नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
उनले कुहिएर जाने काठहरूलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए।
उनले नेपालमा कुहिएर जाने काठहरूको कानूनअनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए।
उनले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरूलाई सहजीकरण गर्ने कुरामा आफ्नो ध्यान रहने बताए।
उनले भने, ‘जडिबुटी जुन हाम्रो स्वदेशी उत्पादन छ, त्यसलाई निर्यात गर्न सहज भूमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ। दोस्रो २० औं वर्षदेखि जुन काठहरू कुहिएर त्यसलाई व्यवस्थित गरेर नेपाल सरकारको नियम कानून अनुसार त्यसलाई हामीले एक्सपोर्ट गर्नसक्यौं भने वा स्वदेशमा नै खपत गर्नसक्यौं भने सहजीकरण गरेर कुन नदिएर बचाउने हो। तेस्रो हाइड्रोपावरको जुन इस्युहरू आइरहेको छ, वर्षौंदेखिका फाइलहरू वन मन्त्रालयबाट फरवार्ड हुन सकिरहेको छैन।
उनले अघि थपे, ‘त्यसलाई हामीले सहजीकरण गरेर हाइड्रोपावरलाई प्रोत्साहन गर्ने। आर्थिक संकट विद्यमान छन्, त्यसलाई जस्तो यो जडिबुटीहरू थुप्रो संख्यामा उत्पादन गर्नसक्छौं, त्यसलाई प्रोत्साहन गरी विदेशी पैसा भित्र्याउने। वातावरणमा असर पर्ने उद्योगहरू छन्, त्यसलाई सशर्त रूपमा निगरानी गरी वातावरणमा असर नपर्ने गरी प्रयोगमा ल्याउने हो। म मन्त्रालयमा रहुन्जेल, भ्रष्टाचारमा शून्य सहनशीलता कुनै किसिमको लोभ प्रलोभनमा परेर काम गर्दिनँ। देश र जनताको हितमा काम गर्नेछु।’
मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरूलाई निगरानी गरी कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए।
उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने प्रतिबद्धता व्यक्त गरे।