अझै पनि रहर उसको
मरेकै छैन
अझैसम्म सेखी उसको
झरेकै छैन।
उसलाई लाग्छ
त्यो भूकम्प थिएन
त्यो केवल उसको
खाट हल्लिएको हो
ठेट्नाहरू लहैलहै र नसामा
भुल्दै रुमल्लिएको हो।
ऊ ढुक्कै छ ऊ नै
मुलुकको तारणहार हो
ऊ एक असामान्य
अलौकिक अवतार हो
उसले नजानेको सायद
दुनियाँमा केही छैन
उसले जानेको पनि
खासमा केही छैन।
कटी निकट पादुका परेर
पाहा झैँ पछारिँदा पनि
कठालो समातिएर कठै
जार झैँ लछारिँदा पनि
उसले भुल्न त कवै
अहँ भुलेको छैन
तर पनि उसको चेत
अझै खुलेको छैन।
अझै पनि रहर उसको
मरेकै छैन
अझैसम्म सेखी उसको
झरेकै छैन।