह्रयो।

आजकलको ग्रामीण विकास भन्नु नै गाउँभरी धुलौटे बाटो पुग्नु त हो। उनीहरुको घर अगाडिको आधा बारी मास्दै परारै हो गाउँमा मोटरबाटो आएको। दिनमा एक-दुई मोटरसाइकल, कहिलेकाहीँ जन्तीका गाडी, एम्बुलेन्स, कुखराको दाना बोक्ने गाडी र आक्कलझुक्कल सहरतिर बस्ने कसैले ल्याउने गाडीहरुलाई सजिलो भएको छ।

आज उनीहरुलाई पनि सजिलै भएको मान्नुपर्छ। नत्र उ तल वेशीसम्म यति धेरै सामानहरु बोकेरै पुराउनु पर्थ्यो। तर अहिले आँगनकै डिलमुनि एउटा डवल क्याप आएर रोकियो। मौन बिहान जराक-जुरुक उठ्यो। सबैले हतार हतार सामानहरु गाडीमा राख्न थाले। साइत सात बजे अगाडि नै जुरेको छ। यो कसलाई कस्तो साइत हो कुन्नि। वर्षौ बसेको घर छाड्नुको लागि साइत हो कि कुसाइत?

लक्ष्मण एक्लो छोरा हो उनीहरुको। उसले जाउँ भनेपछि जानै पर्यो। पखेटा हालेको छोरालाई घरै बस पनि भन्न सकिएन। आफ्ना हात गोडा पनि विस्तारै बस्न थाले। भाइले लान्छु भने पछि दिदीहरुले पनि के भनुन्। फेरि आफै पनि एक दिन झर्ने नै हुन् उनीहरु। भिनाजुहरुको आनामा जग्गा लक्ष्मणले त हो किन्दिएको उतैतिर।

डबल क्याप खचाखच भयो। चर समेत खाली रहेन। बुढियाले तीन पटक गाडी घुमिन्। मसिनो गरी आँखा दौडाइन्। अहँ, खाली ठाउँ कहिँ थिएन। उनको हातमा धैँसोले कालो भएको मकैको ढोँडको विर्को लगाएको तेल राख्ने चौठो थियो। उनले आफ्नी आमाको चिनो भन्थिन् यसलाई। हिजो कुटुरो पार्न भुलिछन् सायद्। मुस्किलले सिरक डस्नाको बीचमा एउटा चर भेटिन र त्यहिँ घुसारिन। अनि ढुक्क देखिइन्।

आँगनमा दुई/चार छिमेकी र आफन्त भेला भैसकेका थिए। लगभग सबै मौन। धेरैले बुढाबुढीलाई ढोगे। लक्ष्मणले उनीहरुलाई ढोग्यो। आँगनमा थोपा-थोपा आँसु चुपचाप बगे तर कसैले कसेको अनुहारमा हेरेन। बुढियाले मठ हेरिन। रित्तो थियो। छोराछोरी वा बुढा कतै बाहिर जाँदा मठमा फुलकासको बेलामा चोखो पानी र फूल/प्रसाद राखिदिन्थिन उनी। तर आज घरै रित्तो हुँदै थियो। कसले राखोस् शुभ साइतको चोखो जल?

घरमा ढोका लगाएको हामी हेर्न सक्तैनौँ भनेर बुढाबुढी पहिले नै गाडी चढे। हजुरआमाको काखमा प्रणव बस्यो। एकछिनमा सपना आइ। उसको हातमा एउटा ठिक्कको बट्टा थियो। सायद मेकअपका सामग्री थिए त्यसमा। लक्ष्मण, हेरन यो प्याक गर्न छुटेछ कहाँ राखौँ? उसले औला पनि नअट्ने भरीभराउ गाडीमा हेर्दै भनी।

दुवैले एकछिन प्रयास गरे। अहँ राख्ने जस्तो ठाउँ भेटेनन्। सिरक र डसनाको बीचमा कालो कालो के हो देखियो। सपनाले बाहिर तानी। बुढियाको चौठो थियो त्यो। सहरमा यसको के काम? उसले चौठो तल हुर्याइ र खाली भएको भागमा आफ्नो मेकअप किट घुसारी।

बुढा झ्यालनेरको सिटमा बसेका थिए। उनले टाउको घुमाएर माथि हेरे। सुन्तलाका बोटले आधा छेलिएको खिमे दाइको घर देखियो। उनले हिजो त देखेकै रहेनछन् बिजोक। घरको पछाडिको भित्ता भत्किएर ह्वाङ्गै पो रहेछ। उनले भित्र धुरि खाँवोमा बाँधिएका रङ खुइलिसकेका राता, सेता र पहेँला धजाहरु देखे। सायद मुल खाँवोमा खिमे दाइले देउता पित्रीको नाममा बाँधेका ती अन्तिम धजाहरु थिए।

बुढा हतार-हतार गाडीबाट झरे। घरको ढोका लागिसकेको थिएन। उनी इस्टकोटको भित्रि गोजामा हात राख्दै भित्र पसे। ड्राइभरले हतार भयो भनेर हर्न थिच्यो। फर्कदा बुढाका हातभरी अबिर थियो। उनी कसैलाई नहेरी चुपचाप गाडीमा गएर बसे। मान्छे जहाँ गएको भए पनि मर्ने बेलामा नाल गाडेको ठाउँमा आउँछ भन्छन्। खै पहिलो पटक उनले यो विश्वासमा शंका गरेकी कुन्नि? उनी सुख्खा देखिए। उनको नाल यतै कतै भत्किएको घरको अगेँना छेउँ गाडिएको थियो होला।

गाडी स्टार्ट भयो। आँगनबाट केही हातहरु हल्लिए। जवाफमा लक्ष्मणले हात हल्लायो। सपना हलुका मुस्कुराई। प्रणवले ड्राइभरको स्टेयरिङ मुसार्यो। बुढाबुढीले आँखा चिम्लिए। गाडी विस्तारै गुड्यो।

बुढीले आँखा खोलिन्। छोरा विदेश जाँदा, छोरी घर जाँदा वा प्रणवका आमाछोरा सहर जाँदा घर वरबाट उभिएर उनीहरुलाई परसम्म हेर्ने ठाउँ रित्तो थियो। कति धेरै पटक उनले त्यो बडहरको रुख मुनि उभिएर आँसु चुहाँउदै शून्य नियालेकी छिन। तर आज त्यो ठाउँ आफै शून्य छ।

उनले आँखा फेरि बन्द गरिन। गाडीले घुमाएर हो कि केले हो उनलाई बान्ता आउला-आउला जस्तै भयो। बुढाले पनि आँखा खोले। झ्यालबाट तल हेरे। दुई खोली दोभान देखियो। दोभानमा घाट छ। उनीहरुका गाउँका मान्छेहरु मर्दा यही घाटमा हो लैजाने।

कति धेरै पटक बुढा दाउरा लिएर घाट पुगेका छन्। धेरै छिमेकी, आफन्त र समवयीलाई धुँवा बनाएका छन् उनले यहाँ। आफ्ना बाबु बाजेहरु जलेको ठाउँ। आफ्नी आमा, बुढीआमाले स्वर्गको बाटो तय गरेको ठाउँ थियो त्यो। उनले झलक्क खिमे दाइलाई सम्झे। घाटमा खिमे दाइले बनाइदिएको पौवा हेरे। मलामी बनेर धेरै पटक घाट गएको पनि सम्झे। किन हो किन उनको मन अमिलिएर आयो।

उनलाई यस्तो लाग्यो कि म मर्न गइरहेको छु तर जल्न यहाँ आउने छैन। मेरा खरबारीका दाउराले म जल्ने छैन। मेरो खोलीको पानीले मेरो खरानी पखाली छैन, अस्तु बगाउने छैन। मेरो लासलाई अगाडि लगाएर रुँदारुँदैका मेरा छिमेकी पछि-पछि आउने छैनन्। उनी भाउन्ने भए। नजिकै बुढी थिइन। बुढीको देब्रे बाहुलाको रातो चोली बुढाका आँसुले पहिलो पटक भिज्यो। गाडी तीव्र गतिमा गुड्न थाल्यो।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १४:१४
सिफारिस
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP