नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग कुराकानी गरेका छन्।
थापा निवासको निवासमा आज बिहान उनीहरूबीच कुराकानी भएको हो। समसामयिक राजनीतिक विषयबारे उनीहरूबीच छलफल भएको नेता थापाको सचिवालयले जानकारी दिएको छ।
उक्त छलफलमा नेता थापाले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गर्ने राप्रपाको धारणा रहेको बताएका थिए। उक्त भनाइमा विप्लवले स्वागत गरेको दाबी थापाको सचिवालयको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारसँग विप्लवले गरेका ३ बुँदे सहमति प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्ने पनि थापाले बताएका थिए।
परिवर्तनकारी र परम्परागत शक्तिका बीच सामञ्जस्यता कायम गर्दै राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको पक्षमा छलफल गर्दै जाने थापा र विप्लवबीच कुराकानी भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।
उक्त भेटवार्तामा राप्रपा अध्यक्ष थापासहित नेताहरू दीपक बोहरा बुद्धिमान तामाङ र विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र नेता धर्मेन्द्र बाँस्तोला सहभागी थिए।