कविता
महाकविका चुरोटका ठुटा गनेर प्राज्ञ भएकाहरू हो
खोक्रा स्तुतिगानको ढोङमा रमाउने कविहरू हो
किर्तनमा नरमेकोले नास्तिक भन्ने आस्तिकहरू हो
श्रीमतीसँगका झगडा पत्रिकामा बेच्ने पत्रकारहरू हो
डिक्स्नेरी कण्ठ गर्दागर्दै पागल भए भन्ने अंग्रेज़ीबाजहरू हो
कवि सफल, जीवन असफल भनी सिकाउने प्राध्यापकहरू हो
कोट, साइकल र खसीको टाउको मात्र देख्ने कथाकारहरु हो,
के हामीले महाकवि साच्चै चिन्यौं?
के हामीले महाकवि बुझ्यौं?
के हामीले महाकविको मानवलाई खोज्यौं कतै?
अन्तर हृदयको झंकारमा झुमेको संगीतज्ञ
अदृश्य शब्दहरूसँग खेली बस्ने तरङ्गी पागल
जड जनलाई जगाउन खोज्ने क्रान्तिकारी
मानव पुजक मानव बुझक कवि हृदय
शरीर डढाएर हृदय पगाल्ने एउटा कालिगढ,
अहिले
अर्धकदको धुलाम्य सालिकमा
उभ्याइएको छ
भित्तेपात्रोमा लक्ष्मीजयन्ती
रङ्गाइएको छ
म, हामी र उनीहरू
घाटले लाश कुरे झैं कुरिरहेछौं-
लक्ष्मी जयन्तीको दिन
एक थान लेख
एक थान कविता
एक थान माला
एउटा नारा
बस् ...
के महाकवि यिनै हुन् त?
के महाकवि प्रतिको सच्चा सम्मान यिनै हुन् त?
के महाकविले सिकाएका मानवता यिनै हुन् त?
वैराग्य चिहाएको
क्षमा र करुणाको आँखाले संसार निहालेको
काम, क्रोध, लोभ र मोह भन्दामाथि उठेको
यात्री , दु:खी, चरी, भिखारीहरूको आवाज
ज्ञानविज्ञानको कच्चा धातुलाई
हृदयको आरनमा
पोली पोली
पिटी पिटी
एउटा आकार दिएर
मानवता सिकाउने पुण्यात्मा किन यसरी खुम्चियो होला?
संसार सल्काउने ज्योति किन त्यसै निभ्यो होला?
विश्व सिंचाउने मूल किन यसै सुक्यो होला?
ऊ
निबन्ध होला नहोला
कविता होला नहोला
कथा होला नहोला
महाकाव्य होला नहोला
नाटक होला नहोला
तर, ऊ निश्चय पनि हो-
मानव हृदयको मानक
एउटा चिन्तन
एउटा दर्शन
एउटा सपना
एउटा न्याय
जसले जीवन जगत पढ्यो र सिकायो
मानव हो, मानव वन
मानव पढ, मानव लेख
मानव बाँच, मानव मर
मानव नै माधव हो
माधव नै मानव हो
मानव बन
मानवता नगुमाउ। मृत्युशैयामा छ्टपटाइरहेछ।