काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागारबाट छुटेका छन्।
कारागारबाट बाहिरिएपछि उनले कुनै पनि प्रतिक्रिया दिएनन्।
संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको थियो।
फैसला सुन्न महरा पनि काठमाडौं जिल्ला अदालत आएका थिए। सफाइ पाएलगत्तै उनी डिल्लीबजार कारागार पुगेका थिए।
महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासले सफाइ दिएको हो।
महराले सफाइ पाएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरू डिल्लीबजार कारागार पुगेर खादा फूलगुच्छा लिएर स्वागत गरेका थिए। उनीहरूले नारासमेत लगाएका थिए।