सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने बताएका छन्।
बिहीबार लम्कीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन ल्याइने बताएका हुन्।
हालसम्म यो अस्पताल लुम्कीचुहा नगरपालिकाको व्यवस्थापनमा संचालन हुँदै आएको थियो।
बुधबार मात्रै प्रदेश सरकारले प्रदेशका अस्पतालहरूमा व्यवस्थापन समिति चयन गरेसँगै स्थानीय पालिका र प्रदेश सरकारका बीचमा तनाव सृजना भएको छ।
सोही अवस्थामा मुख्यमन्त्री शाहले प्रक्रियागत ढंगबाट सबै काम अगाडि बढिरहेको स्पष्ट पार्दै अस्पताल सञ्चालन सम्बन्धी विषयमा अनावश्यक भ्रममा नपर्न आग्रह गरेका हुन्।
उनले बलिया स्वास्थ्य चौकीबाट स्तरोन्नति भई १५ शैय्याको अस्पताल बनेको लम्कीचुहा नगर अस्पताल हाल ५० शैय्याको अस्पतालको रूपमा स्तरोन्नति भएको बताए।
कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन र यसको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने स्पष्ट पारे।
हालै प्रदेश सरकारले लम्कीचुहा प्रदेशिक अस्पताल विकास समितिको अध्यक्षमा रामबहादुर विष्ट सहित सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारू र हिमाल स्वाँरलाई नियुक्त गरेको थियो।
सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको बुँदा नं. ८२ मा प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने निर्णय गरेको थियो।
मुख्यमन्त्री शाहले हाल स्थानीय तहबाट सञ्चालित बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्न स्थानिय तहसँग समन्वय र साझेदारी गर्ने निर्णय गरिएको बताए।
लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीको अध्यक्षतामा २०८१/०६।१७ गते बसेको लम्कीचुहा अस्पताल विकास समितिको बैठकले १५ शैय्यामा सञ्चालन रहेको अस्पताललाई ५० शैय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार लम्कीचुहा नगरपालिकाले २०८१/०९/०४ मा चलानी नम्बर १६८१ को पत्रबाट सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको थियो। त्यसपछि सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदले २०८१/११/२१ गतेको निर्णयानुसार लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत ल्याई सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई पत्राचार गरेको थियो ।
सोही निर्णय अनुसार लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत हस्तान्तरणका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२/०२/२६ गते लम्कीचुहा अस्पताललाई प्रदेश सरकारबाट नै साधन स्रोत व्यवस्थापन हुने गरी १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति सहित सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्नेगरी हस्तान्तरण गर्न स्वीकृति प्रदान भएको थियो।