जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले माओवादी केन्द्रले ल्याएको नीति तथा कार्यक्रम संघीताविरोधी देखिएको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममाथि उनले त्यस्तो टिप्पणी गरेका हुन्।
सत्ता समर्थक दलको नेतासमेत रहेका उनले भने, ‘संघीयताको उच्चारण पनि यहाँ तीनपटक गरिएको छ। एकचोटी प्रस्तावनामा गरिएको छ। एकचोटी उपसंहारमा गरिएको छ। एकचोटीमात्रै बडीमा गरिएको छ। बडीमा केमात्रै लेखिएको छ भने बुँदा नम्बर १९ मा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने छ। त्योबाहेक यहाँ कुनै ठोस कार्यक्रम छैन।’
यसप्रति सरकारमा रहेका र नीति निर्माता गम्भीर हुनुपर्ने उनले बताए। ‘संघीयताका विभिन्न मुद्दाहरू, प्रदेश प्रहरी, कर्मचारी समायोजनको विषयलाई ठोसरूपमा सम्बोधन गर्ने पहल हुनुपर्छ,’ उनले भने।
बुँदा नम्बर ११ मा मधेस प्रदेशलाई विशेष प्राथमिकता दिएकोमा उनले धन्यवाद पनि दिए।
प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।