जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरूको संगालोको संज्ञा दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले समस्याहरूको पहिचान गरी समाधानका उपायसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताए।
उनले विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढ्ने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताए।
सांसद यादवले ठूला दलहरू अब पनि नसच्चिए समाप्त भएर जाने चेतावनी समेत दिए।
उनले भने, ‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ–यो अन्तरविरोधहरूको, कन्फ्युजनहरूको संगालो हो। हामी स्पष्ट हुनुपर्छ अब। आजको यथार्थ यो हो। समस्या यो हो। यसको उपचार यसरी हुन सक्छ। पोलिसीमा डिपार्चर नगर्ने, भइरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउँछु भनेर गफ दिएर हुन्छ। त्यसैले आज विश्व अर्थ राजनीतिमा देखा परेको बदलाव नेपाली समाजमा देखा परेको आवश्यकता र बदलाव र हिजोसम्म हाम्रा जुन प्रकारका दर्शन, मान्यता र हाम्रो जीवन शैली छ। यो तीन वटाको बीचमा तारतम्य भएन भने हामी कहीँ पुग्दैनौं। हामी ठूल्ठूला कुरा गर्छौं। तर अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको रिर्सोस नभई हामी अगाडि बढ्न सक्दैनौं। ग्लोबल अर्थ व्यवस्थामा देखिएको बदलावअनुसार अघि बढ्ने चतुर्याई सरकारमा भएन भने हामी कहीँ पुग्दैनौं। ठूला दलहरू नसच्चिए सकिन्छन्।’
सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा कांग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाए।