हामी पाँच जना थियौँ जो खप्तड हुँदै बाजुरा झरिरहेका थियौँ। बाटो ओरालो थियो, ओरालो बाटोको वरिपरि ससाना बस्तीहरू थिए।
म र मेरो साथी सुशान नौ-नौ किलोको ब्याग बोकेर हिँडीरहेका थियौँ। हामीलाई खाना खानलाई काँडा गाउँ पुग्नु थियो। हामीभन्दा अगाडि हिँड्नेमा थिएँ गजलकार कमल संघर्ष, अनुरूप खड्का अनि त्यहीका एक स्थानीय दाइ जो हाम्रो गाइड थिए।
हामीले उनीहरूलाई खप्तडमा भेटेका थियौँ। हिँडेर खप्तड हुँदै रारा जाने हाम्रो योजना थियो तर रातिदेखि खप्तडमा हिउँ परेकाले हामीलाई त्यहाँका आर्मी दाइहरूले दुई जना यस्तो बेला नहिँड्न सल्लाह दिनु भयो।
केही दिन मात्र छुट्याएर घुम्न आएका हामीलाई केही दिन खप्तड नै बस्नु पर्ने हो कि भन्ने चिन्ताले सताएको थियो। ठ्याक्कै त्यही बेला भेटिएका थिए ती तीन मित्र।
अर्कै बाटो भए पनि हामीलाई खप्तडबाट बाहिर निस्कन उहाँहरूले सहयोग गर्नु भएको थियो। ढुंगा खोज्दा हामीलाई देउता मिलेको थियो।
खासमा मैले यहाँ यात्रा संस्मरण लेख्न खोजेको हैन। काँडा गाउँ जाँदा देखेको एउटा दृश्यले मलाई दिएको अनुभव यहाँ लेख्न खोजेको थिएँ तर थाल्दा संस्मरण जस्तो हुन पुगेछ।
खासमा कुरा के हो भने कमल जीहरू हिँड्दै केही तल पुगेका थिए, म र सुशान विस्तारै हिँड्दै थियौँ। भिरालो बाटो हिँड्दा हिँड्दै हामी एउटा समतल भूभागमा आइपुग्यौँ जहाँ हरियो कोदोको बिरूवाले ढाकेको बारी थियो।
थाहा छैन मलाई त्यहाँ पुग्दा के भयो! म सायद जति प्रयास गरे पनि मनमा त्यसबेला आएका भावना मजाले बयान गर्न सक्दिनँ होला। तर केही कुरा छन् जो बयान गर्न मिल्ने छन्।
दिउँसोको समय, मजाले देखिइरहेको घाम, निलो खुलेको आकाश, आकाशमुनि बतासका झोकाले हल्लाइरहेको कोदोको बारी। त्यो देख्दा मलाई लेडीबर्डको सम्झना आयो।
त्यो दृश्य मलाई पहिले कतै देखे झैँ लाग्यो। पुरानो सम्बन्ध छ झैँ लाग्यो त्यो ठाउँसँग। तर म यकिनका साथ भन्न सक्छु कि त्यस्तो दृश्य मैले पहिले कहिल्यै देखेको थिइनँ। त्यो ठाउँको बास्ना भने सायद मेरो मस्तिस्कमा कतै थियो, तर त्यो पनि म हो भन्न सक्दिनँ।
सुशानलाई मैले यो ठाउँ देख्दा लेडीबर्डको याद आयो भनेर भनेको थिएँ। उसलाई सायद त्यस्तो केही लागेन होला, केही प्रतिक्रिया जनाएन। फरक मान्छेलाई छुने कुरा पनि फरकै हुन्छन्, सायद उसलाई त्यो ठाउँले फरक किसिमले छुँदै थियो, या मानौँ छोएकै थिएन। यो प्रश्नको उत्तर अब उसैलाई सोधे मात्र थाहा हुनेछ।
अचम्मको कुरा के छ भने किन मलाई त्यो ठाउँले लेडीबर्डको सम्झना दिलायो म आज पनि भन्न सक्दिनँ। अँ एउटा कारण हुन सक्छ, मैले लेडीबर्ड नदेखेको धेरै भएको थियो। मेरो अवचेतन दिमागमा लेडीबर्ड देख्ने रहर हुनुपर्छ सायद। तर किन कोदोकै बारी अनि त्यही ठाउँ, लोडिबर्ड त जहाँ पनि देखिन सक्थ्यो। मसँग सायद यो कुराको उत्तर कहिल्यै हुनेछैन।
त्यस ठाउँमा पाइला टेक्ने बित्तिकै पर कतै। त्यो ठाउँभन्दा धेरै पर, एउटा हरियो चौरमा खेलिरहेका दुई साथीको सम्झनामा भुलेँ। हरियो हाइनेक लगाएकी, थाइकट कपाल काटेकी, लाम्चो मुहार, पातला ओठ भएकी उमेर लगभग ८/९ वर्षकी एउटी केटी आफ्नै उमेरको केटा साथीलाई हेर्दै रमाइरहेकी थिई। चौरमा अरू पनि कैयौँ केटाकेटी थिए, तर त्यहाँ रहेका अरूको आकृति याद छैन मलाई।
केटीको साथीको हातमा एउटा सुन्तला रंगको लेडीबर्ड हिँडिरहेको थियो। त्यो देखेर ऊ रमाइरहेकी थिई। रमाइलोसँगै उसलाई थोरै डर पनि लागिरहेको थियो। तिमीलाई त्यसले टोक्ला है, फालिदेऊ भन्दै थिइ ऊ।
मन लागेर पनि ऊ त्यो लेडीबर्ड छुन सकिरहेके थिइन। तिमी पनि हातमा राख न कस्तो मजाले हिड्छ हातमा, केटो उसलाई उकास्दै थियो। केटी आफूलाई डर लागेको बताइरहेकी थिई।
केही बेरपछि बल्ल बल्ल केटोले केटीलाई लेडीबर्ड हातमा राख्नलाई मनायो। आफ्नो हातमा भएको लेडीबर्डलाई केटीकोमा सार्नका लागि ऊतर्फ हात बढायो। केटीले पनि उसको हातमा छुवाउनलाई डराउँदै हात बढाई।
केटीको हातमा उसको हातले छुनै आट्दा एक्कासी लेडीबर्ड केटाको हातबाट उड्यो। दुवै त्यसलाई एकछिन हेरिरहेँ। सानोभन्दा सानो हुँदै बिलायो लेडीबर्ड। आँखाबाट लेडीबर्ड ओझेल परेपछि भने केटालाई एक्कासी एउटा नमिठो उदासीले छोप्यो।
उसलाई रहर थियो लेडीबर्ड केटीको हातमा राखिदिएर उसको अनुहार पढ्ने। उसको त्यो रहर पूरा हुन पाएन।
अनुहार पढ्ने रहर हुँदा हुँदै पनि किताब पढ्नु पर्ने भयो। टिफिन सकिएको घण्टीले गर्दा उनीहरू क्लासमा जान बाध्य भए। लेडीबर्ड केटीको हातमा राखिदिने त्यसपछि उसलाई मौका जुरेन।
हिजोको कुरा हो, म छतमा बसेर मुराकामीको कथा संग्रह पढिरहेको थिएँ। यो बाजुराबाट हिँडेको १० दिनपछिको कुरा हो। एकसुरले मुराकामीको कथा 'अ किड्नी सेप्ड स्टोन द्याट मुभ्स एभ्रीडे' पढिरहेको थिएँ। गर्मीले जीउ पोले जस्तो भयो।
कोठामा गएर पढ्नुपर्ला भनेर उठ्नै मात्र आटेको थिएँ एउटा सुन्तला रंगको लेडीबर्ड मेरो टिसर्टमा आएर बस्यो। पहिले कतै चिनेको लेडीबर्ड थियो त्यो। मन एकपल्ट फेरि स्कुलको चौरमा गएर अडियो। हातमा लिएँ लेडीबर्डलाई अनि एकछिन टोलाएँ।
केहीबेर हातमा हिड्न दिएँ। जब त्यो मेरो हातको औँला छेउमा पुग्यो कतै, जाने बाटो भेटेन। एकछिन अल्मलियो अनि आफ्नो पखेटा खोल्यो र उड्यो निलो आकाशतिर। त्यो नहराउन्जेल हेरिरहेँ आकाशमा। सानोभन्दा सानो हुँदै बिलायो लेडीबर्ड। यस्तो पहिले पनि त भएको थियो।
विस्तारै किताबमै आँखा फर्काएँ अनि पढ्न थालेँ। अचानक आभाष भयो कोही मेरो छेउ बसेर मलाई हेर्दै, हात फैलाएर केही मागिरहेको छ। केही बेर अल्मलिएर दाया बाँया हेरे, कोही थिएन। सायद मेरो भ्रम थियो, यथार्थमा त केबल म थिएँ, मेरो किताब थियो या हुन सक्छ त्यही सत्य थियो र यो लेख लेख्ने म भ्रम हुँ।
वर्षौपछि भेट्दा पनि कसैलाई खाली हात फर्काउनु परेकाले उदास भएको छु। थाहा छैन अझै कति समय रहन्छ यो उदासी।