हर्के,
एक पात्र हो
हर्के,
जिम्मेवार छोरा, श्रीमान् वा पति हो 
हर्के,
अधिकांश नेपाली युवाको कथा, व्यथा हो 
हर्के देश छोड्न चाहँदैन थ्यो 
तर अर्को तर्फ जिम्मेवारीले हानिएको थ्यो 
आफैँभित्र टुक्रिएको हर्के 
परिवारको खुसी जोड्न खोज्दै थ्यो
उडेको हवाईजहाजले 
बोकेका हर्केका सपना 
अँधेरी रातपछि उदाएको रवि 
बन्ने प्रयासमा अस्ताएको हर्के
खुसीको बाकसलाई लिन गएको हर्के 
बाकसले उल्टै लिएर पो आएछ 
परिवारको सहारा भनेको हर्के 
समयको आहारा पो भएछ 
देशलाई रेमिटेन्स दिने हर्के 
घरलाई सहारा दिने हर्के
खाडीमा पसिना बगाउने हर्के 
ओभर टाइममा थकान भुलेको हर्के
हर्केको मर्म गाउँदा 
संगीतकारले सुर पाउँछ 
हर्के बारे चर्चा गर्दा 
कथाकारले कथा पाउँछ 
हर्केको दुःख भाषणमा मिसाउँदा 
नेताले भोट बटुल्छ 
हर्केको दुख प्रसारण गर्दा 
टेलिभिजनले नोट बटुल्छ 
आफ्नो जीवन परिवर्तन गर्न नसकेको हर्के
अनि उसैको मर्मले परिवर्तित अरुको जीवन
आफू भने बन्न नसकेको हर्के
तर उसको वास्तविकताले थुप्रैलाई बनायो।