जिन्दगी सुरू भएदेखि अन्त्यसम्म अनेकौं सम्बन्धहरू बन्छन्। हाम्रा लगभग एक तिहाइ सम्बन्धहरू जन्मदेखि नै बनेका हुन्छन् जसलाई हामी चुन्दैनौं, जस्तै आमा, बा, दिदीबहिनी, दाजुभाइ, आफन्ती आदि आदि।
अनि जीवनसाथी पनि भगवानले चुनेर पठाउनु भएको हुन्छ भन्ने गरिन्छ। बाँकी रह्यो एउटा सम्बन्ध जो बिल्कुल हामी बनाउँछौं त्यो हो मित्रता।
यो निकै सरल,प्यारो, पवित्र अनि बलियो सम्बन्ध हो। कहिले, कहाँ, कसरी अनि कस्तो साथी बनाउने भन्ने विषय नितान्त हाम्रो हातमा हुन्छ।
मेरो लागि मित्रता एकदमै महत्त्वपूर्ण सम्बन्ध हो यो कुरा मेरा परिवार र आफन्तलाई पनि थाहा छ।
मलाई यस्तो लाग्छ मित्रता भनेको अभेद्य नाता हो जहाँ वर्ग, वर्ण, जात अनि लैंगिकताको कुनै भेद हुँदैन। जहाँ कुनै उँचोनिचो, धनीगरिब, टपर लुजर या राम्रो नराम्रो भन्ने हुँदैन यदि छ भने त्यो पक्का मित्रता होइन।
उसो त साथी बनाउन म खप्पिस छु अझ भनौं कसैलाई 'कम्पनी' दिन राम्रो लाग्छ मलाई । म सोच्छु मेरा वरिपरिका कोही पनि आफूलाई एक्लो महसुस नगरून्। मेरो कुरा हरेक उमेरका मान्छेसँग मिल्छ तर केही यस्ता साथीहरू छन् जो मेरा हरेक कुरा बुझ्छन् ,भन्दा पनि नभन्दा पनि। जोसँग कुनै समय घुम्ने, खाने रमाइलो गर्ने गरियो अहिले घर व्यवहार, ऋण धन, सफलता असफलता साटिन्छ। विद्यालय जीवनमा भन्दा कलेजमा अझै बुझ्झकी मित्रहरू फेला पर्छन्। मैले पनि फेला पारे सोनाली, विशाल,सुशील। अँ साँच्चि यी तीनै जना घरबारे भइसके अब मलाई पनि उक्साउँदै छन्। आज म भर्खर भएको विशालको बिहेको अनुभव भन्दै छु।
साथी विशाल आफ्नो नाम जस्तै विशाल हृदयको छ। मूल घर सप्तरी भए पनि उसको बालापनदेखिको जीवन चितवनमै बित्यो त्यसैले त उसलाई सितिमिति कसैले मधेसी मूलको हो भनेर पत्याउँदैनन्। मैले पनि पत्याएको थिइनँ मैथिली नबोल्दासम्म। विशालले यसपटक हामीलाई मैथिली संस्कार र रिवाजसँग चिरपरिचित गरायो। उसो त यो पहिलो बिहे थिएन मेरो लागि पनि यो भन्दा पहिले कल्पना दिदी ( विशालको दिदी) को बिहे ( रातिको बिहे) हेरिसकेको थिएँ तर यसपालि भने बाराती भएर जाने पालो थियो।
मलाई अक्सर विशालको पिर लाग्थ्यो मेरो यस्तो सोझो अनि सफा मन भएको साथीलाई मन मिल्ने केटी भेटिएला कि के होला भनेर।
केही समय अघि उसले निशुसँगै बिहे गर्ने पक्का गरेको थियो। उनीहरूको मन मिलेको देखेर म ढुक्क अनि खुसी थिए उसको लागि। ल डल्ली मंसिरको १९ गतेलाई बिहे फिक्स भयो छुट्टी मिलाउँदै गर है भनेर उसले फोन गर्यो, म खुसी पनि भएँ अनि दुःखी पनि।
कारण १९ गते नै मेरो अर्की साथी समिताको बिहे थियो। समिता, मेरो स्कुलको साथी जोसँग कलेज पढ्दा एउटै डेरामा बसेको थिएँ। यद्यपि उसलाई पनि थाहा थियो विशालसँगको मित्रताको बारेमा। मलाई फसाद पर्यो कसको बिहेमा जानु भनेर। अन्तत: मिथिलाको बिहे हेर्न पाइने अनि नयाँ ठाउँ (विराटनगर) हेर्न पाइने लोभले मैले विशालको बिहेमा जाने निर्णय गरेँ र सोही कुरा समितालाई खबर गरे। उसले असहज सहमति जनाई।
पहिलो दिन मेहेन्दी थियो म ड्युटी सकेर लागे चितवनतिर। विशालले बीच बीचमा फोन गरेर खबर लिँदै थियो कहाँ आइपुगिस्? कति समय लाग्छ भनेर। म गाडीबाट झरेर सोझै त्यतै लागे साथमा सन्ध्या ( सुशीलको श्रीमती ) पनि थिई। हामी दुवैले केटाको मेहेन्दी देखेका थिएनौं। विशालको घर पुग्यौं घर बेहुलीझैं सिँगारिएको थियो झिलिमिली बत्ती र फूलहरूले, बेहुला भने तयार हुँदै थियो।
म पहिले फेसबुकतिर तराईको बेहुलाले हातभरि छपक्कै मेहेन्दी लगाएको अनि रातो पालिस लगाएको देखेर के रहर लागेको होला भन्थे। तर आफ्नै साथीले त्यस्तै गरेको देख्दा थाहा पाएँ यो पनि एउटा रिवाज रहेछ।
मलाई साथीले उसैगरी हातखुट्टामा मेहेन्दी र पालिस लगाएको राम्रो लाग्यो।
भोलिपल्ट १८ गते हल्दी थियो उसैगरी तयार भएर गएँ। म हरेक दिन उत्सुक हुन्थेँ आजको रिवाज के रहेछ भनेर बुझ्न। उसो त पहाड तिरको बिहेमा कारोबार नै सम्हाल्ने म मिथिलाको संस्कारमा भने हरेक पटक नयाँपन पाउँथेँ। के गर्न हुने के नहुने केही भेउ थिएन मलाई। साँझ पर्दै थियो फोटोग्राफरले विशाललाई गेटमा एउटा फोटो लिन आग्रह गर्यो अनि म उसको काँधमा राखेको गम्छा (टावेल) हटाउन गएँ अनि उसले भन्यो 'यो हटाउन मिल्दैन अब बिहेको दिनसम्म राख्नु पर्छ।'
हरेक विधिमा जस्ताको तस्तै हुनुपर्छ भन्ने कुरा राम्रो लाग्यो मलाई। हल्दी भयो महिलाजनले मैथिली गीत गाउनु भएको मैले सबै त बुझिनँ तर यति बुझें ती सबै गीतहरू आशीर्वाद र शुभकामनाले ओतप्रोत थिए।
अब जन्ती जाने दिन आयो। हामी ब्यान्ड बाजामा खुब नाच्यौँ। यो पनि मेरो पहिलो अनुभव नै थियो। खुब रमाइलो लागिरहेको थियो मलाई। घरको विधि सकाएर बाराति अब विराटनगरतिर हिँड्यो। चितवनबाट करिब ४०० किलोमिटर।
योभन्दा अगाडि इटहरी जाँदा रात्रीबसमा गएकोले मैले केही देखेको थिइनँ, यसपालि दिउँसोमा सबै ठाउँहरू हेर्दै गएँ। हामीले बर्दिबास पुगेर खाना खायौँ करिब ९ बजे झण्डै ११ घण्टापछि हामी विराटनगर पुग्यौं अनि होटलमा तयार भएर हामी ब्यान्डबाजा बारात सहित बेहुलीको घर पुग्यौँ।
जति जति अघि बढ्दै थिएँ म त्यहाँको रौनक, झिलिमिली र माहोलसँग मिसिँदै थिए। अरूबेला ९ बजेपछि हाई काढ्दै झुल्ने म आज रातको १२/१ बजे ब्यान्डबाजामा ठुम्का लगाउँदै कम्मर मर्काउँदै थिएँ।
हाम्रा स्वागतमा १ किमी अगाडिदेखि नै लगाइएको झिलिमिली बत्ती, गेट अनि त्यहाँको सजावटले म निकै आकर्षित भए यस्तो लाग्दै थियो कुनै हिन्दी फिल्म हेरिरहेको छु।
हामीलाई स्वागत गरेर स्टेजतर्फ लगियो जहाँ अर्को कुनामा खानाको स्टल लागेको थियो। बेहुला र बेहुलीको आगमनपछि बरमाला सुरू भयो। मिठा प्रेमिल गीत, शेरबानी र लेहेंगामा सजिएका बेहुला बेहुली अनि पटाका र बत्तीको रौनक साँच्चै कुनै फिल्मको रोमान्टिक सिन जस्तो। यो बीचमा म बिशाललाई नियाल्दै थिएँ, उसको मुहारमा साफ देखिन्थ्यो आफ्नो विवाहको खुशी (निशु संग मन जो मिलेको थियो) अलि अलि डराएको पनि थियो सायद सबै मान्छेको नजर उनीहरूमा भएर या भनौं त्याे दिनको सेलिब्रेटी भएर पनि होला। रातको २ बजे बिहे भोज खाइयो। रातभरिको बिहे बिहान सकियो र बिदाई भयो। रात भरीको अनिँदो, थकान अनि बिहान नहुँदै छोरीलाई बिदा गर्नु पर्दा भारी भएको मन कति गाह्रो छ है छोरीका बाआमालाई!
सबैजना बेहुलीलाई अंगालो हालेर रूँदै थिए।
बिहानको झुल्के घामसँगै आफ्नी छोरी बिदाई गर्दा उहाँहरूलाई दिउँसै अँध्यारो भएको हुँदो हो यही सम्झेर मेरा आँखा पनि रसाए। फेरि अर्कातिर मेरो साथीले लगनगाँठो कसेकोमा खुसी पनि उत्तिकै थियो। हाम्रोतिर साँझमा बिदाई हुन्छ घरै अँध्यारो मनै अँध्यारो यता बिहानै बिदाई हुने दिनै शून्य मनै शून्य। हिमाल, पहाड, तराई जहाँ भए पनि भावना त उस्तै हो नि देखाउने भाव फरक छ केवल।
आज बिहेको चौथो दिन हामी बेहुली लिएर फर्कँदै थियौं। फेरि उही लामो यात्रा तर रमाइलो थियो।
गाडीमा पटक पटक निदाउने, ब्युझिने भइरहन्थ्यो। कहिले सुशील र म कलेजका दिनहरू सम्झिँदै गफिन सुरू गर्थ्यौं त कहिले सन्ध्या र सोनियासँग हिन्दी, नेपाली गीतमा सिटमै नाच्न सुरू हुन्थ्यो। बीचमा मलाई बुटुरानी (विशालको भान्जी) ले मैथिली बोल्न सिकाई मैले अलि अलि सिकेँ पनि।
सधैं ठूलाले सानालाई सिकाउने होइन रहेछ सानाले पनि ठूलालाई मज्जाले सिकाउने रहेछन् बस सिक्ने इच्छा र फुर्सद हुनुपर्यो। म पनि टुटेफुटेको मैथिली बोल्न सक्ने भइहालेँ। फर्कँदा हामी विशालको गाउँ सप्तरीको कञ्चनरूप पनि पुग्यौं। त्यहाँ मैले तराईको रहनसहन नजिकबाट नियाल्न पाएँ। अनि अस्ट्रेलियामा रहेकी सोनालीलाई भिडिओ कल गरेर एक एक खबर दिएँ। मिठो चिया सँगै मीठा यादहरू संगालेर हामी चितवनतर्फ लाग्यौं।
राति ११ बजे हामी घर पुग्यौं, त्यहाँ एउटा रशम (रिवाज) बाँकी छ हेरेर जाऊ भन्नुभो कल्पना दिदीले।
सबै जना जम्मा हुनु अघि म र सुशील सरासर विशाललाई भेट्न गयौं र फेरि एक पटक बधाई दियौँ।
मैले फ्याट्ट भनिहालेँ 'हाम्रोतिर त चार दिनमा बिहे भएर, पार्टी भएर, दुरान गएर पनि बिहे दर्ता भइसक्थ्यो तेरो त अझै पार्टी बाँकी छ कति लामो बिहे हो यार' विशाल हाँस्यो। हामी सबै हाँस्यौं।
बेहुला बेहुली घर आएपछि उनीहरूलाई पाट (सनपाट) को आसनमा बसालेर सबै जनाले उनीहरूको शिरमा धान राख्दै दहीको टीका लगाएर आशीर्वाद दिनु हुने रहेछ। अनि बीचमा कोही एक जनाले आशीर्वाद दिन लागेको बेला झुक्काएर मुखमा दही दलिदिने गर्नुहुने रहेछ रमाइलो भयो।
हामीले पनि उसैगरी धान दियौँ। जब विशालको ममीको पालो आयो, उहाँले चोयाको टोकरीले बुहारीको थाप्लोमा अलक्क दबाउनुभयो पछाडिबाट कोही भन्दै थियो 'जोर से करु ना' मैले किन यसो गरेको भनेर जिज्ञासा राखिहाले उहाँले भन्नुभयो 'बुहारीले घरको र परिवारको भार कति बलियो भएर थाम्न सक्छिन् जाँच गरेको'।
मैले बुझेँ बेहुलीले आफ्नो मुन्टो र आँट दरो बनाएर बस्नुपर्ने रहेछ।
भिनाजुको पालो आयो उहाँले त विशाललाई पो टोकारीले थिचिदिनु भयो। ऊ त थ्याच्च पर्यो, बिचरा तयार नै रैनछ।
मैले बुझेँ अनुसार भिनाजुको आशय सायद श्रीमतीसँगै श्रीमान पनि भार थेग्न योग्य र तयार हुनुपर्छ भन्ने थियो।
यसरी विशालको बिहे सम्पन्न भयो हामी पनि खाना खाइवरी आफ्नो आफ्नो बाटो लाग्यौं।
भोलिपल्ट आइतबार भएकाले म बिहानै अफिस फर्किएँ। सोमबार फेरि पार्टीको लागि सुशील र म तनहुँदेखि चितवन गयौं।
कलेजका साथीहरू पनि भेटिए अझै रमाइलो भयो।
जन्तीमा भएको रमाइलो किस्साहरू सुनायौं। विशालको बिहे साँच्चिकै भव्य भयो अनि मेरा लागि नयाँ र रमाइलो अनुभव पनि। फर्किने बेला मैले उसलाई भनें- तेरो बिहेमा यति पैँचो लगाएँ, मेरो बिहेमा पनि ३ दिनअघिदेखि नै आएस है।
ऊ मुसुक्क हाँस्यो र टाउको हल्लाएर सहमति जनायो।
आजकल म विशाललाई फोन गर्ने बित्तिकै भन्छु 'विशाल कथी करै छि?'
उताबाट उसले हाँस्दै भन्छ : 'हा बैठल छि'।
मेरो यो अनुभवको कथा सम्झना र सम्मानको संगालो सहित मेरो प्रिय साथी विशाल र उसकी जीवनसंगिनी निशुलाई उपहार स्वरूपमा टक्र्याउन चाहन्छु।
र अन्त्यमा यो १२ वर्षे मित्रताले सायद अब नयाँ अध्याय सुरू गर्ला फेरि कुनै दिन कथा लेखौंला है!