कविता
भएको छ ऐले, अघोरै बिरानो ।
बलेको छ ऐले, मनैभित्र राँको ।।
कता जाऊँ भन्नुस् ? कहीँ छैन बाटो ।
कता पाऊँ मैले ? अहो खै उज्यालो ??१??
म हाँसुँ कता गै ? कतै छैन साथी ।
कसैले नराख्दा, भरोसा ममाथि ।।
कहाँबाट आयो ? तुफानी कहानी ।
म आजै भएछु , अछुतै बिरामी ।।२।।
हिजोसम्मका ती, सबै बन्धु मित्र ।
अहिल्यै हराए, कठै भो विचित्र ।।
कसोरी अँधेरो, भयो यो समाजै ?
मनुष्यै जुनीमा, कता गो दया खै ??३??
बिरामी म भाको, मेरो के छ दोष ?
सहारा नदिने, समाजै बेहोश ।।
गरेको थिएँ जो, भरोसा अहो ती !
सबै स्वार्थ आहा, टुटेरै गए ती !!४!!
मलाई अहिले, भए जो पीडा यी ।
नहोस् है कसैमा, यही नै छ बिन्ती ।।
अति दुष्ट रैछ, कहाँदेखि आयो ?
मलाई बहुतै, पीडितै बनायो ।।५।।
नगर्नू कसैले, यसैमा खेलाँची ।
नहोस् है कसैमा, यत्ति दुःख साँच्चि।।
घरैमा बसेर, दूरीमा रहेर ।
सबैले भगाऔं, विपत्ति मिलेर ।।६।।