२२ वर्षीय सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा प्रतिनिधिसभा सांसद बनेकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खसआर्य समूहबाट समानुपातिक सांसद बनाएको हो।
जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर छोराको मृत्यु भएपछि रचना न्यायका लागि आवाज उठाउँदै सडकमा ओर्लिएकी थिइन्।
'हिजो सडकमा बसेर जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूका लागि न्याय मागेँ, अब सहिद परिवारको प्रतिनिधित्व गर्दै संसदमा बोल्नेछु,' रचनाले सेतोपाटीसँग भनिन्, 'मेरा छोराहरूमाथि गोली चलाउनेलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो। म यही आवाज संसदमा उठाउनेछु।'
उनी भदौ २३ गते गोली चलाउन आदेश दिने प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीदेखि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत कारबाही हुनुपर्ने माग गर्दै आइरहेकी छन्। उनको मात्र होइन्, सहिद परिवार सबैको माग यही छ।
सडकमा उठाएको यो माग संसदमा उठाउन कुनै कसर बाँकी नछाड्ने उनी बताउँछिन्।
'सडक र सदनमा नियम र तरिका फरक होला, तर आफूले भोगेका कुरा सुनाउन पछि पर्दिनँ,' रचनाले भनिन्, 'सिक्दै र बोल्दै अगाडि बढ्छु।'
अहिलेसम्म गृहणीका रूपमा जीवन बिताउँदै आएकी रचनाको यो पहिलो राजनीतिक कदम हो। उनी यसअघि कुनै पनि पार्टीमा आबद्ध थिइनन्। राजनीतिमा आउनु आफ्नो चाहनाभन्दा बाध्यता भएको उनी बताउँछिन्।
बाध्यता र परिस्थितिले राजनीतिमा ल्याएको भए पनि एउटा खुबी उनीसँग पहिलेदेखि नै थियो।
रचनालाई समसामायिक विषयमा अध्ययन गर्न र बोल्न मन लाग्थ्यो। तर आफ्नो घरयासी काम र व्यवसायले त्यो मौका पाएकी थिइनन्। छोराछोरी हुर्काउने र घरव्यवहार सम्हाल्ने जिम्मेवारीले आफ्नो रूचिको काम गर्न फुर्सद नै नभएको उनको भनाइ छ।
'जसका लागि मेरो आधा जिन्दगी बित्यो, अहिले उही छैन,' उनले भनिन्, 'मेरो अहिलेसम्मको जीवन छोरामै समर्पित थियो, अबको जीवन पनि उसैमा समर्पित रहनेछ।'
४६ वर्षीया रचना चन्द्रगिरि नगरपालिकाको नैकापमा जन्मिएकी हुन्। उनी घरकी जेठी छोरी हुन्। एक बहिनी र एक भाइ छन्।
निम्न माध्यमिक तहसम्म अध्ययन गरेकी रचनाको १६ वर्षकै उमेरमा काभ्रेको पनौती नगरपालिका-१० का पुरूषोत्तम खतिवडासँग विवाह भयो।
उनका श्रीमान नेपाल टेलिकममा काम गर्छन्। रचनाले भने एक छोरी र एक छोरा हुर्काउँदै किराना पसल चलाइन्। दम्पतीको मेहनतले जिन्दगीमा रंग भर्न थाल्यो। उनीहरूले काठमाडौंको टेकुमा जग्गा किने। आठ वर्षअघि त्यहीँ घर बनाएर बस्न थाले।
केही वर्षअघि उनकी जेठी छोरी अस्ट्रेलिया गइन्। छोरा रसिकलाई पनि उतै पठाउन चाहन्थे। तर उनले मानेनन्।
'तपाईं एक्लै हुनुहुन्छ मामु, म विदेश जाँदिनँ भन्थ्यो,' छोराको भनाइ उद्धृत गर्दै रचनाले भनिन्, 'बुबा पनि कामका लागि बाहिर हिँडिरहनुपर्छ। म पनि गएँ भने हजुर घरमा एक्लै पर्नुहुन्छ, म कतै जान्नँ।'
उनै छोराको जेनजी आन्दोलनमा मृत्यु भएपछि रचनाको जीवनको बाटो नै बदलियो।
गोली लागेको रसिकको शव पोस्टमर्टमका लागि टिचिङ अस्पताल लगेदेखि नै उनी र उनीजस्तै सहिदहरूको न्यायका लागि आवाज उठाउन थालेको रचना बताउँछिन्।
उनी जेनजी सहिद परिवार संघर्ष समितिमा कोषाध्यक्ष छिन्। सहिदहरूको पक्षमा संगठित आवाज उठाउन उनीहरूले बबरमहलमा कार्यालयसमेत खोलेका छन्।
'घरमा हुँदा ठूलो स्वरले बोल्नसमेत आउँदैन थियो। छोरा गुमाएपछि सडकमा चिच्याउन सक्ने भएँ। अब संसदमा पनि धक नमानी आफ्नो कुरा राख्छु,' उनले भनिन्, 'मान्छेलाई पीडा परेपछि बोल्न मात्र होइन, चिच्याउन पनि सकिने रहेछ।'
रचना रास्वपासँग चाहिँ कसरी जोडिइन् त?
हाम्रो यो प्रश्नमा उनले एउटा घटना सुनाइन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेलबाट निस्किएपछि सहिद परिवारलाई भेट्न गएका थिए। आफूलाई भेट्न आउँदा रवि भावुक हुँदै रोएको रचना सम्झन्छिन्।
'मेरो छोरा उहाँको समर्थक थियो, जेलमा पनि भेट्न जान पाए हुन्थ्यो भनिरहन्थ्यो। मैले यही कुरा सुनाउँदा रविजी भावुक हुँदै रूनुभयो,' रचनाले भनिन्, 'त्यसपछि उहाँले तपाईंहरूका लागि म छु, म केही गर्छु भन्नुभयो।'
उनले अगाडि थपिन्, 'छोरा बितेको दुई/तीन साता हुँदासम्म कोही नेता भेट्न आएका थिएनन्। रविजी जेलबाट निस्किनेबित्तिकै भेट्न आउनुभयो।'
त्यही घटनापछि रवि लामिछानेले सहिद परिवारका लागि केही गर्छन् कि भन्ने आस लागेर रास्वपासँग जोडिएको उनी बताउँछिन्।
'उहाँ आफू पीडामा भएर पनि हाम्रो दु:खमा सहानुभूति दिन आउनुभयो। त्यसैले उहाँप्रति विश्वास पलायो,' उनले भनिन्, 'त्यही भएर उहाँको पार्टीबाट समानुपातिक उम्मेदवार बन्न राजी भएँ।'
उनको नाम समानुपातिक सूचीको खसआर्य क्लस्टरतर्फ दोस्रो नम्बरमा थियो।
समानुपातिक सूचीमा नाम समावेश भएसँगै उनले विभिन्न आरोप पनि खेप्नुपर्यो। सहिद परिवारका नाममा राजनीतिमा गएको आरोप उनले झेलिन्।
'छोरा जुन बाटोमा हिँडेको थियो, मैले त्यही बाटो रोजेँ। त्यसैले अरूले जे भने पनि मनमा लिइनँ,' रचनाले भनिन्, 'छोरा भ्रष्टाचार र सुशासन चाहन्थ्यो। म पनि त्यही चहान्छु। उसको माग पूरा होस् भन्ने नै म राजनीतिमा आउनुको एक मात्र उद्देश्य हो।'
***