माली एकोहोरो कराई
चटारिई
सेपाई
र रेलाई
पोहोर परार जस्तै
बाले भने- 'बहर खोजेकै हो
बथान जान्छे अब
दूध पक्का खुवाउँछे।'
रिठ्ठे र प्वाँलेले एक हप्ता छोडेनन्
कहिले सुँघेर बसे
कहिले रुँघेर बसे
कहिले चाटेर बसे
कहिले आकाश फुटाउँला झै घुरेर बसे
कहिले हम्केर त कहिले गम्केर
दिनहुँ समागम गरेकै देखिन्थे
विश्वास पनि कति नगर्नू
गाउँभरिका बाछाबाछी रिठ्ठे र प्वाँले कै त हुन्
बाले भने- 'यसपाला फरक परेन
दूध पक्का खुवाउँछे अब।'
हरियो घाँस
बाक्लो कुडो
भुस्सा घुस्सा
मिलाई मिलाई
माली बाक्लिदै गई
पेट बढदै गयो
बाले भने- 'चार चार वर्ष दु:ख दिए पनि
दूध पक्का खुवाउँछे अब।'
बाआमा खुसी भए
केटाकेटी रमायौं
हुनेवाला बाछाबाछीको नाम राख्यौं
बिगौती बाड्ने योजना बन्यो
जोडियो कुँडे, ठेकी, मदानी, ढुंग्रो
मालीको स्याहारमा पुरै परिवार
आमाले गर्भ नतुहिन भाकल गर्नु भो
बाले शक्ति र दूध बढ्ने भिटामिन
हाम्रो काम हरिया डाले घाँस,
दीर्घशंका जाँदा पनि घाँस उखेलियो
बाले भने- 'गाई त मातै हो
दूध पक्का खुवाँउछे यसपाला।'
छ महिना पछि...
माली फेरि कराई,
चटारिई र बथान खोजी
माली गाई उल्टिई!
बाले पुर्पुरोमा हात राख्दै भने-
'हात्ती आयो हात्ती आयो फुस्सा
हुत्याइदिन्छु डाम्नोलाई अब?'
मैले खप्टिएको चुन्ढुंगो
पुलुक्क हेरें
एकछिन हेरें
र एकोहोरो हेरिरहें।
मालीको केही रोग थियो कि?
पाठेघरको कुनै दोष थियो कि?
दाना पानी पो मिलेन कि?
अहँ!
बाले उपचार रोजेनन्
बाझोपन बुझेनन्
हुत्याइदिन्छु भने
मेरा बाजस्तै
हामी स्वरूप मात्र हेर्छौ
सार हेर्दैनौ
अनि हामीलाई लाग्छ
'माली बथान जाने बित्तिकै बाली हुन्छे
बाछी पाउछे
ढुंग्रोभरि दूध दिन्छे
र
हामीलाई दूध खुवाउछे।'
कठै हामी
कठै माली।