बृहत् नागरिक आन्दोलनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र अभियोजन कमजोर पार्न भइरहेको अवाञ्छित राजनीतिक हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएको छ।
'सत्तारूढ दल र प्रतिपक्षले अनुसन्धान प्रक्रिया र मुद्दा दर्तामा पार्न खोजिरहेको राजनीतिक प्रभावले कानूनी शासन र लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ। मुलुक र जनताप्रति पूर्ण रूपले विश्वासघात गरिएको जघन्य अपराधमा कसैले उन्मुक्ति नपाउने अवस्था सुनिश्चित गर्न नागरिक तहबाट थप चनाखो हुनुपर्ने क्षण आएको छ', बृहत् नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस अपराधमा संलग्न उच्च पदस्थहरू प्रत्यक्ष वा परोक्ष राजनीतिक दबाब र शक्तिको प्रभावमा उन्मुक्ति पाएमा कानुनी राज्यको उपहास हुने भन्दै आन्दोलनले भनेको छ- यसले लोकतान्त्रिक व्यवस्थालाई समेत धरापमा पार्छ।
'विद्यमान अपराधले नेपालको राष्ट्रियतालाई कमजोर पारेको छ भने नेपालको स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा पनि आँच पुर्याएको छ', जारी विज्ञप्तिमा भनिएको छ।
बृहत् नागरिक आन्दोलनले निष्पक्ष अनुसन्धान र अभियोजन सम्पन्न गरेर न्यायको प्रत्याभूति दिलाउन माग समेत गरेको छ।
'कानुनी प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य जुनसुकै तहबाट हुनु आफैंमा कसुर हो। त्यस्तो कार्यको समेत छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेह बनाउन नागरिक आन्दोलन माग गर्दछ', आन्दोलनले भनेको छ।