Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati विचार
Subscribe Setopati
शुक्रबार, चैत ६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

सोझो केटो

Royal Enfield
Royal Enfield

दुर्गा कार्की   

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Ncell

Ncell

डिस्क्लेमरः मेरो यो लेखको उद्देश्य केटो खोज्नु होइन।

सुरूमै यति भनेपछि चाहिँ लेखिरहँदा 'यो लाइन चाहिँ नराखौं कि...' भनेर नङ टोकिराख्नु पर्दैन भन्ने आशा छ।

केही महिनाअघि भर्खरभर्खर ट्विटर चलाउन थालेकी मैले अलिकति कामले दिक्क भएर, अलिकति मजाकमा अनि धेरै चाहिँ भात पकाउन अल्छी लागेर एउटा ट्विट गरेकी थिएँ,

'आफू कामबाट फर्कँदाँभात पका'र राख्ने, बाहिर धेरै नडुल्ने, बोलेको कुरामा मुख नफर्काउने, बाउआमा राम्ररी पाल्दिने एउटा सोझो केटो बिहे गर्न मन छ।'

मलाई खाना बनाउन अल्छी लाग्छ। त्यसो त खान पनि अल्छी नै छु म। अहिल्यै खाइहालौँ झैँ गरी भोक पनि सितिमिती लाग्दैन। आफन्तहरूको जमघट भएको बेला ममी अझै जिस्क्याउनुहुन्छ, 'हाम्री दुर्गा..., काम गर्न थालेपछि यति एकोहोरी छे, यसलाई खाना खान बोलाउनु छ भने भात बसालेदेखि बोलाउनुपर्छ, अनि बल्ल पस्कँदा आइपुग्छे।'

तर मेरो जिब्रोलाई भने मीठो चाहिन्छ। मेरो ज्यान कहिल्यै नलाग्नुको पछाडि मेरो जिब्रो र पेटले एकअर्काका चाहनालाई कदर नगर्नु नै पहिलो कारण हो।

र मलाई जहिल्यै लाग्छ, मैले बिहे गर्ने मान्छेको जिब्रो र पेटले भने एकअर्काको विशेष ख्याल राखून्। अझ सक्छन् भने मेरो जिब्रो र पेटलाई पनि आफूजस्तै बन्न सिकाऊन्।

म असाध्यै ढिली पनि छु। पुग्नुपर्ने ठाउँमा समयमा पुगेँ र अरूलाई आफूले कुर्न पाएँ भने औधी खुसी लाग्छ, किनकी नचाहँदा नचाहँदै पनि म धेरैजस्तो अरूलाई कुराउने गर्छु।

र मलाई लाग्छ, मैले विवाह गर्ने मान्छेले समयको एकदमै ख्याल गरोस्, सुटुक्क मेरो घडीलाई दश पन्ध्र मिनेट भए पनि छिटो गराइदिइराखोस्।

म आफूले बिहे गर्ने मान्छेमा आफ्नो पूरक खोज्छु। काम गर्ने मान्छे खोज्दिनँ। स्पष्टीकरण मात्रै।

मेरी एकजना साथी छे। उसको केटासाथीसित अक्सर झगडा भइरहन्छ। घरि भन्छे- 'ब्रेक अप गर्छु।' भोलिपल्ट हाँस्दै भन्छे- 'त्योबाहेक त मलाई सम्हाल्ने अर्को मान्छे नै जन्मेको छैन यो संसारमा।'

मेरी साथी पनि मजस्तै आफ्नो जीवनसाथीमा आफूमा नभएको चीज खोज्छे, ताकी एकअर्काका कमजोरीलाई एकअर्काका सुन्दर पक्षले लुकाइदिऊन् र जिन्दगीको रथ राम्रोसित चलोस्।

मलाई लाग्छ, आजकालका अक्सर केटाकेटी यस्तै चाहन्छन्।

म सानी छँदा ममी जिस्क्याउनुहुन्थ्यो, 'म त तेरो बिहेसिहे गराइदिन्नँ। यत्रो दुःख गरेर पढा'को छौँ, पैसा कमाएर खुरुखुरु हाम्लाई पाल्ने हो।'

म भित्रभित्रै अमिलिन्थेँ। मलाई सानैदेखि बिहे गर्न एकदमै रहर थियो। बिहान ब्यूँझेर पनि निदाएजस्तो भान पारेर म आफू कस्तो मान्छेसँग बिहे गर्छु भन्ने कल्पना गर्थेँ।

बिहेको कहिल्यै नामसमेत नलिने आमाले ब्याचलरको जाँच सकिएको दिन फोन गरेर भन्नुभो, 'अनि अब त तेरो बिहे पनि गर्नपर्यो, २२ लागिहालिस्...'

म ट्वाँ परेँ। एकछिन पुराना कुरा सम्झेर हाँसेँ अनि भनेँ, 'अनि बिहे नगर्ने, हाम्लाई पाल्ने भन्नुभा'को हैन त?'

ममी पनि हाँस्नुभो। र भन्नुभो, 'पढाइ नै नसकी पोइल जान्छेस् कि भनेर नि...'

'गएँ त?' मैले अझै जिस्काएँ।

'गइनस् त'नि। त्यही भ'र त अब गर्नपर्यो भनेको।'

'अहिलेसम्म गइनँ भने अब पनि जान्नँ, भयो?'

'कहिले गर्छेस् त?'

'गर्छु, समय आएपछि।'

'तेरो समय आउने कहिले हो... बूढी हुन्छेस् कि भनेर नि।'

'त्यस्तो पीर छ भने ल खोज्नु न त एउटा- म काम सकेर फर्कदाँ भातसात पका'र राख्ने, भाइको लुगासुगा धोइदिने, होमवर्क गराइदिने, तपाईंहरूलाई राम्ररी पाल्दिने एउटा सोझो केटो...।'

ममीले मजाले हाँसेर फोन राख्नुभो।

त्यस दिनदेखि आमा-छोरीबीच अहिलेसम्म बिहेको कुरा भएको छैन।

ममी खाना खाएर सुत्ने बेला हामीलाई फोन गर्दा म बल्ल पकाउँदै हुन्थेँ, अझै पनि हुन्छु। 'ए आमा... 'को लामो लेग्रो तानेर ममीले 'यसबेला पकाएर कहिले खाएर सुत्नेहोला' सम्म भन्नुहुन्थ्यो। 'भात पकाउन साह्रै अल्छी भइस्, बिहे गर् भो एउटा' कहिल्यै पनि भन्नु हुँदैनथ्यो।

ममी किन सोझो केटाको कुरामा दिल खोलेर हाँस्नुभो? तपाईंलाई थाहा छ।

ममीले किन कहिल्यै 'काम सघाउन बिहे गर् भो एउटा' भन्नुभएन? तपाईंलाई थाहा छ।

किनकी, हाम्रो समाजमा यो असम्भवप्रायः हो।

गर्नेनगर्ने आफ्नो ठाउँमा छ, तर यदि म केटा हुन्थेँ भनेँ ममीबुवाले मात्र होइन, आफन्त र छिमेकीले समेत मलाई 'बिहे गर, तिम्लाई सजिलो हुन्छ' भन्दा हुन्।

किनकी, हाम्रो समाजमा त्यो सामान्य हो। सजिलै हुनसक्ने कुरा हो।

भर्खरै बिहे गरेका जोडीमध्ये केटा मोटायो भने हामी जिस्काएर भन्छौँ, 'ओहो, भाउजूले खुब मीठोमीठो पकाएर खुवाउनुभयो जस्तो छ।'

केटी मोटाइन् भने एउटा आँखा झिम्क्याएर मसिनो स्वरमा भन्छौँ, 'बिहे खुब फापेजस्तो छ कसैकसैलाई...।'

यी सामान्य कुरा हुन्, तर यिनले हाम्रो समाजमा महिला र पुरुषको लैङ्गिक भूमिकाप्रतिको हाम्रो सोच बोल्छन्, यथार्थ बोल्छन्।

त, अब ट्विटमा फर्कौं है।

मेरी आमा हाँसेको कुरा अरूले पनि रमाइलै मान्लान् भनेर लेखेकी थिएँ। किनकी, आमालाई जस्तै र तपाईंलाई जस्तै मलाई पनि थाहा छ, त्यो असम्भवप्रायः कुरा हो।

र, कदाचित् त्यस्तै मान्छे भेटाइहालेँ भने पनि म बिहे गर्दिनँ। किनकी, त्यो मैले बिहे गर्ने होइन, मेरा लागि काम गर्ने मान्छेको चाहिँ क्राइटेरिया हो।

केहीबेरमै लेखक सावित्री गौतमले 'रिप्लाई'मा थपिदिनुभोः

'आमाको पेटिकोट नि त धुनुपर्यो उसले।'

र यो थपिरहँदा उहाँलाई पनि थाहा थियो, यो पनि असम्भवप्रायः कुरा हो।

हामीलाई असम्भवप्रायः त थाहा थियो, तर 'कतिसम्म?' भन्ने चाहिँ थाहा थिएन। केहीछिनमा त म ट्विटरको नोटिफिकेसनले झन्डै आत्तिएँ। मैले चलाउन थालेदेखि ट्विटरमा यति धेरै नोटिफिकेसन आएको थिएन।

रिप्लाई पढेपछि आङै सिरिङ्ग भएर आयो। दुई कुराले-

पहिलो- पढेलेखेका मान्छे पनि यति घटिया सोच कसरी राख्न सक्छन्?

दोस्रो- वर्षौंदेखि काम गर्ने मान्छेको रुपमा बिहे गरिँदा हाम्लाई चाहिँ यति धेरै रिस किन उठेन?

मलाई झस्काइदिने रिप्लाईमध्ये केही तपाईं पनि पढ्नुस्।

'बुढीकन्या बसिने भो त, सबै आनन्द लिइसकेको गन्ध आयो।'

'मेरो बिहे भइसक्यो, सौता आएर गोठै पाल्ने हिम्मत छ?'

'मनको लड्डु घिऊसित खाऊ टन्न अघाऊ।'

'बिहे गरेपछि ठ्याक लाउन पनि तिम्ले भनेको मान्न पर्ने हो कि के हो?'

'मलाई पनि सबै त्यस्तै फिचर्स प्लस दुई चारवटी केटी घुमाउँदा पनि चित्त नदुखाउनेवाली चाहियो।'

'घरज्वाँइ बस्ने खालको खोजेको रहेछ, पाइन्छ बेरोजगारको भीडमा।'

'रोबोट बिहे गर्नुस् उसोभए।'

'भाडामा लिए भो नि त।'

'काम गर्ने राखे भइहाल्यो नि, किन बिहे नै गर्नुपर्यो र?'

'अष्ट्रेलियाबाट साकार तपाईंको लागि पर्फेक्ट हुन सक्छन्।'

(अष्ट्रेलियामा बसोबास गर्ने साकार नाम गरेका र्‍याप गायकले आफन्तजन तथा अरूलाई जथाभावी फोहोरी गाली गरेका भिडियो युट्युबमा भाइरल भएबाट उनलाई मानसिक सन्तुलन गुमाएका भन्न थालेका थिए।)

'मलाई नि त्यस्तै खालको दोस्रो श्रीमतीको खाँचो छ।'

'पहिला आमालाई छोटो स्कर्ट लाउन तयार गराऊ फेरि सोचौँला।'

'त्यस्तो केटो नपाईने होइन, तर त्यस्को लागि केटी नि हिरोइन झैँ राम्री, ५०-६० करोडकी धनी हुन पर्यो क्यारे।'

'पाका विदुरहरू पाइएलान् कोही।'

'हाम्रो गाऊँमा लठेब्रो छ हौ एउटा।'

यसबाहेक 'म छु नि, पेटिकोट मात्रै किन, ब्रा पेन्टी धुन नै रेडी' भन्दै उडाउनेहरू त कतिकति। अति भएपछि मैले स्पष्टीकरण नै दिनुपर्यो-

'यो ट्विटको उद्देश्य केटो खोज्ने हैन। वर्षौंदेखि यस्तै केटी खोज्दै आएका केटाहरू आफूलाई त्यो भूमिकामा खोजिँदा कस्तो प्रतिक्रिया जनाउँदा रै'छन् भन्नेमात्र!'

मैले सुरुमै डिस्क्लेमर राख्नुको उद्देश्य अब बुझ्नुभयो होला।

लेख्न त अझ धेरै मन थियो, त्यतिखेर १४० को शब्दसीमामा अटाएन। यो त्यही एउटा ट्विटले जन्माएको लेख हो।

यो लेख थाल्नुभन्दा अघि मैले घरमा बुवालाई फोन गरेँ। बुवाले अहिलेसम्म पचासभन्दा बढी तन्नेरीहरूको घरजम गराइदिनुभएको छ। बुवाको यति लामो लमी करियरमा मेरी छोरीको लागि केटा खोज्देऊ भन्दै बुवासामू निकै थोरै मान्छे मात्रै आए। जति केटी खोज्देऊ भन्दै आए, उनीहरूले खोजेजस्ती केटी समग्रमा यस्तै हुन्थेः

'सोझी, अनुशासित, पढेलेखेकी, बाबुआमाको राम्रो हेरचाह गर्ने, घरमा दुईचारजना पाहुनापाछा आउँदा राम्ररी खुवाउने, राम्रो कुल घरानाकी....'

'सोझी, अनुशासित भनेको कस्तो नि बुवा?' मैले बुझ्न खोजेँ।

'कस्तो भन्दिने अब, क्यारेक्टरलेस हुन भएन।' बुवाले छोटो उत्तर दिनुभो।

'अनि क्यारेक्टरलेस भनेको त?'

'त्यही त हो नि, यताउता नगर्ने...' बुवाले अप्ठ्यारो मान्नुभो।

'लभसभ नपरेको, केटाहरूसित नघुमेको... यस्तै हो?' मैले सजिलो पार्दिएँ। बुवाले मन नलागेजसरी अँ... मात्र गर्नुभो।

लभ म्यारिजले गर्दा आजकाल धेरै कम मान्छे मात्र बुवाकहाँ केटी खोज्ने अनुरोध लिएर आउँछन्। यतिका समयको अन्तरालमा बुवाको अनुभवमा केटी खोज्दा हेरिने क्राइटेरियामा मात्र दुई कुरामा परिवर्तन आएको छ- एउटा सुरुमा खोजिने कुरा पढाइ, जागिर वा निकट भविष्यमा जागिर खान सक्ने खुबी भएको छ भने अर्को बानीव्यवहारका यावत् कुरालाई 'नमात्तिएकी' भन्ने विशेषणले रिप्लेस गरेको छ। सँगसँगै केही कुरामा रिजर्भेसन थपिएका छन्, केटीले केटाले भन्दा धेरै पढेको हुन नहुने, आफूभन्दा धनी परिवारकी र आफूभन्दा ज्यादा उमेरकी पनि हुन नहुने।

प्लान नेपाल लगायतले २०१२ मा बाल विवाहसम्बन्धी तयार पारेको एक रिसर्च रिपोर्टले अझै पनि ४५.२ प्रतिशत पुरुषहरूले घरायसी कामकाजमा सघाऊ होस् भन्ने उद्देश्यले विवाह गर्ने गरेको जनाएको छ। घरमा आमाबाबु बुढ्यौली वा रोगले थलिए र काम गर्न सकेनन् भने हामी 'हेल्पर' वा 'केयरटेकर' खोज्दै हिँड्दैनौँ, बिहेका लागि केटी खोज्न हिँड्छौँ। त्यतिबेला किन कसैले 'रोबोट बिहे गर' भन्दैन।

'ए, काम गर्ने मान्छे पो चाहिएको, पैसा तिरेर राखे भैगो नि' भन्दैन?

'दिमाग खुस्केको छ कि' भनेर किन उडाउँदैन? अथवा, उसको सम्पत्तिको हिसाबकिताब किन खोज्दैन?

'पहिले बाउलाई जिम पठाएर बडी बनाउन लगाऊ अनि सोचौँला' किन भन्दैन?

जतिसुकै पढेलेखेकी, ठूलो पदमा जागिर खाने वा धेरै कमाउने बुहारी भए पनि भातभान्सा सम्हाल्ने, घरको सरसफाइ र हेरचाह गर्ने हाम्रोमा नभने पनि बुहारीमा खोजिने गुण हो, संस्कार हो। जसले यी काम आफैँ गर्न भ्याउँदैनन् र जसको क्षमताले भ्याउँछ, उनीहरू घरमा काम सघाउने सहयोगी राख्छन्, श्रीमान डाक्दैनन्। केहीले डाक्ने हिम्मत गरिहाले भने कति साँच्चिकै उठेर जान्छन् भन्न त लेख पढ्नेहरूले आफैँलाई एकपटक सोधे भइगयो।

भर्खरै नीरज घेवनद्वारा लिखित तथा निर्देशित 'जुस' नामक भारतीय सर्ट मुभीले पनि अन्य धेरै कुरासँगै हाम्रो समाजमा पूर्वनिर्धारित लैङ्गिक भूमिकाप्रतिको हाम्रो सोच कसरी जस्ताको तस्तै छ भनेर देखाएको छ। चाडपर्वका बेला हाम्रै घरगाउँमा हेर्ने हो भने पनि बुवादाइहरू हातमा कोक वा रक्सीको ग्लास समातेर तासका पत्ता हेरिरहँदा हाम्रा आमाभाउजूहरूलाई सास फेर्ने फुर्सद समेत हुँदैन, रमाइलो गर्ने त परको कुरा।

'यो चाडवाड त कहिल्यै नआइदिए हुन्थ्यो।' तपाईंहरूमध्ये धेरैले घरमा ममीहरूले यसो भनेको सुनेको हुनुपर्छ। कतिपयले आफैँ पनि भनेको हुनुपर्छ।

लभ म्यारिजमा बाहेक विदेश बसेर आएकी केटीसित विवाह गर्न अझै पनि हाम्रो समाज हिचकिचाउँछ किनकी बाहिर कसैको रोकटोक नहुने ठाऊँमा यस्ता केटीहरूले 'जे पनि' गर्न भ्याएका हुन्छन् भन्ने सोचले हामी बिरामी छौँ। किनकी हाम्रो समाजमा यौन अझैपनि पुरूषका लागि आवश्यकता र महिलाका लागि सुविधा हो, सौभाग्य हो। अथवा, भए पनि हुने नभए पनि हुने कुरा हो। एउटा यस्तो सुविधा जसको प्राप्तिको योग्यता र उपभोगको तरिका समाज आफैँ नै निर्धारण गरिदिएको छ।

त्यतिमात्र होइन, हाम्रोमा त महिलाको यौनेच्छा वा आचरण उसको व्यक्तिगत मामिला वा व्यक्तिगत आवश्यकता पनि होइन, उसको शील हो, चरित्र हो, संस्कार हो र उसको मात्र होइन कुलकै प्रतिष्ठाको विषय हो। त्यसैले त केटासँग डुल्ने, लभसभ गर्ने केटीहरू अझै पनि हाम्रो समाजको आँखामा 'क्यारेक्टरलेस' हुन्, अनुशासनहीन हुन् र श्रीमती वा बुहारी बनाउन लायक नै होइनन्।

हाम्रोमा वर्षौँदेखि महिलाहरूले चुलो पोतिरहे, अँगारले कराईको कालो घोटिरहे। हामीले टिभीमा क्रिकेट हेर्दै आमालाई नौ बज्न लागेको सूचना दिइरह्यौँ, साग पखालिदिन भान्सामा उक्लिएनौँ। तरकारीमा नुन चर्को हुँदा श्रीमतीको ढंग र उस्तै परे उसको माइतीको संस्कारसम्मलाई हियाउन भ्यायौँ तर 'तिम्लाई खाना बनाउन उति मेसो रहेनछ, म गर्छु नि त' भनेनौँ। हाम्रा भान्सामा कराई थोत्रिएर प्रेसर कुकर आए, अँगारको ठाउँमा भाँडा माझ्ने तारजाली आयो, तर प्रेसर कुकरमा डढेको दालको कालो घोट्ने हात फेरिएनन्।

हामीले एक्काइसौँ शताब्दीका आश्चर्यहरू लेखेर जाँचका पाना भर्यौँ, दुनियाँ देख्यौँ, समुद्री तटमा बिकिनी लगाएका महिलासित सेल्फी खिचेर फेसबुक र इन्स्टाग्राममा हाल्यौँ, तर अझै पनि आमाहरूलाई छोटो स्कर्टमा कल्पना गर्न छोडेनौँ। कालो कहीँ कतै छ भने हाम्रो दिमागमा छ। त्यो न अँगारले घोटेर जान्छ न जालीले। त्यसलाई त विवेक र अकलले घोट्नुपर्छ। हामी भने त्यसभित्र पस्ने बाटो पनि अहंकारले बन्द गरेर बसेका छौँ।

कसैलाई जाबो एउटा ट्विटलाई लिएर यत्रो... भन्ने पनि लाग्न सक्छ। तर जसले यस्ता जवाफ लेखे, ती पनि हाम्रै समाजका पाटो हुन्। गाउँमा असी नाघेको कुनै हजुरबुवाले यस्तैखाले विचार राखेको भए म उति गहिरिएर लिन्नथेँ पनि होला। तर यो त सामाजिक संजालमा हरदम सक्रिय रहने, आफ्नो विचारले धेरैलाई प्रभाव पार्न सक्ने पढेलेखेको वर्गबाट आएको अभिव्यक्ति हो। अझ विशेष गरी त्यस्ता व्यक्तिबाट, जो आफ्नो असली परिचय लुकाएर प्रस्तुत हुन ज्यादा मन पराउँछन्।

तर भनिन्छ नि, मानिस चिनिन नचाहेर जसरी प्रस्तुत हुन्छ, त्यो नै उसको असली परिचय हो। मलाई लाग्छ, मुकुन्डो लगाएर प्रस्तुत हुने ट्विटर प्रयोगकर्ताको झुन्ड हाम्रो समाजको बिर्सनै नहुने अत्यन्त डरलाग्दो पाटो हो। यसबाट हाम्रो समाजमा पढेलेखेकै भनिने पनि कति तल्लोस्तरको सोचाइ राख्छ भन्ने कुरा प्रष्ट हुन्छ।

मैले यति लामो लेख लेख्नुको उद्देश्य कसैलाई आफैँदेखि लज्जित बनाउन वा आफ्नो दूषित विचारको लागि कसैलाई मभन्दा निकृष्ट प्रमाणित गर्न पक्कै होइन। कोही केटा साथीले मनसायबिनै केही 'सेक्सिस्ट' कमेन्ट गरिहालेमा पनि म उसको खेदो खन्दिनँ। किनकी केही समयअघिसम्म केही हदसम्म म पनि त्यस्तै थिएँ। हामी सबै यही सिंगो समाजका उत्पादन हौँ र समाजले हामीलाई जन्मेदेखि जे खुवाइरह्यो, त्यसकै रस हाम्रो नशानशामा अझै बहन्छ, हाम्रो दिमागका पत्रपत्रमा रहन्छ। तर हामीसित विकल्प छ, हाम्रो खानकी सुधार्ने, हाम्रो दिमागका पत्र सफा गर्ने। त्यसका लागि सबैभन्दा ठूलो कुरा पहिले हामी आफैँ तयार हुनुपर्छ।

हामी मानिस स्वभावैले अर्काको मन पर्न खोजिरहेका हुन्छौँ। हाम्रा इन्स्टाग्राम तथा ट्विटर फलोअर्स, फेसबुक पेजका लाइक आदिलाई मानक मानेर मख्ख परिरहेका हुन्छौँ। हामी उनीहरूले मन पराउन लायक हौँ कि होइनौँ भन्ने त हामी स्वयंलाई मात्र थाहा हुन्छ। त्योभन्दा पनि प्राथमिक, के हामी आफूले आफैँलाई मन पराउँछौँ? भन्ने चाहिँ मूल प्रश्न हो। किनकी, आफूले आफैँलाई मन पराउनुमा जस्तो सन्तुष्टि आफूले अरूलाई या अरूले आफूलाई मन पराउनुमा हुँदै हुँदैन।

एकपल्ट आफैँलाई सोधिहेर्नुस् त, यस्ता विषालु विचार पालेबापत तपाईंलाई आफू मनपर्छ?

विवाह हाम्रो समाजको अत्यन्तै महत्त्वपूर्ण र प्राथमिक सामाजिक संस्था हो, संरचना हो। यसकारण मलाई विवाहप्रति बिशेष आस्था छ।

मैले आफ्नै आँखाअघि विवाह भत्केका देखेकी छु, छोराछोरीको भविष्य अनि समाजको इज्जतको सानो जरामा झुन्डिन बाध्य विवाह पनि देखेकी छु। मेरो बुझाइमा विवाह टुट्न बढ्नुको समग्र कारण भनेको महिलाहरूले परिवार र समाजभन्दा आफूलाई अलिकति धेरै माया गर्नु हो र पुरुष मनले त्यो स्वीकार्न नसक्नु हो। त्योभन्दा पनि दुःखलाग्दो, एकअर्काको समान अस्तित्व स्वीकार्न आफ्नो दिमाग खुला राख्न नचाहनु हो।

हामी प्रायः सबै कुराकानीमा घुसाउँछौँ, समय बदलिइसक्यो। तर समय कति बदलियो भन्ने कुरा हाम्रो जिन्सको ब्रान्डले भन्दैन, हाम्रो हातको फोनको मूल्य वा फिचर्सले पनि भन्दैन, हाम्रो सोचले भन्छ। हाम्रो व्यवहार र बोलीले भन्छ। किनकी, आधुनिकता र सभ्यता बिल्कुलै फरक कुरा हुन्। आधुनिक हुँदैमा सभ्य भइँदैन भन्ने अब हामीले बुझ्नुपर्छ।

जबसम्म हामी विवाह मार्फत भान्सामा मास्टरसेफ, पार्टीमा हिरोइन र बेडमा यौनकर्मी खोजिरहन्छौँ, ढुक्क होउँ, हाम्रा लागि समय बदलिएको छैन।

जबसम्म हामी आफू दुईचारजना केटी डुलाउने स्वतन्त्रता खोजेर 'अन्त लसपस नभएकी' केटीलाई सिन्दुर हाल्न खोजिरहन्छौँ, हाम्रा लागि समय अझै बदलिएको छैन।

जबसम्म हामी श्रीमतीले काम अह्राएबापत ठ्याक लाउन पाउनुपर्ने अधिकार खोजिरहन्छौँ हाम्रा लागि समय कत्ति पनि बदलिएको छैन।

अन्त्यमा,

मेरी आमा पेशाले शिक्षक हुनुहुन्छ। उहाँ मलाई हरेक वर्ष ऋषिपन्चमी पूजामा दतिवनले दाँत माझ्न सम्झाउनुहुन्छ। मैले गला अलिक खोलेको लुगा लगाएँ भने मुख बिगार्नुहुन्छ। मिन्स भएको बेला टाउको ननुहाई खाना नबनाइदिए हुन्थ्यो झैँ गर्नुहुन्छ।

मेरी आमाले महिनावारीको वैज्ञानिक प्रक्रिया बुझाएर बुझ्नुहोला, तर पचाउन सक्नुहुन्न। उहाँलाई मोबाइलबाट कसैको नम्बर टेक्स्ट गरिदिन भन्दा दैनिक पाठयोजना बनाउन सजिलो लाग्छ। मैले नै फेसबुक र मेसेन्जर इन्स्टल गरेर पठाइदिएको फोनबाट उहाँले अस्ति मलाई नेपालीमा 'जहिल्यै अनलाइन है' लेखेर पछाडि बुढीऔँला समेत देखाएर पठाउँदा कति बेरसम्म त म खुसीले मोबाइलको स्क्रिन हेरेर हाँसी मात्र रहेँ।

सीमित स्रोत र साधनको पहुँचमा रहेका मेरा आमाजस्ता करोडौँ आमाबुवाले सिक्न सक्ने त्यत्ति हो। तर हामीले त देशविदेश देखेका छौँ। हामी सुषमा स्वराजको कुबेलाको नेपाल भ्रमणबारे तर्क गर्न सक्छौँ। बलात्कारका अभियुक्त रिपोर्ट नै नआई धरौटीमा रिहा गर्ने आदेशमा न्यायालयमा मौलाइरहेको भ्रष्टाचार देख्न सक्छौँ। हामीसित आफ्नो देशलाई 'सिटहोल कन्ट्रिज' को क्याटेगोरीमा राखिदिने ट्रम्पको उछितो काढ्न सक्ने ताकत छ। हामीलाई कसैको योनीबाट रगत बग्दैमा कुनै पनि देउतालाई समस्या हुँदैन भन्ने थाहा छ। हामीसित स्पोर्ट्स जुत्तामा पालिस गरेर पार्टी शुद्धीकरण हुँदैन भनेर बुझ्न सक्ने अकल छ भने आमा, दिदीबहिनी वा श्रीमतीका खुट्टामा राखेर एकफेर आफैँलाई मूल्याङ्कन गर्ने अकल र आँट किन छैन?

यो ट्विटको असर सेलाएको केही समयपछि कसैले फेरि मेरो पुरानो ट्विट कोट गरेर लेख्यो,

'साँच्चै, डेढ महिना भो, यिनले सोझो केटो पाइन् कि पाइनन् हँ?'

मैले त सकिनँ, तपाईं नै उहाँलाई जवाफ दिइदिनुहुन्छ कि?

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  १३:०४
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

विचार

समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर?
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ?
'ब्यालेट विद्रोह' का ६ सन्देश
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
जाने होइन त टीकापुर!
शासकका बाटामा काँडा बिछ्याउने कि फूल?
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP