जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले ठूला दलका नेताहरू संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले ठूला दलका नेताहरूको संसदमा राजाजस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्ता समेत व्यक्त गरे।
अध्यक्ष राउतले सांसदहरूलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भीर ध्यानाकर्षण गराए।
उनले संविधानको भावना अनुसार संसदको नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
अध्यक्ष राउतले भने, ‘संसदमा सांसदहरूलाई बोल्नका लागि समय दिने विषयमा पुनर्विचार गर्नु पर्दछ भन्ने हामीलाई लाग्दछ। त्यसै संसद सञ्चालन नियमावलीमा मन्त्रीहरूको उपस्थिति हुनुपर्ने देखिन्छ। तर साना-साना पार्टीहरूलाई मात्रै लाग्ने हो कि सबै पार्टीहरूलाई लाग्ने हो? ठूला पार्टीहरूलाई राजा जस्तै आउने, राजाजस्तै जाने नै हो भने चाहिँ यो संसदको गरिमा त्यति साह्रो रहन्छ जस्तो चाहिँ हामीलाई लागेको छैन। यहाँलाई लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास होला। २०७५ सालको भदौमा हाम्रो पार्टीका संगठनका एक जना कार्यकर्तालाई कुनै मन्त्रीलाई प्रश्न सोध्न आयो भने आरोपमा प्रहरीले गिरफ्तार गरेर अनि हिरासतमा उहाँको मृत्यु हुँदाखेरी यो प्रकरणलाई यो संसदमा उठाउँदाखेरी तत्कालीन गृहमन्त्रीज्यूले उहाँको नाम यहाँ उच्चारण गर्न पाइँदैन भनेर त्यतिखेर भनिएको थियो। त्यो अलोकतान्त्रिक अभ्यास चाहिँ यस पटक हुनेछैन भन्ने कुरा यहाँ ध्यानाकर्षण गराउन चाहन्छु।’
अध्यक्ष राउतले संसदमा अलोकतान्त्रिक गतिविधि हुन नदिन सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना सफल हुने विश्वास समेत व्यक्त गरे।