नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको बताएका छन्।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता सिटौलाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै १५ औ नियमित महाधिवेशनको मिति सार्वजनिक गरेको बताएका हुन्।
उनले पार्टीको नियमित १५ औं महाधिवेशन गर्ने गरी आफ्नो कार्यतालिका पारित गरेको बारेमा सबैले ध्यान दिनुपर्ने बताए।
'पार्टी केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य छँदै छैन भनिसकेको छ। पार्टीको नियमित १५ औं महाधिवेशन गर्ने गरी आफ्नो कार्यतालिका पारित गरेको छ। आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने निर्णय गरिसकेको छ। निर्वाचनमा पार्टीका तमाम साथीहरुलाई परिचालित, संगठित हुन आह्वान गरिएको छ। त्यसैले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त छैन भन्ने मलाई लाग्छ,' उनले भने।
उनले पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्ने आवश्यकता रहेको बताए।
'यतिबेला पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्छ। पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ। हामी अब निर्वाचनतर्फ लाग्नुपर्छ,’ उनले भने।–न्युज एजेन्सी नेपाल