हे धरा,
मलाई पनि अलिकति जिउन सिकाइदेऊ न।
उखुलाई गुलियो दिन्छेऊ
करेलालाई तितो
सँगैको निबुवालाई अमिलो दिदाँ
सुन्तलालाई मिठो
चिसो रोज्नेलाई भुत्ला दिन्छेऊ
न्यानो खोज्नेलाई घाम
विषालु बन्नेलाई विष दिन्छेऊ
माम खोज्नेलाई धान,
जस्ले जे खोज्छन् त्यही दिन्छेऊ
गर्भको शिशुरत्न भन्दिन्यौ
आफ्नो श्रिंगार भन्दिन्यौ
आफूलाई भुलेर दिन्छेऊ
सिर्फ दिन्छेऊ मात्र
हे अचला,
मलाई पनि अलिकति दिन सिकाइदेउ न।
आफू सूर्यसँग डढेर, पग्लिएर
सन्तान हरियाली छाएकी छौ
आकाशसँग झुकेर, सम्झौता गरेर
सन्तान सिञ्चित गरेकी छौ
वायुसँग नांगिएर, बतासिएर
सन्तानको प्राण भरेकी छौ
जलसँग खुम्चिएर, बलात्कृत भएर
सन्तानको रक्षा गरेकी छेऊ
बलिदा
न मात्र दिन्छेऊ
सिर्फ त्याग्छेऊ मात्र
हे उर्बरा,
मलाई पनि अलिकति त्याग्न सिकाइदेऊ न।
तिम्रा कोमल र उर्वर छातीमा
दिनदहाडै आगो लाग्दा, सहिरहनछ्यौ
तिम्रा मुटुमा छियाछिया छुरा रोप्दा, चिच्चाउँदिन्यौ
बमबारुदले तिम्रा शरीर थल् थल् पार्दा, तर्सिन्यौ
तिम्रो चेतनामा आरा लगाउदाँ, हडबडाउँदिन्यौ
तिम्रा हातपाउमा नेल ठोक्दा, धरमराउदिन्यौ
तिम्रा आवाज थुनिदा, आत्तिन्नौ
तिम्रा इन्द्रियहरु अचेत बनाँउदा, अल्मलिनौ
कस्तो धैर्यता
कत्रो सहनशीलता
सिर्फ सहन्छेऊ मात्र
हे वसुधा,
मलाई पनि अलिकति सहन सिकाइदेऊ न।
हे धरणी,
तिमी सिर्फ दिन्छेऊ मात्र
तिमी सिर्फ त्याग्छेऊ मात्र
तिमी सिर्फ सहन्छेऊ मात्र
आमा जस्तै
मेरी आमा जस्तै
मलाई पनि अलिकति जिउन सिकाइदेऊ न।