सरकारले पुल्चोकमा रहेको मन्त्री क्वाटरलाई सार्ने भएको छ।
ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा नयाँ आवास निर्माण गरेर मन्त्री क्वाटर सार्ने निर्णय सरकारले गरेको हो।
मन्त्री क्वाटर पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ बनाउने निर्णय गरेको हो।
सैवुमा सांसद आवास निर्माणका लागि छुट्याइएको १४९ रोपनी जग्गामा मन्त्री निवास बनाउन लागेको हो।
मन्त्री क्वाटरसँगै राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास पनि बन्नेछ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले २७ वटा आवास निर्माण गर्न लागिएको जानकारी दिए।
त्यस्तै, सरकारले प्रदेश प्रमुख र मुख्मन्त्रीको आवास तथा सम्पर्क कार्यालय समेत मन्त्री क्वाटरसँगै बनाउने भएको छ। उनीहरूका लागि १४ वटा भवन निर्माण गर्न लागिएको बाँस्कोटाले जानकारी दिए।
सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुख रहने जग्गा समेत प्रदेशको नाममा गरिदिने तयारी सरकारको छ। हाल प्रतिनिधि सभाका उपाध्यक्ष, सहरी विकास मन्त्री, सञ्चार मन्त्री, कानुन मन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी मन्त्रीले पुल्चोकमा क्वाटर पाएका छैनन्।
सञ्चार मन्त्री बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी आवासमा बस्दै आएका छन्। त्यस्तै, खानेपानी मन्त्री विना मगरले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड निवास’बाटै मन्त्रालय आउने जाने गर्ने गरेकी छिन्।
त्यस्तै, सरकारले हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा भने स्टेट गेस्ट हाउस बनाउने भएको छ।
विदेशी पाहुना आएका बेला होटलमा नराखेर यस्तो गेस्ट हाउसमा राख्ने तयारी सरकारको छ।
यस्ता राजकीय अतिथि गृह १० वटा बनाउने सरकारले निर्णय गरेको हो।
सार्क सम्मेलन लगायतका बेला अतिथि गृह उपयोगी हुने सरकारको ठहर छ। सरकारले अतिथि गृह निर्माणका लाग पुल्चोकको मन्त्री क्वाटर भएको जग्गा अपर्याप्त भए नेपाल राष्ट्रिय पुस्तकालय रहेको छेवै सरकारी जग्गा प्रयोग गर्ने निर्णय समेत गरेको छ।
सिंहदरबारमा सर्नुअघि हाल राष्ट्रिय पुस्तकालय रहेको उक्त जग्गामा स्थानीय विकास मन्त्रालय रहेको थियो।