प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले प्रहरी महानिरीक्षक बसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानबिनमा सहयोग गर्न आग्रह गरे।
सचिव भट्टराईले सो प्रकरणको छानबिनलाई निष्पक्ष, पारदर्शी स्वतन्त्र ढंगले अघि बढाउन नेपाल सरकारलाई पनि ध्यानाकर्षण गराए।
उनले भने, ‘हाम्रो पार्टीले नक्कली भुटाणी शरणार्थी केसमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न नेपाल सरकारलाई भनिसकेको छ। प्रधानमन्त्रीजीलाई भनेको छौं, गृहमन्त्रीजीलाई भनेका छौं। पुलिस प्रशासनलाई भनेका छौं। र, हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले प्रस्ताव पास गरेर के भनेको छ भने हाम्रै पार्टीका पनि जोसुकै नेता परून्। त्यसमा हामी छानबिनका लागि सहयोग गर्न तयार छौं भनेर भनेका छौं। हाम्रो पार्टीसँग जोडिएका हुन्, हाम्रो पार्टीका नेताहरूसँग जोडिएका हुन्। जोसुकै भए पनि यदि प्रहरीलाई उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकाल्यो भने उनीहरूले गएर प्रहरीलाई छानबिनका लागि सहयोग गर्नुपर्छ। तपाईंलाई यति भन्छु–यदि मेरो नाम कसैले लिएका छन्। र, त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाईं प्रहरीले बोलाउनु पर्दैन। म आफैं प्रहरीकोमा बयान दिन जान्छु। म त्यो मान्छे हो। र, हाम्रो पार्टी त्यो हो। त्यसमा हामी पछाडि हट्दैनौं। अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि। म नै भए पनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ। तपाईंको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु। किनभने म नागरिक हो।’
उनले सो प्रकरणमा छानबिन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर भए पनि प्रहरी महानिरीक्षक कुँवरले स्पष्ट पार्नुपर्ने बताए।
‘अब अहिले त नेपाल प्रहरीको आइजिपीकै नाम आएको छ। आइजिपी साबले पनि आएर बयान दिनु पर्छ। म त भन्छु–बसन्त कुँवरजीलाई। यदि तपाईंको संलग्नता छैन भने तपाईंमाथि उठेका प्रश्न क्लियर गर्नुस्। त्यहाँ बयान दिन जान पर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर तपाईंले प्रष्ट पार्नुस्,’ उनले भने।
सचिव भट्टराईले सो प्रकरणको छानबिनमा नेपाल प्रहरीमाथि हस्तक्षेप गर्न नहुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।