बाटोमा भएको ठूलो खाल्डोमा परेर दुई चक्के सवारी साधनहरू हप्ता दिनदेखि लडेका लड्यै छन्।
बाटोमा लड्ने एउटा चालकले अर्को चालकलाई दोष दिइरहेका छन्।
अर्का चालक पनि किन चुप बस्थे र? उनले सडक विभागलाई सरापी रहेका छन्।
सडक विभागले नगरपालिका र नगरपालिकाले वडा कार्यालयलाई आरोप ठेल्दै छन्।
दोष बाँड्ने क्रममा वडा कार्यालयले आज मात्रै सबै दोष सडकमा खटिएका मजदुरमाथि थोपार्दिएको छ।
पत्रकारलाई जबाफ दिँदै मजदुर भन्छन्, ‘दोष हाम्रो हैन, मौसमको हो। पानी परेपछि काम गर्नै गाह्रो !!’
मौसमले बोल्न नसक्ने हुँदा दोषत्वको सिलसिला पानीमा पुगेर टुंगिएको छ।
हिजो दासत्वले जनतालाई दास बनाएको थियो। दु:खै-दु:ख खन्याएको थियो। आज दोषत्वले जम्मैलाई महाजन बनाएको छ। देशै गन्हाएको छ।
गल्ती स्वीकार्न नसक्ने महाजनहरूको भीडमा इमानदारी र जिम्मेवारी पनि खाल्डामा परेर बारम्बार लड्ने गरेको छ।
कर्तव्यले खाल्डाभित्रै आफूलाई बहानाबाजीको तीन पत्र ओढेर पुर्नु पर्ने बाध्यता अरू केहीले ल्याएको हैन। दोषत्वले ल्याएको हो। दोषत्व अर्थात् ‘म’ लाई मलजल गर्न निर्माण गरिएको यस्तो अवधारणा जहाँ समस्याले समाधान हैन, कसुरदार खोज्छ। कसुरदारले सुधार हैन, स्याहार खोज्छ। गल्ती स्याहार्दा स्याहार्दै दोषीहरूको भीड खडा हुन्छ। दोष रोप्न सकिने ठाउँमै लापरबाही र गल्ती उम्रन्छन्। त्यसैले त दोषीको जमातमा असलले उभिने ठाउँ पाउँदैन। दोष नै दोषले भरिएका दोषीहरूले समाजलाई यसै गरी दूषित बनाइदिन्छन्।
यदि नमागी कसैले केही दिन सक्छ र नखोजी कसैले केही पाउन सक्छ भने त्यो दोष नै हो। यतिसम्म घृणित र वर्जित हुँदाहुँदै पनि सबैभन्दा धेरै बाँडिने यो उपहार सर्वव्यापी, सर्वकालीन र सर्वसुलभ बनेको छ।
दोषत्व उपहार मात्र हैन, ओखती पनि हो। अक्षम या अयोग्य हुनु कमजोरी हो भने त्यसलाई निवारण गर्ने ओखती दोष नै हो। पूर्ण रूपले निवारण होला या नहोला तर क्षणिक राहत भने पक्कै दिन्छ। दोषत्व एक अनन्तकालीन लेनदेन पनि हो।
एउटा यस्तो आदानप्रदान हो जहाँ लिनेले भन्दा दिनेलाई प्राप्ति महसुस हुन्छ। त्यसैले दोषत्वको परिभाषा निकै अनौठो छ, जुन कुनै शब्दकोषले दिन सकेको छैन।
मान्छेका हत्केलाका औंलाहरू सधैं आफूभन्दा विपरीत दिशातिर फर्किएका हुन्छन्। आफूतिर औंला ठड्याउन मान्छेले आफ्नो हत्केला मोड्नु पर्छ। हत्केला मोडेर औंला ठड्याउँदा पक्कै असहज महसुस हुन्छ। त्यसैले त हाम्रो औंला सधैँ अरूपट्टि नै तेर्सिन्छ। गाली गर्दा वा आरोप लाउँदा मान्छेले चोरी औंला देखाउँदै अर्कालाई दोष लगाउँछन्। जसरी आफूतिर औंला फर्काउन अप्ठ्यारो हुन्छ, त्योभन्दा बढी अप्ठ्यारो आफूलाई दोषी ठहर गर्न हुन्छ। मान्छे हुर्किएकै पनि त त्यसरी नै छ। आफै उभिन सिकिरहेको बच्चा कुर्सीबाट लड्यो भने सबैले कुर्सीलाई पिटेझैँ गर्छन्। बच्चालाई यही बुझाउँछन् कि ऊ लड्नु भनेको कुर्सीको गल्ती हो। बच्चा त्यही बुझेर हुर्किन्छ कि ऊ जीवनको कुनै समयमा लड्यो भने उसलाई लडाइएको हो। ऊ चुनौतीहरूमाथि उभिन सकेन भने उसले औंला ठड्याउनै पर्छ।
दोष दिनु भनेको अर्काको आँखामा आफ्नो छवि नबिगार्ने एक अद्भुत उपाय त हो नै तर त्योभन्दा बढी आफ्नै आँखामा आफ्नो छवि नबिगार्ने प्रयत्न पनि हो। त्यसैले दोषत्व पारस्परिक मात्र हुँदैन, आन्तरिक पनि हुन्छ। अरूलाई ठगेर भन्दा पनि हामी आफैलाई ठगेर दोषको बोझबाट मुक्त गराउँछौं।
अदालत पनि आफै, वकालत पनि आफै, दोष दिने पनि आफै र निर्णय सुनाउने पनि आफै। यही विषयमा घर छेउका निकट दाजुको कथा याद आउँछ।
लोक सेवाको लिखित परीक्षामा नाम निस्किएपछि मौखिक परीक्षा दिन घरबाट निस्किएका उनको बाटैमा जुत्ता फाट्यो। घर फर्किएर अर्को जुत्ता फेर्ने समय थिएन। परीक्षा कोठा नपुगुन्जेल उनले एउटै कुरा सोचिरहे। प्रश्न सोध्ने मान्छेले मेरो यो जुत्ता देखे भने के हुन्छ? सबै प्रश्नको राम्रैसँग उत्तर दिएर दाइ घर फर्किए। केही दिनपछि नतिजा निस्किँदा उनी छनोट हुन सकेनन् भनेर थाहा भयो। यो घटना घटेको वर्षौं बितिसक्दा पनि उनलाई आजसम्म आफू असफल हुनुको कारण आफ्नो जुत्ता फाटेर हो जस्तो लाग्छ। यसरी फाटेको जुत्ताको प्वालतिर उनी आफ्नो गुनासो खादिदिन्छन र त्यही फाटेको जुत्ता टेकेर सधैँ आफूलाई सपक्क मिलेको ठहर गर्छन्।
चुरोट छोड्छु भनेर वाचा गरेको साथीलाई एकदम तनाव भएकाले उसले चुरोट फेरि तान्छ। पढाइ सुधार्छु भनेको भाइले परीक्षाका बेला ज्वरो आएर फेरि परीक्षा बिगार्छ। कसैले त घर छेउमा पुराणको हल्ला भएर परीक्षामा पढ्न पाउँदैनन्। गायकले मिठो गाउन नसक्दा पनि त उसको घाँटी बसेको हुन्छ। पुग्नुपर्ने ठाउँ समयमा नपुग्दा सधैंको ट्राफिक जाम अरूबेला भन्दा लामो लाग्छ। आफूमाथि कुनै किसिमको प्रश्न आइलाग्नु अघि नै आत्मरक्षा गर्न हामीसँग हरेक परिस्थितिका लागि विभिन्न अस्त्रहरू तयार हुन्छन्।
प्रमुख अस्त्र हो- असफलताको कारण सधैं मौन वा निर्जीव कारकलाई बनाउनू।
मौसम, स्वास्थ्य, सडक, इन्टरनेट, बाइक, मोबाइल, देश, सरकार वा फाटेको जुत्ताले कहिल्यै पनि कुनै किसिमको प्रतिरोध जनाउँदैनन्। माक्स नलगाएर रूघाखोकी लाग्ने जो कोहीले प्रदूषणलाई खोकीको कारण बताउँदा पक्कै सहज महसुस हुन्छ। आफैलाई मैमत्त बनाएर आफ्नो टाउकोबाट जम्मै दोषलाई दस कोस पर पुर्याउने प्रवृत्तिले सबैलाई यस्तो ठालु बनाएको छ जसको तालुमा जति हिर्काए पनि होस् आउने छाँटकाँट देखिन्न।
बारम्बार दोषको भारी उठाएर कुप्री परिसकेका फुटबल खेलको रेफ्री, गायन प्रतियोगिताको निर्णायक, औषधि लेख्ने डाक्टर र अंक दिने मास्टर दुनियाँकै स्थापित खलनायक बनिसकेका छन्। दोष दिँदै खलनायक बनाउने प्रवृत्ति हालै मात्र सुरू भएको हैन। यो युगौंदेखि चलिआएको छ।
रामायणका अनुसार, लङ्काबाट फर्किएकी माता सीताले पनि आफ्नो पवित्रतामाथि आरोप खेप्नु परेको थियो। महाभारतमै पनि शासनमा बसेका पुरूष जाति गद्दीको लागि रणभूमिमा उत्रिए तर कुरूक्षेत्रको युद्ध हुनुको दोष द्रौपदीले पाइन्। दोष बाँड्न सहज भएरै नेपालमा पनि छोरा मर्दा बुहारीलाई बोक्सीको आरोप लगाइयो। महिलाहरूलाई अन्याय र अत्याचार सहन बाध्य बनाइयो। आजसम्म पनि देशलाई उन्नतितर्फ डोर्याउन नसकेको पदवालाहरू बेइमान भएर वा नागरिक अल्छी भएर हैन, देश नै सतिले सरापेको भएर मानिन्छ।
दोषत्वले विश्वव्यापी असर पुर्याएका थुप्रै उदाहरणहरू छन्।
इतिहासमा आर्थिक संकटको दोष यहुदीहरूमाथि लगाएरै जर्मनमा व्यापक हत्या र हिंसा भयो। एउटा समूहले अर्को समूहलाई दोषारोपण गर्ने क्रम नरोकिएरै अफ्रिका र युरोपमा पटक पटक गृहयुद्धहरू चले। हाम्रै देशमा पनि विभिन्न जातको नाममा दोषै दोषको लाम लगाइयो।
‘जो होचो उसकै मुखमा घोचो’ को साक्षी बन्ने अनेक मौका हामीलाई दोषत्वले प्रदान गरेको छ। त्यसैले अर्को मान्छेमाथि टेकेरै भए पनि अग्लो देखिने हाम्रो प्रयास जारी छ।
दोषत्वको अविराम यात्राले मान्छे-मान्छेबीचको अन्तर बढाउँदै लिएर गएको हो। फलस्वरूप, वर्गीकृत समाजमा वर्गहरूबीचको दूरी लम्बिन थाल्यो।
आवाज सुनिने उच्चतम वर्गले आफू तलका जम्मैलाई मान्छे भन्दा अघि दोषी बनाए।
वर्ग यसरी छुट्याइयो कि सक्ने जति हुकुम ठोक्ने मुली बने र नसक्ने जति दोष बोक्ने कुल्ली बने। त्यसपछि मान्छेले आफ्नै सहजता अनुसार नियमहरू निर्माण गरे। सतही रूपमा सोच्दा दोष लगाउनु सामान्य मानवीय स्वभाव देखिए पनि यो कुरूप मानसिकताको प्रतिफल हो जहाँ मान्छेले मान्छेमाथि नै पकड जमाउन खोज्छ।
उत्तरदायित्व र जबाफदेहिताबाट लुसुक्क उम्कन मिल्ने यो चमत्कारी ढोकाको चाबी आज हरेक घर, कार्यालय र निकायसम्म पुगेको छ। घरमा धारा बिग्रिँदा होस् वा सडकमा बत्ती कसैले कसैको जिम्मेवारीमाथि प्रश्न गर्यो भने जबाफ स्वरूप दोषीहरूको नामावली मात्र पाइन्छ।
आत्ममोहमै लोभिएर विवेक गुमाइसकेको समाजले झूटलाई सत्य बनाउन सक्छ। निर्दोषलाई अपराधी बनाउन सक्छ। कसुरदारलाई बफादार देखाउन सक्छ। दोषत्वको तीव्र संक्रमणले दासत्व पुन: फर्किएको छ। दोषत्वले हामीलाई हिजोभन्दा खास हैन, फेरि पनि दास नै बनाएको छ।
आफ्नै मनोवृत्तिले हामी आज अहमता र अहंकारको दास बनेका छौ। आत्मपूजा गर्ने पुजारीहरूले आफैलाई भगवान् बनाएपछि समाजमा मान्छे बनेर बस्न झन् झन् अप्ठ्यारो बन्दै गएको छ।