मलाई कति पीडा भएको थियो, त्यो म कुनै पनि शब्दमा व्यक्त गर्न सक्दिनँ। २० वटा सियोले एकैपटक खोपे जति वा २० वटा हड्डी एकैपटक भाँचे जति? कति कति!
मेरो पेटमा दुखाइको हुरी यसरी चल्थ्यो कि, मलाई हुरुक्क बनाउथ्यो र एक पटकमा आधाउधी प्राण लिएर जान्थ्यो। मेरो होस हराएको धेरैबेर भइसकेको थियो। बाँच्छु होला भन्ने कति पनि आश थिएन। म मरिसकेँ होला भन्ने लागेको थियो, घरबेटी दाइ कराउनु भयो-
'गाई ब्यायो, अलिकति पराल ल्याओ त।'
मेरो होस खुल्यो, अब बाँच्छु भन्ने लाग्यो। घरबेटी आन्टीले पराल ल्याएर ओछ्याउनु भयो र सोध्नुभयो- ‘के पाएछ त?’
'बाच्छी पायो' घरबेटी अंकलले खुसी हुँदै भन्नुभयो।
यो सुनेर म यति खुसी भएँ कि, मैले सारा प्रशव पीडा भुलेँ। मैले बाच्छी जन्माइछु, अब मेरी छोरीले भनेजति दूध खान पाउँछे। उस्ले घरबेटी अंकल, आन्टीको माया पाउँछे। ऊ र म लामो समयसम्म यही गोठमा सँगै रहनेछौँ। यतिधेरै खुसी भइछु कि अघि आँखामा आँसु आइसकेछन्।
२ वर्ष पहिले...
म सानी थिएँ। घरबेटी अंकलले मलाई र एउटा दाइलाई सँगै बाँध्नु हुन्थ्यो। उहाँँको निधारमा सेता रौँ भएकोले होला, सबैले उहाँलाई तारे भन्थे। र म पनि तारे दाइ भन्थेँ। दाइ मभन्दा २ हप्ता जेठो रे तर मभन्दा सानो र ख्याउटे हुनुहुन्थ्यो।
उहाँले लगभग १ महिना जति मात्र आमाको दूध खान पाउनु भयो, त्यो पनि अलिअलि मात्र। उहाँले एकछिन खानेबित्तिकै घरबेटी अंकलले तानेर निकालीहाल्नु हुन्थ्यो, बाँध्नु हुन्थ्यो। तर मलाई लामो समयसम्म खान दिनुहुन्थ्यो। मैले ५ महिनाभन्दा बढी दूध खाएँ।
म दूध खाएर अघाएकी हुन्थेँ, खासै घाँस खान मन लाग्दैनथ्यो तर त्यो दाइले त पराल पनि मजाले खानुहुन्थ्यो। मलाई र दाइलाई खोले सँगै दिनुहुन्थ्यो, म अलिकति खान्थेँ र बाँकी दाइलाई नै छाडिदिन्थेँ। मलाई खान मनै नभएर होइन, दाइको मायाले त्यसो गर्थेँ।
त्यो दाइकी आमाले पनि सुरुसुरुमा छोरालाई नखुवाइ दूध दिन्न भनेर घरबेटी अंकललाई लात्तीले हान्नुभयो। त्यसपछि घरबेटी अंकलले यति कुट्नु भयो कि, ढाडमा, भुँडीमा जताततै नीलडाम बसे। त्यस दिनदेखि उहाँले केही नभनी दूध दिन थाल्नुभयो तर अंकलले दूध दुहुँदा आँखाभरी आँसु पारेर तारे दाइतिर हेरीरहनु हुन्थ्यो, त्यो देख्दा मलाई साह्रै नराम्रो लाग्थ्यो।
मुटुमा गाँठो पर्थ्यो। मेरी आमापनि आँखाभरी आँसु पारेर हेर्नुहुन्थ्यो। उहाँले पनि के नै गर्न सक्नु हुन्थ्यो र! हामी हेर्न विवश थियौँ। हाम्रा आँखा नदेखेझैँ गर्न विवश थिए। र त्यो समय बुझेर पनि बुझ पचाउन विवश थियो, सायद!
तारे दाइकी आमालाई दोहेपछि मेरी आमालाई दुहुने पालो आउँथ्यो। दुहुनुभन्दा अगाडि मलाई दूध खान छोडिदिन्थे। म आरामले विस्तारै दूध खान्थेँ, आखिर एउटा थुनको दूध मेरै हुन्थ्यो। त्यसपछि मेरी आमालाई अंकलले दुहुनु हुन्थ्यो। फेरि अन्तिममा एकपटक रहलपहल दूध खान मलाई फुकाइदिनु हुन्थ्यो।
मेरो आफ्नो लागि त्यो समय राम्रै भएपनि तारे दाइको हालत देखेर म सधैँ खिन्न हुन्थेँ। मैले टन्न खाएर पनि सन्तुष्टि हुन सक्दिन थिएँ। दाइका मायालाग्दा आँखा र लगभग दुवै तिरको छाला जोडिन लागेको पेट देख्दा मेरा आँखामा आँसुको तलाउ बन्थ्यो, तर म के नै गर्न सक्थेँ र! मेरो मुटुमा तीर बनेर बसेका ती दिनहरु म कहिल्यै बिर्सन सक्दिनँ।
एकदिन ३ जना मान्छेहरु आए। बाहिर खै के के बोले, त्यसपछि गोठमा आए र तारे दाइलाई फुकाएर लगे। मैले सोचेँ, दाइलाई कसैले किनेर पाल्न लग्ने भएछ। अब उहाँले सुख पाउनु हुनेछ, मिठामिठा खानेकुरा खान पाउनु हुनेछ र घरबेटीको माया पनि पाउनु हुनेछ।
जानेबेला दाइले आँखाभरी आँसु पारेर बिदा माग्नुभयो, म पनि निक्कै रोएँ। केही बेरमा घरबेटी आन्टी आउनु भयो अनि तारे दाइ बाँधेको दाम्लो हेरेर निक्कै बेर टोलाउनु भयो। फेरि एकछिनपछि घरबेटी अंकल पनि आइपुग्नु भयो। अलि परसम्म पुर्याइदिएर आएँ भन्नुभयो।
'त्यो बाच्छोलाई के गर्छन् होला है?' आन्टीले मलिन स्वरमा सोध्नु भयो।
'काटेर खान्छन् नि' अंकलले भन्नुभयो। घरबेटी अंकलले तारे दाइलाई काटेर खान मान्छेहरुले लगेको कुरा यसरी भन्नुभयो कि, त्यो धेरै सामान्य कुरा हो। यति सामान्य कि, त्यो मुला काटेर खानु जत्तिकै सामान्य हो। वा त काउली काटेर खाए जति पनि माया लाग्दो छैन।
त्यति सुनेपछि म छाँगाबाट खसेजस्ती भएँ। मुटु चल्न छोडेजस्तो लाग्यो, श्वास रोकिएजस्तो लाग्यो। खुट्टा लल्याकलुलुक भए। तत्कालै दाम्लो चुँडालेर दाइलाई फर्काउन जान मन लाग्यो। त्यसपछि रुँदैरुँदै दाम्लो चुडाउन यति प्रयास गरेँ, यति प्रयास गरेँ, यति कराएँ, सायद तारे दाइले पनि सुन्नुभयो होला म रोएको, म कराएको।
तर मेरो प्रयास अर्थहीन थियो, जसरी दाइको जीवन अर्थहीन हुँदै थियो। त्यसरी कराएपछि मैले घरबेटी अंकलको धेरै कुटाइ खाएँ। ४/५ दिनसम्म केही खान मन लागेन। म निक्कै बिरामी भएँ।
'बाच्छी गाई पनि ब्याएछ है?'
पल्लाघरको रमेश दाइले भन्नुभयो।
'निक्कै बिरामी भयो। धेरै दुख पाएर बल्ल बल्ल ब्यायो। तर पहिला बेते भएर होला, अहिलेसम्म अम्रो झारेको छैन।'
'किरियालाई डाक्टर बोलाएर हात हालेर झिक्नु पर्छ जस्तो छ' घरबेटी अंकलले भन्नुभयो। अनि पो म झस्किएँ, मेरो दुख सकिएको रैनछ, पीडा/यातना भोग्न अझ बाँकी नै रैछ।