नेकपा (एमाले)का सांसद रघुजी पन्तले युवा पुस्ता विदेश पलायन हुन थालेको र सरकारले त्यसलाई रोक्न नसकेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले त्यसलाई रोक्ने भन्दा एनओसी पत्र सहजका नाममा विदेश जानै प्रोत्साहित गरेको आरोप पनि लगाए।
‘कार्यक्रम दिन सकिँदै, रोजगार दिन सकिँदैन, जान्छन् भने जाऊन भन्ने हो भने बेग्लै कुरा। नीति कार्यक्रममै राख्नु भएको छ, एनओसी लिन सहज बनाउने। बनाउनुस् ठीक छ। तर तपाईंको लक्ष्य यही नै हो?,’ उनले प्रश्न सोधे।
देशका युवाको सांसद, प्रधानमन्त्री–मन्त्रीसँग प्रश्न रहेको पनि उनले बताए। ‘हामी देखिरहेका छौं, उपप्रधानमन्त्री, मन्त्री भएका मानिस जेलमा छन्, नक्कली भुटानी शरणार्थी प्रकरणमा। तिनीहरूले आदर्श कसलाई बनाउने, कुन आदर्श र सम्भावना हेरेर उनीहरू यो देशमा बस्ने?,’ उनले भने।
नीति कार्यक्रमले उनीहरूलाई आशा जगाउनुपर्ने पनि बताए।
उनले स्नातक उत्तीर्ण नगरेकालाई वैदेशिक अध्ययनमा जानबाट रोक्नुपर्ने पनि धारणा राखे।