नेपाली कांग्रेसले सांसद विकास कोष खारेज गरेर कोरोना कोषमा लगानी बढाउन सरकारलाई आग्रह गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेसबुक लाइभमार्फत सांसद विकास कोषमा जाने रकम कटाैती गरी कोरोना कोषमा लैजान आग्रह गरे।
त्यस्तै विदेशमा अलपत्र परेकालाई तत्काल स्वदेश ल्याएर उनीहरुलाई क्वारेन्टाइनमा राख्न र पिसिआरमार्फत कोरोना परीक्षण गर्न उनले आग्रह गरेका छन्।
हिजो तिनै नेपालीले पठाएको रेमिट्यान्सले मुलुक धानिएको बताउँदै उनले अब राज्यले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको बताए।
राज्यले अलपत्र परेकालाई ल्याउने क्वारेन्टाइनमा व्यवस्थित तरिकाले राख्ने, पिसिआरबाट परीक्षण गर्ने, कोरोना देखिएकालाई आइसोलेसनमा राखेर उपचार गर्ने, नदेखिएकालाई सम्बद्ध स्थानीय तहमार्फत घर पठाउन सक्ने उनको भनाइ छ।
नेपाली कांग्रेसले यसअघि सार्वजनिक गरेको रेस्क्यु नेपाली एप/वेब मार्फत विदेशमा अलपत्र परेका नागरिकलाई आफ्नो अवस्थाबारे जानकारी गराउन शर्माले आग्रह गरे।
सो एपमार्फत टिपाएकाको विवरण प्रधानमन्त्रीसमक्ष लगेर स्वदेश ल्याउन पहल गर्ने उनको भनाइ छ। एकैपटक सबैलाई ल्याउन नसकिए पनि अहिलेबाट पहल थाल्नुपर्नेमा उनले जोड दिए।
‘एकदमै अप्ठेरोमा परेकालाई अहिले ल्याउन सुरु गरिएन भने कहिल्यै सकिँदैन’ उनले भने।
एक अर्को प्रसंगमा, सरकारले नक्सा जारी गरेर मात्रै नपुग्ने भएकाले मिचिएको जग्गा फिर्ता ल्याउनुपर्ने र यसका लागि प्रतिपक्षी साथमा रहेको उनले बताए।