संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका कृष्ण बहादुर महरालाई पक्रन प्रहरीलाई अदालतले अनुमति दिएको छ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका कर्मचारी ज्ञानेन्द्र बहादुर कार्कीले सेतोपाटीलाई बताएका छन्।
अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ। अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ गर्नेछ।
नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ।
बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।
रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।
उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्।
शाहीको उजुरी पछि प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको बताएको थियो।
असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।
भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो।
प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्।
शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो।
घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।
जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ।
यी पनि :
महराले बलात्कारको प्रयास गरेको भन्दै रोशनीले दिइन् प्रहरीमा उजुरी
महरालाई सभामुखमा पुनर्स्थापित गरियोस्
सभामुख महराले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप, गृहमन्त्री र सचिवद्वारा प्रहरीसँग छलफल
'महराविरूद्ध जाहेरी दिएको छैन भनेर राज्य चुप लागेर बस्न मिल्दैन'
अनुसन्धान गर्न पीडितको जाहेरी हैन, सूचना नै काफी
बलात्कारको प्रयासमा महरालाई ५ वर्षसम्म जेल सजाय हुनसक्ने