काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागारबाट छुट्ने भएका छन्।
संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको थियो।
फैसला सुन्न महरा पनि काठमाडौं जिल्ला अदालत आएका थिए। सफाइ पाएलगत्तै उनी डिल्लीबजार कारागार पुगेका छन्।
डिल्लीबजार कारागारका प्रमुख अरूण पोखरेलले महराले सफाइ पाएको खबर आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाएको बताए।
‘उहाँ (महरा) ले सफाइ पाएको खबर मिडियाबाट सुन्यौं,’ पोखरेलले सेतोपाटीसँग भने, ‘अदालतबाट औपचारिक पत्र आएपछि हामी उहाँलाई थुनामुक्त गर्छौं।’ महरा सोमबार नै छुट्ने कारागारले जनाएको छ।
प्राय: अदालतले सफाइ दिएपछि प्रहरीले नै पत्र कारागारमा लैजान्छ। प्रहरीले पत्र लगेकै दिन कारागारमा बुझाउने गर्छ।
महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासले सफाइ दिएको हो।
महराले सफाइ पाएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरू खादा लिएर डिल्लीबजार कारागार पुगेका छन्।