सिस्ने हिमाल (परिवर्तित नाम) गाउँबाट भागेर काठमाडौंमा न्याय खोज्न आएको सात वर्ष बित्यो।
हामीले मंगलबार ललितपुरको एउटा चिया पसलमा भेट्नेबित्तिकै सिस्ने हिमालले खरानी रङको ब्यागबाट दोबारिएको 'ए-फो' साइजको एउटा फाइल झिकिन्।
त्यो फाइल हो, १२ वर्षदेखि उनले कुरिरहेको अन्तिम फैसला।
सिस्ने हिमालले १२ वर्षअघि आफूलाई सिरिया पुर्याएर बेचबिखन गरेको भन्दै पाँच जना विरूद्ध जाहेरी दिएकी थिइन्। ती पाँचमध्ये तीन जनालाई सर्वोच्च अदालतले जनही १२ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना सुनाएको छ।
सिस्ने हिमाललाई बेचबिखन गर्ने उद्देश्यले सिरिया पुर्याइएको भन्दै न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले काठमाडौं टोखाका श्यामलाल डंगोल, झापा दमककी सुनिता भन्ने जुवा हस्ता सतार (सुनिता मुरमुर) र सल्यानका ज्ञानेन्द्र चनरालाई उक्त सजाय सुनाएको हो।
यी तीनै जनाले मिलेमतोमा सिस्ने हिमाललाई सिरिया पुर्याएको मिसिल संलग्न कागजातले प्रमाणित गरेको अदालतले जनाएको छ।
सर्वोच्चले गएको जेठ २५ गते फैसला गरेको भए पनि पूर्णपाठ केही दिनअघि मात्र आएको हो।
'तीनै जनालाई १२ वर्ष भए पनि कैद सुनाएछ, यति भए भयो,' सिस्ने हिमालले सेतोपाटीसँग भनिन्, 'यिनीहरूले गर्दा कति दु:ख पाएँ! अब पुग्यो मलाई!'
जाहेरी, अभियोगपत्र र फैसलामा उल्लिखित व्यहोरा अनुसार, यो घटना २०७१ वैशाख १ गते सुरू हुन्छ।
त्यस दिन ज्ञानेन्द्र चनरा, सुनिता मुरमुर र श्याम डंगोलले सिस्ने हिमाललाई रूकुमबाट काठमाडौं ल्याएर काँकडभिट्टा हुँदै भारत पुर्याएका थिए। त्यसको पाँच दिनपछि भारतको कोलकाताबाट दुबई हुँदै सिरिया पुर्याए।
यी तीन जनामध्ये डंगोलले सिस्ने हिमाललाई औषधि उत्पादन गर्ने कम्पनीमा काम लगाइदिने लोभ देखाएका थिए। डंगोलसँग भेट गराउने ज्ञानेन्द्र हुन्।
उनीहरूले आपसी मिलेमतोमा सिस्ने हिमाललाई भारतको कोलकाता पुर्याएर भक्ते परियार र टोपराज अधिकारीको जिम्मा लगाए।
ती दुवैले आफूसहित पाँच जना केटीलाई कोलकाताबाट दुबई पठाएको सिस्नेको जाहेरीमा उल्लेख छ। त्यहाँबाट उनीहरूकै सम्पर्कका एक व्यक्तिले सिरिया पुर्याएका थिए।
सिरिया पुगेपछि मात्र आफू सात हजार अमेरिकी डलरमा बेचिएको भन्ने थाहा पाएको सिस्ने हिमालले अदालतमा बयान दिएकी थिइन्।
यही गिरोहको सिरियास्थित अफिसले उनलाई एउटा घरमा काम गर्न भन्दै पठाएको थियो। त्यहाँ पुगेपछि उनीमाथि चरम शोषण सुरू भयो। खान नदिने, यौन शोषण गर्ने, कुटपिट गर्ने, काम गरेको पैसा नदिने लगायत सहनुपरेको सिस्ने हिमालले आफ्नो बयानमा भनेकी थिइन्।
तीन महिना काम गरेपछि उनी बिरामी परिन्।
त्यसपछि त्यो परिवारले उनलाई गिरोहकै अफिस फर्काइदियो। अफिसका कर्मचारीले पनि दिनदिनै यातना दिने गरेको सिस्ने हिमालको भनाइ छ।
सिरियाको दमास्कसस्थित उक्त अफिसमा दुई महिना बसेपछि सिस्ने हिमालले लुकेर परिवारसँग सम्पर्क गरेकी थिइन्।
परिवारले सिस्ने हिमाललाई नेपाल फर्काउन सिरिया अफिससँग कुराकानी गर्यो। उनीहरू दुई लाख रूपैयाँ पाए फिर्ता पठाइदिन राजी भए।
यही सर्त अनुसार दुई लाख रूपैयाँ गिरोहलाई बुझाएर सिस्ने हिमाल नेपाल फर्किइन्।
त्यसपछि उनले मेडिकल क्षेत्रमा काम लगाइदिन्छु भनेर आफूलाई सिरियामा बेचबिखन गरेको भन्दै गाउँका ज्ञानेन्द्र, काठमाडौंका श्याम, मोरङकी सुनिता, ठेगाना नखुलेका भक्ते परियार र टोपराज अधिकारीविरूद्ध ११ वर्षअघि जाहेरी दिइन्।
सुरूमा प्रहरीले उनको जाहेरी लिन मानेको थिएन।
चार महिना विभिन्न संघ-संस्था गुहारेपछि उनीहरूकै सहयोगमा जाहेरी दर्ता गराउन उनी सफल भइन्।
जाहेरी दर्ता भएको एक वर्षपछि प्रहरीले ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गर्यो। त्यसपछि श्याम र सुनिता पनि पक्राउ परे।
प्रहरीले यी सबैविरूद्ध मुद्दा लगे पनि सरकारी वकिलले भक्ते परियार, टोपराज अधिकारी र कल्पना भन्ने व्यक्ति फरार रहेको र ठेगाना नमिलेको भन्दै मुद्दा चलाएन।
काठमाडौं जिल्ला अदालतमा चलेको उक्त मुद्दामा आफूलाई उल्टो बकपत्र गराउन पीडक पक्षले निकै कोसिस गरेको सिस्ने हिमालले बताएकी छन्।
'उनीहरूले पैसाको लोभ पनि देखाएका थिए,' सिस्नेले भनिन्, 'तर मलाई पैसा होइन, न्याय चाहिएको थियो।'
उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले ज्ञानेन्द्र र सुनितालाई सफाइ दियो, श्यामलाललाई भने थुनामा राख्यो।
जिल्ला अदालतको निर्णय नमिलेको भन्दै सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्यो।
जिल्ला अदालतले सफाइ दिएपछि गाउँ फर्केका ज्ञानेन्द्रले आफूलाई मार्ने धम्की दिएको भन्दै सिस्ने हिमाल छोरीसहित रूकुमबाट भागेर काठमाडौं आइन्।
'उनीहरूले मलाई नसकेपछि छोरीलाई मार्ने धम्की दिए, अनि मैले घर छाड्नुपर्यो,' सिस्ने हिमालले भनिन्, 'मुद्दा काठमाडौंमै भएकाले पनि म यहीँ आएँ।'
उनी यसरी भागेर काठमाडौं आएको पनि सात वर्ष बितिसकेको छ।
यसबीच उच्च अदालतले यो मुद्दामा फैसला गर्दै ज्ञानेन्द्र, श्याम र सुनिताको समूहले नै सिस्ने हिमाललाई सिरिया पुर्याएर बेचबखन गरेको ठहर गर्यो।
न्यायाधीश यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले श्याम, जिल्लाबाट सफाइ पाएका ज्ञानेन्द्र र सुनितालाई जनही २० वर्ष कैद, २ लाख रूपैयाँ जरिवाना र उनीहरूबाट पीडितलाई जनही २ लाख नै क्षतिपूर्ति तिराउने फैसला गरेको थियो।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनको दफा १५ (१) (क) ले मान्छे बेचबिखन गर्नेलाई २० वर्ष सजाय हुने व्यवस्था अनुसार उक्त फैसला सुनाएको थियो।
बेचबिखनमा संलग्न भक्ते परियार र टोपराज अधिकारीमाथि फेरि छानबिन गर्न प्रहरीलाई आदेश पनि गरिएको थियो।
उच्चको फैसलाविरूद्ध श्याम र सुनिताले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
सर्वोच्चले पनि उनीहरूको पुनरावेदन सुनेर बेचबिखनको उद्देश्यले सिरिया पुर्याएको भनेको छ।
'पीडितलाई सिरियामा बेचेको वा किनेको भन्ने स्पष्ट र वस्तुगत प्रमाण नभए पनि किन्ने/बेच्ने वा शोषण गर्ने उद्देश्यले सिरिया पुर्याएको मिसिलबाट प्रमाणित भएको' फैसलामा उल्लेख छ।
सर्वोच्च अदालतले सिस्ने हिमाललाई सिरिया पुर्याउन र त्यहाँबाट फर्किने बेला नेपाली सीमासम्म ल्याउनमा संलग्न परियार र अधिकारीबारे भने केही बोलेको छैन।
बेचबिखनको उद्देश्यले विदेश पुर्याएको पुष्टि भए १० देखि १५ वर्षसम्म कैद सजाय र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था छ। ऐनको दफा १५ (१) (ङ) ले यस्तो व्यवस्था गरेको छ। त्यस्तै, पीडितलाई मनासिब क्षतिपूर्ति पनि पीडकबाटै भराउने व्यवस्था पनि छ।