प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उनले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदूतले नै देशको अप्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताए।
उनले समय, परिस्थिति अनुसार छिमेकी देशहरूको भ्रमण गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले भूगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताए।
उनले भने, ‘उत्तर-दक्षिण भ्रमणको कुरा ल्याउनुभयो, यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन। प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्नेकुरा त्यस्तो केही बाध्यता छैन। समय, परिस्थिति अनुसार गरिने कुरा हो। त्यसको सबैभन्दा ठूलो प्रमाण म आफैं हो। म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिएँ। तर हाम्रो भूगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सीमाना, हाम्रा सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता थाहा छ, अहिले उत्तरले बोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो। तर त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन। बरू चिनियाँ राजदूतले नै यहाँको दबाबलाई देखेपछि सरकारको अप्ठ्यारोलाई देखेर नै धन्यवाद दिएको हुँ चिनियाँ राजदूतलाई।’
प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्ने पनि बताए।