प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरूमा आँखा नपरेको बताएकी छन्।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले सरकारको निति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताएकी हुन्।
उनले मन्दिरहरूलाई तत्कालै पुनर्निर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न माग गरिन्।
त्यसैगरी, रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न गराउने विषय अगाडि बढाउन पनि उनले माग गरिन्।
उनले भनिन्, ‘कला, संस्कृति, सम्पदाको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा परेनछ। आँखा परोस् पनि कसरी ०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम सकियो भनेर पुनर्निनिर्माण प्राधिकरण समेत विघटन भइसक्यो। तर बुङमतीको रातो मच्छिन्द्रनाथ र खोकनाको रूद्रायणी मन्दिर भने पुनर्निर्माण कुर्दाकुर्दै जीर्ण भइसके। सरकारकै हाम्रो सम्पदा राम्रो
सम्पदा पर्यटन गन्तव्य विस्तार तथा पहिचान कार्यक्रम अन्तर्गत मन्दिरहरूलाई तत्कालै पुनर्निनिर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरियोस् र रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न गराउने राष्ट्र गौरवको विषयलाई अगाडि बढाइयोस्।’