नुवाकोटका उमेश अचानक खोज्दै आउनु भयो मलाई। चिनेको थिइनँ, त्यसैले अल्मलिएँ। उहाँ र मेरो पहिलो प्रत्यक्ष भेट थियो त्यो। खासमा उहाँ मेरा लेखहरू अनलाइनमा पढ्नुहुँदो रहेछ। हाउभाउबाट मनमा अनेकन पीडा छन् भन्ने बुझ्न सकिन्थ्यो। मिडियामा केही न केही लेखिरहने हुनाले भरोसा लागेर आउनु भयो होला सायद। यद्यपि म पत्रकार थिइनँ। केही गफगाफपछि उहाँ जान खोज्नुभयो।
'भन्नु न, भन्नु के कामले आउनु भयो?' सोधेँ मैले।
अनकनाउनुभयो उहाँ। अनुहारमा पश्चातापका भावहरू छल्किन्थे। फेरि आग्रह गरेँ।
'त्यसो भए सुन्नुहोस्, कहानी सुनाउँछु। तपाईंलाई लेख्न काम लाग्छ।'
म सुन्न लागेँ। प्रतिप्रश्न गरिनँ, किनकि उहाँसँग मेरो घनिष्ठता थिएन। त्यसैले ‘अँ… अँ…’ मात्र गरिरहेँ। सुनाउँदा सुनाउँदै कहिलेकाहीँ गला अवरूद्ध हुन्थ्यो, आँखाबाट आँसु झर्थे।
***
झन्डै २१ वर्षअघि, २०६१ ताका म राजनीति गर्थें। राजनीति नै मुख्य पेसा थियो मेरो। धेरथोर सेयर बजारको कारोबार गर्थें, अप्रत्यक्ष आम्दानीको स्रोत थियो त्यो। उमेरले ३० नाघिसक्दा घरव्यवहार नभएको भनेर बा–आमा चिन्ता व्यक्त गर्नुहुन्थ्यो। त्यसैले दसैँमा ढिला घर जान्थेँ, गुनासो सुन्नु नपरोस् भनेर।
दसैँमा घर गएर फर्केको केही महिनापछि अचानक एक जना आफन्तले 'बिहे गर्ने हो?' कुरा ल्याउनुभयो।
'मेरो त जागिर छैन। मेरो बारेमा केटीलाई थाहा छ त?' सोधेँ मैले।
'केटी स्थायी जागिरे हो। उसलाई बुझ्ने केटा भए पुग्छ रे!' भन्नुभयो उहाँले।
'हेरौँ, कुरा गरौँला,' भनेँ।
तत्कालै कुनै निर्णय दिइनँ मैले।
त्यो बेला सर्वसाधारणको हातमा मोबाइल पुग्दै थियो। १७०० रुपैयाँ खर्च गरेर सिमकार्ड र त्यस बेला चलेको नोकिया सेट मोबाइल लिएँ मैले। केटीको नाम र नम्बर दिनुभयो। कुरा गर्न अलि अप्ठ्यारो लाग्यो मलाई।
तर अचानक एकदिन उतैबाटै फोन आयो। नाम 'निकिता' बताई उसले। सुरूमा अल्मलिएँ। कुरा गरेपछि याद आयो। आज–आज, भोलि–भोलि गर्दै कुराहरू बाक्लिए। धेरैजसो अफिसकै फोनबाट उसले फोन गर्थी मलाई। घण्टौँ कुरा हुन्थ्यो।
मोबाइलमा कुरा हुन थालेको केही सातापछि प्रत्यक्ष भेट्ने प्रस्ताव राखी उसले।
'हुन्छ,' भनेँ मैले। भेटौँ।
स्थायी खरदार सरहको जागिर रहेछ उसको। उमेर मेरै सरह! भेटेकै दिन विवाहको प्रस्ताव राखी उसले। डराएँ म। कस्ती केटी? प्रश्न आए मनमा।
'डराउनु पर्दैन, म पाल्छु। तपाईंको जागिर छैन भन्ने मलाई थाहा छ। केवल म मायाको भोको छु, इमानदार केटा भए पुग्छ,' भनी उसले।
हतारो…? बुझ्न सकिनँ मैले। तर 'नाइँ' पनि भन्न सकिनँ। दुई महिना जति फोनफान र भेटघाटपछि सरस्वती पूजाको दिन, अर्थात् वसन्त पञ्चमीका दिन सुटुक्क विवाह गर्ने प्रस्ताव राखी उसले।
उसकै प्रस्तावअनुसार दक्षिणकाली मन्दिरमा सीमित आफ्नाहरूको उपस्थितिमा विवाह भयो। उसका आमा, दाइ र दाजुको छोरो आएका थिए भने मेरो पनि परिवार मात्र थिए। खासै गरगहना किनमेल भएन। धेरैले बिहे भएको थाहा पाएनन्।
दिन र महिनाहरू बित्दै गए। गर्भवती भई ऊ। विवाहको झन्डै पाँच महिनापछि मेरो मोबाइलमा ल्यान्डलाइनबाट एउटा अपरिचित फोन आयो।
'तपाईं निकिताको श्रीमान् हो?'
'हो,' भनेँ मैले।
'बधाई छ तपाईंलाई!'
सोधेँ मैले, 'चिनिनँ नि?'
'चिन्न जरूरी छैन, फेरि पनि बधाई,' भन्यो र फोन काट्यो।
कल ब्याक गर्दा कम्युनिकेसन सेन्टरबाट रहेछ। फोन गर्ने मान्छे थाहा भएन रे! यो कुरा उसलाई बताउन आवश्यक ठानिनँ। बताइनँ पनि। को होला त्यो? खुल्दुली मात्र रह्यो मनमा।
विवाहको वर्षदिनभित्रै छोरी जन्मिई। प्रसूति बिदा सकिएपछि अफिस जान थाली ऊ। घरमा छोरी हेर्थें म। विवाहअघि नै उसले जग्गा छ भनेकी थिई। त्यही जग्गामा घर बनाउन जोड गरी उसले। ऋण खोजेँ, आफूसँग भएको सेयर बेचेँ। घर बन्यो। घर उसकै नाममा थियो।
ऋण लागेपछि विदेश जान दबाब दिई मलाई। मानिनँ। छोरी हुर्काउने जिम्मा मेरै थियो। छोरी एक वर्षकी भई। अफिसबाट फर्केपछि दिनहुँ फलानो विदेश गयो भन्दै सुनाउँथी। सुने–नसुने गरिदिन्थेँ म। रूचि नभएको विषय थियो त्यो।
एकाएक एक दिन 'एउटा एनजीओको कार्यक्रम छ, म अमेरिका जान्छु' भन्दै ढिपी कसि उसले।
'अनि जागिर नि?' सोधेँ मैले।
'केही महिनाको बिदा लिन्छु, अरू पछि सोचौँला,' सजिलो उत्तर दिई।
घर बनाउँदाको ऋण छँदै थियो, अमेरिका जाँदाको ऋण थपियो। अमेरिका उडी ऊ। सानी छोरी र घरको सम्पूर्ण जिम्मेवारी र दायित्व काँधमा आयो मेरो।
कार्यक्रम सकिएपछि नेपाल फर्किइन ऊ। लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित भएको भन्दै गोरखापत्रमा सूचना आयो। अन्ततः स्थायी जागिर चट भयो।
अमेरिकामै लुकी ऊ। झन्डै एक वर्षसम्म लगातार पैसा पठाई। ऋण केही घट्यो। सुरू–सुरूमा हरेक दिन लामा–लामा कुरा हुन्थे जिन्दगीका। 'मामु आउनु' भन्दै छोरी रुन्थी।
बिस्तारै समय बदलियो। उसले कम कुरा गर्न थाली। यताबाट फोन गर्दा रिसाउँथी। 'व्यस्त छु, पछि गर्छु' भन्दै फोन छोट्याउन थाली। फोनमै झगडा हुन थाल्यो। छोरीलाई अमेरिका लैजान्छु भन्दै घुर्क्याउन थाली मलाई।
अमेरिका गएको १८ महिनापछि सुटुक्क नेपाल आई ऊ। आउने कुरा थाहा थिएन। जबर्जस्ती छोरी लिएर गई। श्रीमान् जस्तो व्यवहार नै गरिन मलाई। सम्भवतः त्यही बेला उसले अदालतमा गएर डिभोर्स गरी या के गरी, यकिन छैन मलाई। डिभोर्स भएको कुरा पछि मात्र थाहा पाएँ।
बुझ्दै जाँदा थाहा भयो—एक जना डिभोर्सी ग्रिनकार्ड होल्डरसँग लिभिङ टुगेदरमा रहिछ ऊ। फेसबुकमा ब्लक गरी मलाई। सम्पर्कका बाटाहरू टुटे मेरा।
अदालत र कानुन पनि अचम्मको! कानुनले लिङ्ग हेरेर होइन, न्याय–अन्याय हेर्नुपर्थ्यो। बिडम्बना, त्यो हेरेन। मानसिक तनावलगायतका झुटा आरोप लगाएर डिभोर्स लिईछ। विश्वासघात मात्र होइन, कानुनको दुरुपयोग गरी उसले मलाई पीडक बनाइछ। वास्तवमा म पीडित थिएँ।
अन्ततः घर न घाटको भएँ म। अझ भनौँ भने, सुकुम्बासी भएँ। उसले घर अर्कैलाई बेचेकी वा नामसारी गरेको हो, भेउ पाइनँ। मान्छेहरू आएर धम्काउन थाले। घर छोड्नुपर्ने भयो। छोडेँ मैले। पापिनीलाई अलिकति पनि पाप–धर्मको ख्याल रहेनछ।
हे भगवान्! म नितान्त एक्लो भएँ। सुटुक्क विवाह गर्नुको रहस्य, अपरिचित व्यक्तिको फोन, र उसलाई नजिकबाट चिनेका साथीहरूले 'हतारमा बिहे गरिस्' भनेका कुराहरूले भतभती पोल्यो मलाई। घर, छोरी र श्रीमती सबै एकैचोटि गुमे। ऋणको बोझ भने मेरैमा रह्यो।
***
कहानी धेरै छ। छोटकरीमा मात्र सुनाएँ तपाईंलाई। मन हल्का भयो।
उमेशजीको कुरा सुनेर अवाक भएँ म। यस्तो पनि हुन्छ? साँच्चिकै निकिताले त्यो हदसम्म अन्याय गरेकी थिई वा थिइन ! छुट्याउने न्यायाधीश होइन म। तर पनि मन चसक्क भयो।
झन्डै एक घण्टाको जीवन कहानी सुनाएर उमेशजी बिदा हुनुभयो। गहिरो पीडा अनुहारमा देखेँ मैले। भारी मनले बिदा गरेँ उहाँलाई। समाज र समय साँच्चिकै परिवर्तन भएछ! महिला हिंसा सुन्न अभ्यस्त कानले आज एउटा पुरूषको पीडा सुन्यो। समाज र कानुनले पुरूषका आँसु र पीडालाई बुझ्न नसकेको लाग्यो। यो एउटा प्रतिनिधि घटना मात्र होस्, ताकि अरू पुरूषले यस्तो नियति भोग्न नपरोस्। पुरूषका पनि आँसु र पीडा हुन्छन्। समाजको यो अँध्यारो पाटो उजागर हुनु जरूरी छ।