अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसिसी र अन्य समसामयिक विषयबारे छलफल हुने नेकपा स्रोतले सेतोपाटीलाई बतायो।
सचिवालय बैठकका एजेन्डा तय गर्न अहिले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भइरहेको छ।
दुई अध्यक्षको भेट सकिएलगत्तै सचिवालय बैठक बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले सेतोपाटीलाई बताए।
गत शुक्रबार वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलले एमसिसीबारे आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा एमसिसी यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव कार्यदलले दिएको छ।
दुई अध्यक्षले अध्ययन गरेर प्रतिवेदनलाई सचिवालय बैठकमा पेश गर्ने जानकारी दिएका थिए।