भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार कृषि कानुनको विरोधमा उत्रिरहेका विपक्षी दलविरूद्ध खनिएका छन्।
कुनै दल विशेष नाम नलिइ मोदी विपक्षीहरू विरूद्ध खनिएका हुन्।
'आज जब केन्द्र सरकारले किसानहरूलाई उनीहरूको अधिकार दिदैं छ, तब यी मानिसहरू विरोधमा उत्रिएका छन्', उनले भने।
विपक्षीको कदमप्रति असन्तुष्टि व्यक्त गर्दै मोदीले किसानले पूजा गर्ने सामान र उपकरणमा आगो लगाउँदै उनीहरूले किसानको अपमान गरिरहेको बताए।
देशको केन्द्रीय राजधानी नयाँ दिल्लीमा कृषि कानुनको विरोधमा सोमबार ट्याक्टरमाथि आगो लगाएर विरोध जनाइएको थियो। यो विरोध प्रदर्शन गर्नेहरू युथ कांग्रेस भएको बताइएको छ।
मोदीले किसानहरूले आफ्ना उत्पादन खुल्ला बजारमा नबेचुन् भन्ने विपक्षीको चाहना भएको आरोप लगाए।
यसैगरी मोदीले केही मानिसहरूले विरोधका लागि मात्र विरोध गरिरहेको बताए।
'देशका किसान, श्रमिक र देशको स्वास्थ्यसँग जोडिएका ठूला सुधारहरू भएका छन्। यी सुधारबाट देशका श्रमिक सशक्त हुनेछन्, नौजवान सशक्त हुनेछन् र आज देशले केही मानिसहरूले विरोधका लागि मात्र विरोध गरिरहेको देखिरहेको छ', भारतीय राज्य उत्तराखण्डमा नमामी गंगे परियोजना अन्तरगतको ५२१ करोड भारतीय रूपेयाँ लागतको परियोजना उद्घाटन गर्दै मोदीले भने।
'डिजिटल भारत अभियान, जनधन बैंक खाताले कसरी मानिसहरूलाई धेरै सहयोग गरेको छ। जब हाम्रो सरकारले यो काम सुरू गरेको थियो तब यी मानिसहरूले यसको पनि विरोध गरेका थिए। देशका गरिबको खाता खुलोस्, उनीहरू पनि डिजिटल लेनदेन गरून् भन्ने हाम्रो कुराको उनीहरूले सँधै विरोध नै गरे', उनले थपे।
त्यसैगरी मोदीले विपक्षीले राम मन्दिरको भूमिपूजाकोसमेत विरोध गरेको बताउँदै विपक्षी 'न किसानसँग न जवानसँग' भएको आरोप लगाए।