जनकपुरधामका कलाकारहरूले प्रदेश २ को नाम मिथिला हुनुपर्ने माग गरेका छन्।
नेपालकै जेठो नाट्य संस्थामध्ये एक मिथिला नाट्य कला परिषद् (मिनाप)को ४० औं साधारणसभामा कलाकारहरूले प्रदेश २ को नामाकरण मिथिला नै हुनुपर्ने माग गरेका हुन्।
४ दशकदेखि मिथिलाको संस्कृति, पहिचान र भाषालाई केन्द्रबिन्दु बनाएर अभियान चलाउँदै आएको मिनापको ४० औं साधारण सभामा विभिन्न वक्ताहरूले सम्बोधन गर्ने क्रममा प्रदेश २ को नाम मिथिला बाहेक अन्य स्वीकार्य हुन नसक्ने बताए।
साधारणसभामा बोल्दै नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले मिथिला र मैथिलीको संस्कृति, पहिचान र भाषाको सवालमा स्पष्ट रहेकाले यसका लागि कुनै हालतमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे।
नेता यादवले मिनापको भूमिकालाई सराहना गर्दै कुनै पनि बहानामा प्रदेश २ को पहिचानमाथि खेलवाड गर्न कसैलाई छुट नभएको टिप्पणी समेत गरे।
मैथिली साहित्यकार रोशन जनकपुरीले मिथिला र मैथिलीको लागि प्रदेश २ को नामाकरण र भाषाका लागि मिनापलाई फेरि अभियान चलाउन आग्रह गरे।
साहित्यकार जनकपुरीले संघीयता संस्कृति, पहिचान र भाषाको संरक्षण तथा संवर्द्धन समेत हुने उल्लेख गर्दै उनले यसका लागि अभियानमार्फत् संघर्ष गर्ने आवश्यकताको खाँचो औंल्याए।
उनले प्रदेश २ मा सम्पर्क भाषाको नाममा यहाँको मौलिकता संस्कृति, पहिचान र भाषामाथि अर्को भाषा लाद्ने षड्यन्त्र भइरहेकोले मिथिला र मैथिलीको लागि अझै पनि संघर्षको माध्यमले नै प्रदेशको नाम राख्नुपर्ने तर्क गरे।
साधारणसभामा मिनापका महासचिव शैलेन्द्र मल्लिकले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अनिता रानी मण्डलले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।