संसदको हिउदे अधिवेशन सुरू भएको एक महिना पुग्न लागिसकेको छ। संसदको यो अधिवेशन यस्तो बनेको छ कि अहिलेसम्म एउटा पनि पूर्ण बैठक बस्न सकेको छ। संसद बैठकमा भइरहेको अवरोधको कारण सत्तारूढ दल नै बनेको छ। नेपालको संसदीय इतिहासमा सत्तारूढ दलकै कारणले संसद बन्धक बनेको यो पहिलो घटना हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यो घटनालाई सत्तापक्षको संसदप्रतिको बेवास्ता भनेको छ।
'सत्तारुढ दलले संसदको महत्व बुझ्न सकेन। यति लामो समयसम्म संसदलाई बन्धक बनाउनु गलत हो,' नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेतोपाटीसँग भनिन्, 'संसद भनेको सरकारको निगरानी राख्ने अनि जनताको सवाल उठाउने ठाउँ हो। तर सत्ताको नेतृत्व गरेकै पार्टीबाट जटिलता निम्त्याउनु संसदीय व्यवस्थाकै लागि खतरनाक पक्ष हो।'
असोजदेखि सभामुख पद रिक्त छ। सत्तारुढ नेकपाभित्र सहमति हुन नसक्दा सभामुख चयन प्रक्रिया अवरूद्ध भइरहेको छ।
'पार्टीभित्रको आन्तरिक विवादले जनप्रतिनिधि संस्थालाई बन्धक बनाउन भएन,' भुसालले भनिन्, 'हाम्रो पार्टीभित्र पनि विवाद होलान् तर हामीले जनतालाई यसको असर पर्न दिनु हुँदैन। हामीबाट जनताले अपेक्षा गरेको छ। कांग्रेसले जनताका प्रश्नलाई संसदमा उठाउनु परेको छ। तर सत्तारुढ दलभित्रको विवादले हामीले प्रतिपक्षको भूमिका खेल्न पाएका छैनौं।'
संविधान कार्यान्वयनका लागि विधेयकहरू ल्याउन पर्ने भए पनि यो प्रक्रियामा अवरोध आएको उनले बताइन्।
कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी देखिनु पर्नेमा जोड दिदै भुसालले संविधानसँग जोडिएका कानुनसमेत संसदमा पेश हुन नपाएको बताइन्।
'संसदमा राष्ट्रिय राजनीतिबारे छलफल हुन्थ्यो। सरकारलाई प्रश्न सोध्ने ठाउँ बन्द भएको छ। संसदलाई मात्रै होइन संसदीय व्यवस्थाप्रति नै सरकार गम्भीर देखिएन,' भुसालले भनिन्, 'हरेक अधिवेशनको आफ्नो महत्व हुन्छ तर यसलाई सरकारले नजरअन्दाज गरेको छ।'
नेकपाभित्रको आनतरिक विवादले संविधान कार्यान्वयन ओझेलमा परेको उल्लेख गर्दै भुसालले सरकारले संसदीय प्रक्रिया र प्रजातान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गरेको बताइन्।