प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका छन्। मंगलबार राष्ट्रिय सभामा सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
‘अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ मचाहिँ। यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन, नेपालको इतिहासमा मौलिक भेटिएको छ। ९९. २५ प्रतिशतले समर्थन गरेको, प्रतिनिधि सभाको शत प्रतिशतले समर्थन गरेर बनेको प्रधानमन्त्री भेटिदैन,’ उनले भने।
उनले नीति कार्यक्रम साझा र सामुहिक रूपले निर्माण गरेकाले विरोधको नैतिक धरातल नरहेको बताए।
‘हामीले साझा नीति कार्यक्रम सामुहिक रूपले निर्माण गर्यौं र त्यसैको जगमा यो सरकारको नीति कार्यक्रम बनेको हुनाले एक्स्ट्रिममा गएर यसको विरोध पनि सैद्धान्तिक नैतिक धरातल मचाहिँ देख्दिनँ,’ उनले भने।
उनले अति नै समर्थन गर्नु पनि नपर्ने बताए। ‘यो बढो सोचविचार गरिएको, सबैको बुद्धि विवेक प्रयोग भएको कार्यक्रम हो,’ उनले भने।