कतिपटक तपाईंलाई आफ्नोभन्दा अरूको जीवन सुनौलो लागेको छ?
पक्कै पनि कयौंपटक हामीले यस्तो अनुभव गरेका छौं।
यो सार्वभौम मानवीय गुण होला सायद, हामी सबैलाई आफ्नोबाहेक अरू सबैको जीवन आहा लाग्छ, अरूको जीवन आफ्नो भन्दा उच्च स्तरको लाग्छ। अरूको जीवन मोजमस्तीको लाग्छ, अरूका सफलता ठूला लाग्छन्। सामाजिक सञ्जालमा अरूको हाँसिखुसीको तस्बिरहरू देख्दा मनमनै लाग्छ त्यस्तो पो जिन्दगी। अरूको सफलता, खुसी, उपलब्धि र सहजतालाई उच्च मूल्यांकन गर्दा हामीले आफ्नो जीवन, आफ्ना सफलतालाई नजरअन्दाज गरिरहेका हुन्छौँ।
अहिले विज्ञान, प्रविधि र सामाजिक सञ्जालको युग हो, हामीले हाम्रो दैनिक जीवनको केही समय सामाजिक सञ्जालमा बिताउँछौं। सामाजिक सञ्जाल स्क्रोल गर्दैगर्दा हामीले उत्कृष्ट हाइलाइट र रिल्स देख्छौं, विदेश पुगेका आफन्तहरूले पोस्ट गरेका सुन्दर फोटोहरू देख्छौं, कसैका सफलता देख्छौं, कसैका सुन्दर उपलब्धि देख्छौं, कसैले बिताएका सुन्दर पलहरू देख्छौं, कसैको महँगो डिनर देख्छौं अनि आफ्नो जीवनसँग तुलना गर्छौं अनि भन्छौं आहा त्यस्तो पो जिन्दगी!
सामाजिक सञ्जाल वास्तविकता नभई प्रदर्शन हो, मानिसले आफ्नो सफलता, खुसी, पल र यात्राको उत्तम अंश मात्रै पोस्ट गर्छन् तर त्यस पछाडिको संघर्ष, असफलता र सामान्य दिनचर्या लुकेको हुन्छ।
त्यस्तै, सामाजिक तुलना अर्को कारण हुन सक्छ, तुलना गर्नु मानवीय स्वभाव हो।
मानिसले आफ्नो जीवनका हरेक आयामलाई अरूको जीवनसँग तुलना गर्छन्। समाजमा विभिन्न वर्गका मानिसहरू हुन्छन्, आफूभन्दा माथिल्लो वर्गका मानिसहरूसँग तुलना गर्दा प्रेरणाभन्दा ईर्ष्या र हीनताबोध हुन्छ भने आफूभन्दा तल्लो वर्गका मानिसहरूसँग तुलना गर्दा आत्मरति र क्षणिक खुसी हुन्छ तर त्यो दिगो हुँदैन।
तुलना अनन्त प्रक्रिया हो यो कहिल्यै सकिँदैन, मानौं तपाईंसँग साइकल छैन तपाईंले साइकल भएको मानिससँग आफूलाई तुलना गर्नुहुन्छ र साइकल किन्नुहुन्छ, अनि तपाईंको तुलना मोटरसाइकलवालासँग हुन्छ, मोटरसाइकल किनेपछि कारसँग तुलना हुन्छ, त्यसपछि कार किन्नुहुन्छ, कार किनेपछि कारको ब्राण्डसँग तुलना हुन थाल्छ एवम् रितबाट तुलना निरन्तर चलिरहन्छ।
निरन्तर तुलनाले हामीमा अहंकार ल्याउँछ, आफूभन्दा माथिल्लो वर्गसँग ईर्ष्या हुन्छ भने आफूभन्दा तल्लो वर्गसँग घृणा र अहंकार हुन्छ।
हाम्रो यस्तो तुलनात्मक मनोविज्ञानले हामीलाई दुखी बनाउँछ। यसले हाम्रो आत्मसम्मान, आत्मविसश्वासमा कमी ल्याउँछ। हामीमा हीनताबोधको भावना सृजना गर्छ। हामीलाई आफ्नो जीवन सार्थक नभएको जस्तो अनुभूति हुन्छ। जसले हामीमा अनावश्यक चिन्ता थपिदिन्छ र हाम्रो उत्पादकत्वमा ह्रास ल्याउँछ। हामीलाई सामाजिकीकरण हुन पनि असहज महसुस हुन्छ। आफ्ना खुसी निरस बन्छन्। यसले हामीमा निरन्तर दबाब सिर्जना गर्दछ र आफ्नै जीवनप्रति निराशा बढ्न थाल्छ र आफ्नै जीवन निरश लाग्न थाल्छ।
यदि जीवनमा वास्तविक खुसी चाहने हो भने हामीले निम्न कुरामा ध्यान दिन जरूरी छ।
सर्वप्रथम त हामी आफ्नो जीवनप्रति कृतज्ञ हुनसक्नु पर्दछ, अरूको जीवनशैली हेर्नुभन्दा आफूमा भएका सकारात्मक पक्षलाई नियाल्न सक्नुपर्दछ।
आफ्नो तुलना अरूसँग गर्नुभन्दा आफ्नो तुलना हिजोको आफैसँग गर्नुपर्दछ। हिजो म कहाँ थिएँ र आज म कहाँ छु मैले के उपलब्धि हासिल गरेको छु भन्ने कुराको तुलना गर्नुपर्दछ र आफ्नो प्रगति र आफूले गरेका उपलब्धिहरूप्रति धन्य हुन सिक्नुपर्छ।
त्यस्तै, सामाजिक सञ्जालको प्रयोगलाई पनि न्यूनीकरण गर्न आवश्यक हुन्छ, सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पनि मानिसलाई तुलनाको सिकार बनाउँछ। सामाजिक सञ्जाल वास्तविकताभन्दा धेरै टाढाको संसार हो। हामी सामाजिक सञ्जालको दुनियाँमा भन्दा वास्तविकतामा रमाउन सिक्नुपर्दछ।
अरूसँग तुलना गर्नै परे उनीहरूको संघर्षको तुलना गर्ने, त्यस्तो पो जिन्दगी भन्नुभन्दा पहिले त्यो सफलता पाउनलाई उसले के-के गर्यो भनेर प्रश्न गर्ने र तुलनालाई संघर्ष, प्रशंसा र मेहनतमा बदल्ने प्रयास गर्न सकियो भने हाम्रै जीवन पनि वाह! बन्न सक्छ।
सबैको आ-आफ्नो समय हुन्छ, कसैको समय छिटो आउन सक्छ त कसैको समय ढिलो। हामी अरूको सफलता र उपलब्धिमा ईर्ष्या गर्नुभन्दा त्यसमा खुसी हुन सिक्यौं भने एक दिन ती सफलता र उपलब्धि हामीले पनि हासिल गर्न सक्छौं।
हामी मानव भएर जन्मनु सबैभन्दा ठूलो सफलता हो भने मानव जीवनको अनुभव गर्नु सबैभन्दा ठूलो उपलब्धि हो त्यसैले अरूसँग तुलना गरेर दुःखी हुनुभन्दा जीवनको अनुभव बढाउनु बुद्धिमतापूर्ण हुन्छ।
भनिन्छ- सबैको आ-आफ्नो संसार हुन्छ, तपाईंको पनि आफ्नै संसार छ र त्यो संसारको राजा तपाईं हो, अरूसँग तुलना गरेर आफ्नो संसार अँध्यारो बनाउनुभन्दा आफ्नो संसारमा रमाउन सकियो भने जीवन सार्थक बन्छ।