राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले स्वतन्त्र नागरिक आयोग गठन गरेर सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।
भ्रष्टाचारविरूद्धको प्रतिबद्धता कागजले मात्र नहुने उनको भनाइ छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद लिङ्देनले भने, ‘यो संसदमा दोहोरी चलिसक्यो। प्रधानमन्त्री पनि २०४६ पछिका उच्च पदस्थ नेता/कर्मचारीको सम्पत्ति छानबिन गर्ने भनेर भन्नुहुन्छ। प्रमुख प्रतिपक्षी दलका नेताले त भनिसक्नुभएको छ। पहिलोचोटि यसप्रकारको सहमति भएका बेला नीति तथा कार्यक्रममा एउटा आयोग स्वतन्त्र नागरिक आयोग गठन गरेर जहिलेको मिति तोके पनि छानबिन गरौं। मैले त भनेको छु, पञ्चहरूको, राजाको, क-कसकोबाट सुरू, कहाँबाट सुरू गर्ने हो। तर अब सबैको सम्पत्ति छानबिन गरिनेछ र उनका नातागोता र परिवारको सम्पत्ति छानबिन गरिनेछ र कारबाही गरिनेछ भनेर पो लेख्नुस् न!’
उनले छानबिन गरी अवैधानिक सम्पत्ति जफत गरिनुपर्ने बताए। उनले मन्त्रिपरिषदका निर्णय अख्तियारले हेर्न नपाउने भन्ने र अख्तियारमा आफ्नै कारिन्दा भर्ति गर्ने गरिएको आरोप पनि लगाए।