राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ क्षेत्र नम्बर १मा उम्मेदवार बन्न लागेका स्वर्णिम वाग्लेले आफू फेरि नेपाली कांग्रेसमा नफर्किने बताएका छन्।
शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले आफू कांग्रेसमा नफर्किने बारे प्रष्ट्याएका हुन्।
उनले आफूले रास्वपामा सदस्य रहेको र पछाडि फर्किने पनि बानी नभएको बताएका हुन्।
‘म रास्वपाको साधारण सदस्यको रूपमा यहाँ उपस्थित छु। पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ,’ उनले भने।
यस्तै पार्टी छाडेको दिन केही महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतलाई पठाएको निजि सन्देशबारे पनि उनले प्रष्ट्याएका छन्।
उनले लोकतान्त्रिक पार्टीहरूबीच पछि कुनै समय गठबन्धन, सहकार्य गर्न सकिने तर कांग्रेसमा फर्किन्छु भन्ने उल्लेख नगरेको पनि बताए।
‘सार्थक अथवा निर्णायक तपाईंहरू जस्ता सुधारक भनेर चिनिएका पात्रहरूले नेपाली कांग्रेस पार्टीमा आउनुभयो भने त्यतिबेला रास्वपा पनि लोकतान्त्रिक पार्टी हो, विश्वसनीय वैकल्पिक लोतान्त्रिक पार्टी हो,’ उनले भने, ‘उहाँहरू पनि पूरानो लोकतान्त्रिक पार्टी हो। सहकार्य गर्न सकिने, हामी गठबन्धनको संस्कारमा छौं। मिलेर जान सकिन्छ भन्ने हिसाबले भनेको हुँ। जसरी कम्युनिष्ट पार्टीहरूले पनि गठबन्धन गरे। तर म फेरि नेपाली कांग्रेस फर्किने कुरा उल्लेख गरेको हैन।’
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९, १७:४१:००