मन्त्रीमण्डलको हेरफेरका विषयमा छलफल गरेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शितल निवास गएका छन्।
‘केहीबेरअघि दुबै जना आउनुभएको हो, अहिले राष्ट्रपतिज्यूसँग भेटघाट भइरहेको छ,’ शितल निवास स्रोतले भन्यो।
यसअघि ओली र प्रचण्डबीच बालुवाटारमा भेट भएको थियो।
दुई अध्यक्षबीचको छलफल सकिएपछि नयाँ हुने मन्त्रीको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्नेछ। सचिवालय बैठक अपरान्ह साढे १२ बजे बस्ने बालुवाटार स्रोतले जनाएको छ।
यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रीमण्डल हेरफेर गर्न लागेको बताएका थिए। नयाँ मन्त्रीको टुंगो लगाउन सचिवालय बैठक बिहान ९ बजे बस्ने भनिए पनि दुई अध्यक्षको छलफलका कारण पछि सरेको हो।
स्रोतका अनुसार आज अपरान्हसम्म नयाँ मन्त्रिहरूले सपथ लिनेछन्। को-को मन्त्री हटाइँदैछन् र नयाँ को हुँदैछन् भन्ने प्रष्ट भइसकेको छैन।