सही छ, म तिमी हुँदाको 'म' को सोच 
अनि गलत छ तिमी, तिमी हुँदाको 'तिम्रो' सोच 
हरेक 'म'का लागि, हैन र?
म 'तिमी' भए पो सही 
म 'म' हुँदा त गलत, भन्छ तिम्रो 'म' ले 
तिमी 'म' भए सही 
तिमी 'तिमी' भए गलत, भन्छ मेरो 'म' ले 
सही सोच के हो?
उहीँ जे तिम्रो 'म' ले सोच्ने गर्छ 
त्यही हो सही, हैन र?
उहीँ जे मेरो 'म' ले सोच्ने गर्छ 
त्यहीँ हो सही हैन र?
तिम्रो 'म'लाई तिमी गलत लागे 
तिमी त्यो सोच राख्ने नै थिएनौ, हैन र?
मेरो 'म'लाई म गलत लागे 
म त्यो सोच राख्ने नै थिएन, हैन र?
तिम्रो 'म' ले सोचेको तिम्रा लागि सही छ 
मेरो 'म' ले सोचेको मेरा लागि सही छ 
सही त तिम्रो 'म' ले जे देख्यो त्यही रहेछ 
सही त मेरो 'म' ले जे देख्यो त्यही रहेछ 
गलत आखिर के रहेछ?
तिम्रो 'म'का लागि मेरो 'म' गलत रहेछ 
मेरो 'म'का लागि तिम्रो 'म' गलत रहेछ 
त्यसैले त तिम्रो 'म' र मेरो 'म' आफैमा सही रहेछ 
निष्कर्षमा पुग्दा त, 'म' पो सही रहेछ।