एउटा अचम्मको मानिस छ, ठीकठाक जस्तो पनि छ। बौलाएको जस्तो पनि छ, होसमै भएजस्तो पनि छ। उसँग आफ्ना विचार छन्, सबैभन्दा उच्च स्तरको विचार (यस्तो उ आफै मान्छ।) अरुले मानुन् या नमानुन्, उसलाई यसको केही सरोकार छैन। यति भनेपछि बुझिन्छ उ धमण्डी छ। प्रेमको मामलामा स्वार्थी पनि छ। उसलाई प्रेम चाहिन्छ र हुँदा पनि छटपटाउँछ। उसले लिन जानेको छ, दिन जानेको छैन।
एक्काइसौँ शताब्दीको महान् मानिस (उ आफूलाई यस्तै ठाँन्छ, नत्र यो कुरा अरु कस्ले मान्छ?) हार्न पनि जानेको छैन र हराउँन पनि। अरुलाई हराएको अन्धविश्वास पाल्छ र साँझ घर फर्केपछि आँफैसँग हार्छ। आफैलाई हराउन भने मज्जाले जानेको छ। उसका गोडा जमिनमा छैनन्। आफूलाई उसले पन्छी ठान्छ, अरुलाई कुवाको भ्यागुत्तो।
उसको शरीरबाट नमिठो गन्ध आउँछ, एकदमै अमिलो गन्ध। त्यसैले अरु उसको अगाडि आउँदा नाक थुन्छन् र उ पनि त्यसै गर्छ। उसको छेउमा बसेर सास फेर्नु, केबल सास तान्नु र फ्याँक्नु मात्र हुन्छ। बाँचेको आभास अरुलाई दिन उसले जानेको छैन, चाहेकै छैन।
विचरापनको केही झलक उसमा देखिन्छ तर कसैले उसलाई विचरा भनेको उ सहन सक्दैन, आफैले आफैँलाई विचरा भन्नु पनि पाप सम्झन्छ। प्रेम के हो उसले जानेको छैन, दया के हो जानेको छैन। उसले पुराना मान्छेभन्दा पृथक बन्न आफूभित्र गुम्साएर राखेको छ प्रेमलाई। उसका लागि प्रेम केबल सिनेमामा छ, किताबमा छ अनि रहरमा छ।
उसलाई देख्दा लाग्छ कुनै काल मनभित्र प्रेम थन्काएको उसले एकाएक चाबी हराएको छ अनि उ, प्रेम गर्न नजान्ने एक्काइसौँ शताब्दीको महान् मानिस, आफूलाई भगवान कृष्ण मान्दै बाँचेको छ।
उसले आफूलाई आफू हुन नदिएको धेरै भयो, उ त हरपल अरु बन्न खोज्छ र अरुलाई पनि आफू बन्न नदिन अथक प्रयास गरिरहन्छ। एक्काइसौँ शताब्दीको महान् मानिस नयाँ सीपले भरीपूर्ण छ, उसले जानेको छ आफ्नो गल्ती अरुलाई सुम्पन।
उसको प्रकृतिनै यस्तौ भइ सक्यो कि आफ्नो गल्ती अरुको हो भन्दै बाँच्न खोज्छ, इज्जत बचाउँन आत्मा मार्न खोज्छ। प्रेम उसका लागि ल्याप्चे लगाएको कागज भएको छ, उसको सोचमा रहेको कागज जोसँग कसैको व्यवहार नमिले प्रेम स्वतः खारेज हुन्छ। एक्काइसौँ शताब्दीको महान् मानिसले झुक्न जानेको छैन, सायद सिकेकै छैन।
समस्यासँग उसले मिल्न जानेको छैन, जानेको छ त केबल भाग्न। एक्काइसौँ शताब्दीको महान् मानिस भगौडे हो, इतिहासकै सबैभन्दा ठूलो भगौडे। कति भाग्न पर्छ भन्ने पनि नजान्ने, दम्भ भएको पानीआन्द्रे मानिस जो भाग्दा भाग्दै उमेर रहँदा रहँदै जीवनबाटै भागिदिन्छ। उ समस्या, प्रेम, जिम्मेवारी, भविष्य, सबै सबैथोक छोडेर टाप ठोक्ने एउटा भगौडे मानिस।
उसले जीवनसँग सन्धि गर्न जानेको छैन तर यो कुरा उ मान्न चाहँदैन, उसलाई लाग्छ नजान्नु पाप हो र अरुलाई पनि यो पाप हौ भन्दै फुक्दै हिड्छ। उसले केही जानेको छैन, त्यही पनि सबथोक जानेको ढर्रा पार्छ। उसले केबल जानेको छ बाटोमा खाल्टो हुँदा बाटो मोड्न, बोक्न गाह्रो कुरा सबै बाटोमै छोड्न र जानेको छ सपना देख्न, यो एक्काइसौँ शताब्दीको महान् मानिस इतिहासकै सबैभन्दा ठूला सपना देख्ने मानिस हो।
उसलाई प्रश्नसँग घृणा छ, न आँफैलाई सोध्छ, न अरु कसैलाई। आफ्नो बोली, आफ्नो सोच उ ध्रुबसत्य मान्छ। उसले खुम्चन जानेको छैन, फुल्न मात्र जानेको छ, च्वास्स छुँदा फुट्ने बेलुन जस्तै। सबैकुरा किन्न सकिन्छ भन्छ, जतन गर्न उसलाई आउँदैन। उ पिंजरा बनाउँछ, पिंजरामा आँफैलाई थुन्छ अनि बादल माथि उड्ने सपना देख्छ।
जब एक्काइसौँ शताब्दीको महान् मानिसको बारे सोच्छु मेरो मगजमा दुईटा मात्र चित्र नाच्छन्: एउटा चित्रमा कोही मानिस ठूलो सागरबीच पौडी पोसाक लगाएर नाउमाथि बसिरहेको हुन्छ, मोती खोज्न गएको हुन्छ उ त्यहाँ। तर सागरको गहिराइ सम्झन्छ र पानीमा नपसेर भाग्ने दाउ खोज्न थाल्छ। अर्को चित्रमा कोही राम्रोसँग पढ्न जान्ने मान्छे, से नो टु सुसाइड लेखेको गल्बन्दीको पासोमा झुन्डिरहेको हुन्छ।
कठै! मानव सभ्यताकै सबैभन्दा विकसित मानिस। कठै! एक्काइसौँ शताब्दीको महान् मानिस।