संविधान दिवस मनाउनु छ आज
त्यसैले बिर्सिदिऊँ
२५ भन्दा बढी मन्त्री नपाइने संविधानको कल्पना पूर्ति गर्न
मन्त्रीसरहका सल्लाहकार, राजदूत अनि वरिष्ठहरू थपिएको कुरा
सांसद किनबेचको राजनीति सपार्न
दल विभाजन लगायतका अध्यादेश प्रयासका कुरा
हार्नेहरूको लज्जा ढाक्न अनि इख पुल्पुल्याउन
राष्ट्रिय सभाका सिट मिलाइएका कुरा
आफूखुसी मनोमानी गर्न
प्रतिपक्षसँग भाग मिलाइएका कुरा
पेट भोको भए भइरहोस्
जनताको काम हो भोट दिनैपर्छ
मन अँधेरो भए भइरहोस्
घरघरमा दीपावली गर्नैपर्छ
किनकी संविधान दिवस मनाउनु छ आज
यही एक थान संविधानले नै हो
हामीजस्ता नेताहरूलाई छोटेराजा बनाइदिएको
जनताको अधिकार त त्यस्तै नै हो
भोट दिन तिनले पाइरहेकै छन्
त्यसैले जसरी भए नि सिंगारिएर आउनुस्
किनकी संविधान दिवस मनाउनु छ आज