मुठ्ठी पारे, म कम्युनिष्ट रे 
जय नेपाल भने, म कांग्रेस रे!
मैले तापेको घाम 
तिम्रो सूर्यको हो अरे 
मैले फेरेको सास दिने
तिम्रो रूख हो अरे! 
मेरो घरमा बाँधेको गाईले 
मलाई राजावादी बनाउँछ 
हातमा गरी खाने हँसिया हतौडा भए 
मलाई माओवादी जनाउँछ 
मेरा बाले टेकेको लौरो 
स्वतन्त्रको समर्थन रे 
मेरो खेतमा लगाएको हलो 
राप्रपाको झल्को रे!
दूधे बालकको बोली फुट्दा 
बोलेको 'बा' शब्दले 
तिमी जस्ताले मान्ने बा जनाउँछ रे 
मैले मेरो दाइलाई 'दा' भनी डाक्दा पनि 
तिम्रा नेताको टिके भाइ बनाउँछ रे!
हजुरबाले पाएको वृद्धभत्ता 
तिम्रो पार्टीको पैसा हो 
तिम्रै पार्टीले मात्र चाहेको भएर 
मैले बोल्न पाएको हो 
तिम्रा नेता भगवान हुन्
अनि तिमी भक्त हौ 
दास प्रथा त उन्मुलन भयो 
तर तिम्रो मानसिकता भने 
दास नै रह्यो।