नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ देखाएर अख्तियारदेखि अदालतसम्म तर्साउन खोजेको आरोप लगाएका छन्।
दोस्रो चरणको राष्ट्रिय अभियान अन्तर्गत सोमबार प्युठानमा भएको जागरण अभियानमा बोल्दै पौडेलले संवैधानिक निकायलाई सरकारले तर्साउन खोजेको आरोप लगाएका हुन्।
‘सरकारले यो वा त्यो बहानामा संवैधानिक अंग अख्तियार, अदालतलाई तर्साउन खोजेको छ,’ पौडेलले भने, ‘जनताले दिएको दुई तिहाइ मत निरंकुश शासन चलाउनका लागि होइन।’
उनले ठूला भ्रष्टाचारको छानबिन गर्नुपर्ने भए पनि सरकारले आलटाल गरिरहेको बताए।
‘ठूला आयोजनामा भ्रष्टाचार बढेका छन् सरकारले छानबिनका लागि सघाएको छैन,’ उनले भने, ‘सरकार नै कमिसनको चक्करमा लागेको छ।’
मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेको भन्दै उनले चिन्ता प्रकट गरे।
उनले कांग्रेसले गाउँमा विकासको सुरूआत गरेको पनि दाबी गरे। ‘हामीले गाउँमा बाटोदेखि बिजुली पुर्याउने काम गरेका हौं,’ उनले भने, ‘माओवादीले हिंसा सुरू गरेपछि विकास निर्माणका काम गर्न पनि दिएनन् अवरूद्ध भइगो।’
त्यसबेला विकास रोक्नेहरू अहिले सत्तामा भए पनि विकासमा चासो नदेखाएको पनि उनले बताए।