नक्कली शरणार्थी प्रकरणबारे प्रतिनिधि सभाको बैठकमा छेडखानी भइरहेका छन्।
प्रतिनिधिसभाको बैठक सरू हुनेबित्तिकै विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने तर्क गरे।
त्यतिमात्र होइन, उनले तीन दल खुसुरखुसर बसेकोमा रास्वपाले आशंका गर्दै आएको कुरा पनि उठाए।
त्यसलाई नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले जवाफ फर्काए। नागरिकतामा कैफियत देखिएपछि सभापति लामिछाने बच्न बालुवाटारमा म्याउँम्याउँ गर्न पुगेको टिप्पणी गरे।
‘आज भर्खरै मात्र पनि मैले सुनें, भुटानी शरणार्थी प्रकरणबारे, जुन अहिले छानबिन भइरहेको छ, तीन पार्टीले बालुवाटारमा बसेर मिलाउनेगरी छलफल गर्दैछ। कुनकुन तीन पार्टी हुन्? उहाँले बोल्नु त भएन। यस्तायस्ता साथीहरू छन्, म भन्न चाहन्छु- तीन पार्टी होइन, रातिको समयमा तपाईंहरू पनि आफू बच्नका लागि कसरी बालुवाटारमा म्याउँम्याउँ गर्नु भएको थियो?,’ उनले भने।
तीन पार्टीलाई देखाएर आफू स्थापित हुनेगरी नयाँ शक्तिहरू लागि परेको उनले आरोप लगाए। ‘परिवर्तनका लागि लडेका पार्टीहरूका विरूद्धमा भित्र र बाहिर भाषण गर्नेगरी जुन प्रकारको शक्तिहरू आइरहेको छ, त्यस्ता शक्तिबाट हामी सावधान पनि हुनुपर्छ,’ उनले भने।