महिला सांसद
सन् २०१५ मा रजनी श्रेष्ठको जीवनमा नसोचेको मोड आयो।
उनको घाँटीमा मासुका डल्ला देखिन थालेका थिए। त्यति बेला ३३ वर्ष पुगेकी रजनी उपचारका लागि नेपालदेखि भारतका अस्पताल धाउन थालिन्।
दुई वर्षसम्म यो समस्याले दु:ख दिएपछि उनले शारीरिक व्यायाम गर्ने निधो गरिन् र फिटनेस सेन्टर जान सुरू गरिन्।
फिटनेस सेन्टरले रजनीको जीवनमा अविश्मरणीय परिवर्तन ल्याइदियो।
आफ्नो शरीर बडी–बिल्डर खेलाडीको जस्तै भएपछि उनी प्रशिक्षकको सल्लाह अनुसार खेल जीवनमा प्रवेश गरिन्। र, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जित्न सफल भइन्।
सन् २०१७ मा मिस्टर काठमाडौंको महिला फिजिक्सतर्फ स्वर्ण जितेकी रजनीले सन् २०१९ मा दक्षिण एसियाली बडी–बिल्डिङमा भाग लिइन्।
रजनीले एसियाली बडी–बिल्डिङमा एक स्वर्ण र विश्व बडी–बिल्डिङमा रजत पदक जितेकी छन्।

बडी–बिल्डिङमा निरन्तरता दिन खेलाडीले खानपानसहित अनुशासित जीवनशैली अपनाउनुपर्छ। यसले सामान्य आर्थिक पृष्ठभूमिकी रजनीलाई लामो समय बडी–बिल्डिङमा रहन सकस भयो।
आर्थिक समस्याले सताउन थालेपछि उनले खेल जीवनबाटै सन्न्यास लिनुपर्यो।
पदक जितेर देशको नाम अन्तर्राष्ट्रिय स्तरमा फैलाएकी उनै रजनी यसपटक प्रतिनिधिसभा सांसद बनेकी छन्। ४४ वर्षीया रजनीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आदिवासी जनजाति महिलाको क्लस्टरबाट समानुपातिक सांसद बनाएको हो।
'मैले खेलाडीका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलेर देशका लागि पदक जितेँ। तर दुःखको कुरा, राज्यबाट कहिल्यै हौसला, सम्मान वा सहयोग पाइनँ। खेलकुद मात्र होइन, अन्य धेरै क्षेत्रमा पनि सरकारको उपस्थिति एकदमै कमजोर भएको मलाई महसुस भयो,' राजनीतिमा आउनुको कारणबारे रजनीले सेतोपाटीसँग भनिन्, 'राज्यको सहयोग नपाएकाले मैले आफ्नो आर्थिक समस्याका कारण खेल जीवनलाई निरन्तरता दिन सकिनँ।'
'खेल जीवनबाट सन्न्यास लिनु मेरो जिन्दगीकै सबभन्दा पीडादायक निर्णय हो,' उनले अगाडि भनिन्, 'मेरो जस्तै नियति अरू खेलाडीले भोग्नु नपरोस् भनेर म राजनीतिमा आएकी हुँ।'
भदौ २३ र २४ को जेनजी आन्दोलनले पनि आफूलाई राजनीतिमा लाग्न प्रेरित गरेको उनको भनाइ छ।
त्यो घटनाले देशमा परिवर्तनका लागि प्रत्यक्ष राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता सिर्जना गरेको उनी बताउँछिन्।
समानुपातिक सांसदको प्रमाणपत्र लिँदै रजनी श्रेष्ठ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
'राजनीतिमा आउने इच्छा रास्वपाबाट पूरा भएको छ,' मोरङकी रजनीले भनिन्, 'मलाई समानता र समावेशिताका आधारमा खेलाडी भएको नाताले रास्वपाले यो अवसर दिएको छ।'
अब संसदमा विशेषगरी खेलकुद र खेलाडीका मुद्दा उठाउने उनी बताउँछिन्।
उनले भनिन्, 'खेलले परिवार, समाज र राष्ट्रलाई सकारात्मक दिशा दिन्छ। खेलाडी देशका गहना हुन्। खेलले देश–देशबीच भाइचारा र मित्रताको सम्बन्ध मजबुत बनाउँछ। त्यसैले खेलाडीले पाउनुपर्ने सुविधा राज्यबाट सुनिश्चित गरिनु आवश्यक छ। म सदनमा खेलाडीको हक, अधिकार र समस्याको आवाज निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गर्छु।'
खेललाई मनोरञ्जनको रूपमा मात्र नभई स्वास्थ्य र अर्थतन्त्रसँग जोडेर विकास गर्नुपर्ने रजनीको भनाइ छ।
'खेललाई केवल मनोरञ्जनका रूपमा लिनु हुँदैन। यसलाई राष्ट्रिय गौरव, स्वस्थ जीवन र सबल अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा विकास गर्नुपर्छ। सही नीति, लगानी र व्यवस्थापन भए नेपालले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गर्न सक्छ,' उनले भनिन्, 'त्यसैले आधारभूत संरचना निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, राम्रो शिक्षण पद्धति, खेलाडीका आर्थिक समस्याको समाधान लगायत विषयमा मेरो ध्यान केन्द्रित हुनेछ।'
रजनीका लागि राजनीति नौलो क्षेत्र भने होइन। उनका श्रीमान कुनै बेला नेपाली कांग्रेसको भ्रातृ संस्था तरूण दलका जिल्ला उपसभापति थिए। उनले लामो समय राजनीति नगरे पनि आफूलाई राजीतिमा सधैं रूचि लागिरहेको रजनी बताउँछिन्।
खेलाडी हुँदै सांसदसम्मको यात्रा तय गरेकी रजनी खेल जीवनलाई कहिल्यै बिर्सन सक्दिनन्। देशका लागि पदक जितेको क्षण उनको मनमा अहिले पनि ताजै छ। पदक जित्दाको खुसी अरू सफलताबाट पाउन नसक्ने उनको भनाइ छ।
'खेलाडीका रूपमा देशका लागि पदक ल्याउँदा जुन गर्वको अनुभूति भयो, त्यो आज पनि मेरो मनमा ताजा छ,' उनले खेलाडी हुँदाको अनुभव साटिन्, 'एसियाली खेलमा स्वर्ण पदक जित्दा थाइल्यान्ड, भारत र श्रीलंका जस्ता देशमा समेत हेडलाइन बनेको क्षण अहिले पनि बिर्सन्नँ।'
रजनीले ४३ वर्ष उमेरमा पदक जितेको क्षण लाखौं नेपाली महिलाका लागि प्रेरणा बन्ने गरेको छ।
'४३ वर्ष उमेरमा पनि चाह्यो भने केही गर्न सकिन्छ भन्ने लाखौं महिलालाई प्रेरणा दिन सफल भएको थिएँ। त्यो मेरो व्यक्तिगत खुसी मात्र होइन, सम्पूर्ण नेपालीको गौरवको क्षण थियो,' उनले भनिन्।

सांसदका रूपमा खेलकुद क्षेत्र मात्र होइन, अरू क्षेत्रको आशा पूरा गर्न पनि सक्दो कोसिस गर्नुपर्नेमा रचनी सचेत छिन्।
'देशको सांसदजस्तो गरिमामय पदमा रहँदा सहिदको बलिदान, बिदेसिन बाध्य परिवारको पीडा र निराश जनताको आशा–भरोसाको जिम्मेवारी मेरो काँधमा आएको महसुस गरेकी छु,' उनले भनिन्, 'जबसम्म देशमा सुशासन स्थापित हुँदैन र हाम्रा जेनजी भाइबहिनीको सपना पूरा हुँदैन, तबसम्म न हामी साँचो अर्थमा खुसी हुन सक्छौं, न त हाम्रो पदको कुनै सार्थकता रहन्छ। त्यसैले म खेलाडीको जस्तै दृढता र समर्पणका साथ जनताको आवाज उठाउँदै देशलाई सही दिशामा लैजान प्रतिबद्ध छु।'
खेल जीवनबाट सन्न्यास लिएपछि सामान्य जीवन बिताइरहेकी रजनीले अब अर्को जिम्मेवारी थपिएको महुसस गरेकी छन्। जीवन सिकाइ हो भन्ने सिद्धान्तबाट अघि बढिरहेकी रजनी समयसँगै बदलिन चाहन्छिन्।
'जीवन सिकिरहनुपर्ने प्रक्रिया हो। त्यस कारण परिवर्तन ल्याउन विचार पनि बदलिँदै जानुपर्छ। हिजो के थिएँ भन्दा पनि आज म कस्तो छु भन्ने कुराले फरक पार्छ,' उनले भनिन्।
***