नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन टुटाउन ठूलो कसरत भइरहेको बताएका छन्।
नेकपा एमालेकै एक पक्षलाई लक्षित गर्दै दाहालले नपत्याउँदो किसिमले गठबन्धनलाई टुटाउन सकिन्छ कि भनेर कसरत भइरहेको बताएका हुन्।
स्व. नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै दाहालले शनिबार एमालेभित्रै ‘आममाफी’ घोषणालाई पनि त्यो कसरतभित्र देख्न सकिने बताए।
‘एमालेभित्र फर्माम घोषणा भएको छ, कहाँ प्वाल छ भनेर प्रतिक्रियावादीहरूले टर्च बालेर हेरिरहेका छन्,’ दाहालले भने, ‘एमसिसी, आइटिएसले पो झगडा पारिदेला कि भनेर अनेक किसिमका कसरत भइरहेका छन्।’
उनले घाइते, युद्ध तथा अपांगसँग सम्बन्धित ‘टिआरसी’का कामबाट पनि छिर्ने प्रयास भइरहेको बताएका छन्। तर ती सबै षडयन्त्रको सामना चाहिँ कम्युनिष्ट आन्दोलनको एकताबाट मात्र सकिने बताए।
‘हामीले गठबन्धन बनायौं, गठबन्धनमै दत्तचित्त र योगदान भएका साथीहरूलाई ढलाउन खोजियो। केही साथी नपत्याउँदो किसिमले ढलिदिनु पनि भयो,’ दाहालले भने, ‘त्यो त्यतिकै ढलेको भन्न मिल्दैन। गम्भीर ढंगले त्यहाँ काम भएका छन्।’
जसरी पनि बहुमत पुर्याउनुपर्छ भनेर सकेको ताकत लगाउँदा देउवा सरकार पनि झन्डै दुई तिहाइको नजिक पुगेको दाहालको भनाइ छ।
‘इतिहासमा खलनायक देखिँदा रहेछन्। उनीहरू अहिले समीक्षामा छन्। यो लडाइँ जारी छ, टुंगिएको छैन,’ दाहालले भने।