नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन्।
आज बिहान उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको हो। श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्डको पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन श्रेष्ठ खुमलटार पुगेका थिए।
यस्तै प्रचण्ड र श्रेष्ठबीच समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि सामेल छ। देउवा नेतृत्वको सरकार दलहरूको गठबन्धनबाट बनेको हो।
यो गठबन्धनलाई दीगो बनाउनेबारे पनि उनीहरूबीच छलफल भएको थियो। यस्तै गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषदलाई छिटो पूर्णता दिनेबारे पनि कुराकानी भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।
कांग्रेस नेता श्रेष्ठ संगठन विभाग प्रमुख पनि हुन्।
यसअघि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। लामो समयदेखि सीता बिरामी छन्।